News 24 Television
भ्रष्टाचार छानविनमा नेकपा तयार, के गर्ला सरकार ? प्रधानमन्त्री वालेन्द्रमाथि नै प्रश्न !

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सम्पत्ति छानविनका लागि तयार रहेको भन्दै सरकारले निष्पक्षता कायम गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले सम्पत्ति छानविनका लागि उच्चस्तरिय आयोग गठन गर्ने भन्दै सय दिने कार्यसूचीमा यो प्रस्ताव नै राखेपनि आयोग गठन हुन सकेको छैन् । यस्तोमा नेकपाले औपचारिक रुपमै भ्रष्टाचार छानविनका लागि खुला रहेको र सत्तारुढ दलभित्रकै केहि सांसदहरु कालोसूचीमा परेको विषय समेत छानविनमा आउनुपर्ने बताएका छन् । 

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले सरकारले २०४६ सालपछि नेपालको उच्च पदस्थ तह बसेका व्यक्तिहरुको सम्पत्ति छानविन गरेमा सघाउन आफूहरु तयार रहेको बताएका छन् । सम्पत्ति शुद्धिकरणसम्बन्धिका कारबाहीमा नेकपाले साथ दिने नेताहरुले दाबी गरेका छन् । छानविन गर्ने र सम्पत्ति शुद्धिकरणमा सरकारले प्रभावकारी काम गर्ने स्थितिमा साथ दिने बताएका नेताहरुले सम्पती शुद्धिकरण (मनी लाउण्ड्रिङ) सम्बन्धि मामिलामा सरकार कडा रुपमा प्रश्तुत हुनुपर्नेमा जोड उदएका छन् । 

त्यसको लागि राज्यले निष्पक्ष र उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने नेताहरुको भनाई छ । नेकपाका नेता वर्षमान पुनले कालोधनलाई वैध बनाउने गतिविधि आपराधिक भएको भन्दै कालोधनलाई सेतो बनाउने कार्यलाई रोक्नु सरकारको नियमित दायित्व दाबी गरे । यस्तै उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु समेत कालोसूचीमा रहेको उल्लेख गर्दै त्यसको पनि छानविन गर्न माग गरे । 

नेकपाका नेता अग्निप्रसाद सापकोटाले सम्पति छानविनको लागि आफू र आफ्नो पार्टी सधै तयार रहेको बताए । तर त्यसको विधि, प्रक्रिया र कानूनी आधार स्पष्ट हुनुपर्ने उनको भनाई छ । 

उसोतः नेकपाका नेताहरुले सम्पत्ति छानविन हुनुपर्ने माग विगतदेखि नै राख्दै आएको जिकिर गरिरहेका छन् । यसमा नेता राजेन्द्र पाण्डेले २०४७ सालपछि सांसद, मन्त्री भएका सबैको सम्पती छानविन गर्नुपर्नेमा जोड दिए । छानविन निष्पक्ष निकायमार्फत हुनुपर्ने उनको भनाई छ । आफू छानविनबाट दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको पाण्डेको भनाई छ ।

नेता प्रकाश ज्वालाले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति अपनाउनुपर्ने भन्दै उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानविन पूर्वाग्रहविहीन हुनुपर्नेमा जोड दिए । जतिसुकै शक्तिशाली भएपनि अवैध सम्पती आर्जन गर्नेहरूलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र भ्रष्टाचारविरुद्ध पटकपटक आवाज उठाउँदै आएको नेता ज्वालाको दाबी छ । यता अर्का नेता जगन्नाथ खतिवडा पनि यसमा सहमत छन् ।

अन्य नेताहरुजस्तै नेकपाका संयोजक प्रचण्ड पनि सम्पत्ति छानविनका लागि आफु तयार रहेको दाबी गरिरहेका छन् । पछिल्लो समय प्रचण्डसहित केहि शीर्ष नेताहरुको सम्पत्ति छानविन चलिरहेको छ भने प्रहरीले पनि यसमा काम गरिरहेको दाबी गरेको छ । यस्तोमा प्रचण्डले पनि आफू तयार रहेको सन्देश दिएका हुन्  । 

सम्पत्ति छानविन पछिल्लो समय गर्माएको विषय बन्न पुगेको छ। नेपालको राजनीतिमा यो विषय राजनीतिक एजेण्डा बनेपनि सरकारहरुले निष्पक्षतापूर्वक काम गर्ने गरेको इतिहास भने देखिन्न । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार निर्माण गरेपनि सरकारले आफ्नै बाँचाअनुसारको सम्पत्ति छानविन उच्स्तरिय आयोग गठन गरिसकेको छैन् । 

केहि व्यवसायी र नेताहरुलाई पक्राउ गरेपछि हौसिएको सरकार पछिल्लो समय मौनप्रायः देखिन्छ । यस्तोमा जनताले भ्रष्टाचार छानविनको विषयलाई मिहिन ढंगले हेरिरहेको बेला सरकारले कसरी काम गर्छ भन्ने विषय चासोमा छ । रत, नेकपाका नेताहरुले दाबी गरेजस्तै सरकारले निष्पक्ष र स्वतन्त्र छानविनका लागि विश्वसनिय आयोग गठन गर्ला ? चासो सर्वसाधारणमा बढेको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update