काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह “बालेन”ले भारत बाटै विदेश भ्रमण सुरु गर्ने संकेत देखिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारत हुने संकेत देखाएका छन् । मोरिससमा रहेका परराष्ट्रमन्त्री खनालले त्यसको चाँजोपाँजो जुहाड गरेको देखिन्छ । भारतीय विदेशमन्त्री भेट्नेदेखि संचार माध्यममा देखिएको उनको सक्रियताले त्यो पष्टि पनि हुन्छ ।
प्रधानमन्त्री बालेन्द्र शाह “बालेन”को विदेश भ्रमण कहिले होला ? अनि कुन देश ? राजनीतिक बृत्तमा यो विषयले प्रबेश पाएको छ । बालेनको रोजाईमा छिमेकी मुलुक भारत र चीनका अलवा तेस्रो मुलक अमेरिका पर्ला ? राजनीतिका पंण्डित र विपक्षी दलले मेसो पाउन नसकीरहेका बेला परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेनको विदेश भ्रमणबारे मुख खोलेका छन् । नवौं हिन्द महासागर सम्मेलनका लागि मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्लुआइओएन) सँगको कुराकानीमा प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारत हुने आशय व्यक्त गरेका छन् ।
बालेन प्रधानमन्त्री भए लगत्तै भारतीय समकक्षी तथा प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउँदा नै भ्रमणको निम्ता पठाएको र त्यसमा सरकारले सैद्धान्तिक सहमति गरिसकेको दाबी गरिएको छ । परराष्ट्रमन्त्री खनालले मोरिससमा भारतीय विदेशमन्त्री एस जयशंकर संग गरेको भेटवार्ताले पनि बालेनको पहिलो विदेश भ्रमण भारत हुने पक्का देखिन्छ । तर कहिले भन्ने एकिन हुन सकेको छैन ।
बालेनको रणनीति
बालेनले अन्तराष्ट्रिय सम्बन्धलाई विस्तार गर्न चैत २५ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग सामुहिक छलफल गरेका थिए । छलफलपछि कुटनीतिक नियोगका प्रमुखहरुले पालैपालो नेपालको नक्साको पृष्ठभूमीमा प्रधानमन्त्री बालेनसँग तस्विर खिचाए । जहाँ भारतीय राजदुत नवीन श्रीवास्तवले पनि पृष्ठभूमीमा नेपालको नक्सा राखिएकै ठाउँमा तस्विर खिचाएका थिए ।
जुन विषयले गर्दा बालेनको निकै प्रशंसा भयो । तर देश भित्र कुटनीतिक रुपमा प्रखर देखिएका बालेनको अन्तर्राष्ट्रिय कुटनीतिको अग्नि परीक्षा बाँकी नै छ । छिमेकी दुई ठुला महाशक्ति राष्ट्र भारत र चीनलाई सन्तुलनमा राख्दै तेस्रो मुलुक अमेरिका र अन्य मित्रराष्ट्रलाई विश्वासमा राख्नुपर्ने चुनौती प्रमुख छ । त्यसमा पनि भारतसँग रोटी बेटीको सम्बन्ध रहेको हुँदा अझ भिन्न हुँदै आएको पनि छ । नेपालको करिब ८० प्रतिशत व्यापार भारतसँग नै जोडिएको छ । यसकारण पनि बालेनले पहिलो पाइला भारत चाल्ने संकेत देखाएका हुन् ।
कस्ता विषय प्राथमिकतामा ?
