News 24 Television
शंकर र विष्णु के चाहन्छन् ? ओली विकल्पको नयाँ कमाण्डर को ?

काठमाडौं । बर्ष २०८२ नेकपा एमालेका लागि अभिशाप बन्न पुग्यो । राजनीतिक रुपमा ठुलो चुनौती सामना गर्नु परेकै कारण एमाले अध्यक्ष केपी ओलीले नयाँ वर्षको शुभकामनाकै क्रममा २०८२ इतिहास भएको उल्लेख गरे । अब बर्ष २०८३ मा एमाले आफ्नो अस्तित्व रक्षामा केन्द्रीत हुनुपर्नेछ । 

एक समय थियो, नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बा नामले पुकारिन्थ्यो । राष्ट्रवादी नेताको छवीले ओली अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह “बालेन”को पपुलारिटी जस्तै हाईहाई थियो । तर समय फेरियो । भदौ २३ र २४ को जेनजी आन्दोलनले ओलीलाई राष्ट्रिय राजनीतिबाटै किनाराकृत गरिदियो । 

अरु त अरु आफ्नै गढ झापामा प्रधानमन्त्री बालेन्द्रसंग भारी मतान्तन्तरले लज्जाजनक हार ब्यहोर्नु पर्यो भने चुनावपछि प्रहरी हिरासतमा समेत पुग्नु पर्यो । ओलीको जिवनमा आएको उतारचढावले उनलाई पार्टी राजनीतिबाटै विश्राम गर्नुपर्ने बहस गर्माएको छ । 

एमाले राष्ट्रिय राजनीतिको लिक भन्दा बाहिर जानुमा अध्यक्ष ओलीकै हात रहेको विश्लेषण सहित एमालेजनमा नयाँ नेतृत्वको खोजी हुन थालेको छ । एमाले भित्र रहेको परिवर्तनको पक्षधर समुहले सार्वजनिक आह्वान नमाने विशेष महाधिवेसनको अधिकार प्रयोग गर्नेगरी तयारी गरिरहेका छन् । उनीहरुले भनीरहेका छन्, नेतृत्व विश्राम र पार्टी पुर्नगठन । 

ओलीलाई शंकर र विष्णुबाटै असहयोगको संकेत

नेकपा एमालेमा अध्यक्ष ओलीको विश्रामको माग बाक्लिदै गर्दा विश्वास पात्रहरुले पनि साथ छाड्न थालेका छन् । महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पार्टी पुर्नगठन र नेतृत्व विश्रामबारे आन्तरिक छलफलमा जुटेका छन् । सार्वजनिक रुपमा बोल्न नचाहेपनि एमालेका अधिकांश नेताहरु नेतृत्व विदाईको पक्षमा छन् । 

यसले ओलीको निदहराम गरिदिएको छ । यसअघि पनि पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्ति बारे उपाध्यक्ष पौडेलले प्रश्न उठाउँदै विद्रोहको संकेत देखाएका थिए । पछिल्लो चुनावी परिणाम यता एमालेमा नेताहरुले गहिरो विचार र विमर्श गरिरहेका छन् । उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई सहितका नेताहरु ११ औँ महिधिवेसनमै नेतृत्व परिवर्तनको एजेण्डामा थिए । त्यसैले यतिबेला उनीहरुले राहतको महसुस पनि गरिरहेका छन् । 

उसो त एमालेमा ओलीको विश्रामले मात्रै पार्टी पुर्नगठन र रुपान्तरित होला त भन्ने प्रश्न नउठेको होइन । तथापी एमाले गम्भीर विचार विमर्श गरि अघि बढ्नुको विकल्प छैन । 

तल्लो तहको नेतृत्वले पनि ओलीलाई अभिभावकीय भुमिकामा बस्नुपर्ने सुझाइरहेका छन् । तर पार्टीको नयाँ गति दिने नेतृत्वमा एमालेमा पहिचान हुन सकिरहेको छैन । पार्टीका दोस्रो तहका नेताहरुले पार्टी नेतृत्व लिने गरि गति दिन सकिरहेका छैनन् । 

यो अवस्थामा विगतदेखि नै मौलाइरहेको पार्टीभित्रका विभिन्न गुटहरुलाई एक ठाउँमा ल्याएर साझा नेतृत्वको खोजी गरिए मात्रै पार्टी पुनः लयमा फर्किने विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update