प्रधानमन्त्री बालेनलाई भारतसंगको सम्बन्ध प्रगाढ बनाउने अवसर र चुनौती दुबै छ । झण्डै दुई तिहाईका प्रधानमन्त्रीका रुपमा रहेका बालेनले दीर्घकालिन हित हुने विषयमा काम गर्नुपर्नेछ । जस्तैः ब्यापार, उर्जा, कनेक्टिभिटी । काठमाडौं महानगरको मेयर हुँदा उनले कार्यकक्ष पछाडी राखेको ग्रेटर नेपाल र चुच्चे नक्सा स्टण्ड मात्रै थियो कि अब यसको गाम्भीर्यतालाई अगाडि बढाउँछन् त्यो पनि उनका लागि चुनौतिको विषय बनेको छ ।
यसअर्थमा पनि भारत भ्रमण उनका लागि अग्नि परिक्षा हुनेछ । नेपाल र भारत विच सिमा विवाद समाधान हुन सकेको छैन । नेपाल भारतबीच गठित प्रबुद्ध समूहको प्रतिवेदनसमेत भारतले अहिलेसम्म बुझ्न मानिरहेको छैन । भने लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नेपालको नयाँ नक्सालाई भारतले स्वीकार गरेकै छैन । अझ यहिबेला लिपुलेकलाई भारत र चीनको ब्यापारिक केन्द्र बनाउने सहमति नै गरेर भारत अघि बढेको अवस्था छ । यस्ता विषयमा बालेनले खुट्टा टेक्नुपर्ने सिमाविद् बुद्धिनारायण क्षेष्ठ बताउँछन् ।
सिमाका अलवा उर्जा र जलविद्युत, हवाई मार्ग–भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई रुट, आइटीको व्यवसायीकता, कनेन्टिभिटी र पूर्वाधार, इपिजी प्रतिवेदन अन्र्तगत प्रबुद्ध व्यक्ति समुहले तयार पारेको सिमा समस्य सम्बन्धि प्रतिवेदन भारतले बुझ्ने गरीको कुटनीतिक पहल गर्नुपर्ने लगायतका एजेण्डा तय हुनुपर्ने विज्ञहरुको सुझाव छ ।
विगतका प्रधानमन्त्रीहरुको विदेश भ्रमण कस्तो ?
राणा शासनपछिको अवस्था र २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएयताका धेरैजसो प्रधानमन्त्रीले भारतबाटै पहिलो विदेश भ्रमण गरेको देखिन्छ । यद्यपि केहीले भने अन्य देशलाई पनि पहिलो विदेश भ्रमण बनाउँदा सत्ता लामो समय टिक्न सकेन । गणतन्त्र स्थापना भएपछि बनेको २०६५ को पहिलो सरकारमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले भने पहिलो विदेश भ्रमण चीनबाट सुरु गरे ।
यस्तै २०६७ मा प्रधानमन्त्री बनेका झलनाथ खनालले पनि पहिलो विदेश भ्रमण कम्बोडियाबाट गरे । यद्यपि कम्बोडियापछि भने खनाल भारत भ्रमणमा गएका थिए ।
उता प्रचण्डले पछिल्लो पटक प्रधानमन्त्री हुँदा २०८० चैतमा भारतबाटै पहिलो विदेश भ्रमण गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि २०७४ मा प्रधानमन्त्री बन्दा पहिलो विदेश भ्रमण भारतबाटै गरे । उनले २०७४ चैत २३ देखि २५ गतेसम्म तीन दिने भारत भ्रमण गरेका थिए । त्यसपछि २०७८ सालमा शेरबहादुर देउवाले स्कटल्याण्डबाट पहिलो विदेश भ्रमण गरेका थिए । तर स्कटल्याण्डमै मोदीसँग भेट गरेका देउवापछि फर्किएर भारत भ्रमणमै गएका थिए । देउवा मोदीको निमन्त्रणामा २०७८ चैतमा तीन दिने औपचारिक भ्रमणका लागि भारत गएका थिए ।
राजनीतिक इतिहासमै नेपालका प्रधानमन्त्रीहरुले धेरैजसो पहिलो विदेश भ्रमण भारतबाट नै गरेका छन् । यसअघिका प्रधानमन्त्रीलाई भारत परस्तको आरोप लाग्ने गरेको अवस्थामा युवा प्रधानमन्त्री बालेन्द्रले पनि भारतलाई नै प्राथमिकतामा राखेका छन् । यद्यपी सरकार पक्षबाट भ्रमणको औपचारिक मिति तय हुन बाँकी नै छ ।
