News 24 Television
कांग्रेस वारपारको लडाँई थप उत्कर्षमा, जीत कसको ?

काठमाडौं । नेपाली कांग्रेस भित्रको विवाद उत्कर्षमा पुगेको छ । पुर्णबहादुर खड्काले दोस्रो पटक पार्टीको लेटरप्याड दुरुपयोग गरेपछि विवाद चरमविन्दुमा पुगेको हो । बुधबार कांग्रेसको अनुशासन समितिले उनलाई एक साता भित्र स्पष्टीकरण दिन उर्दी जारी गरेको छ । तर खड्काले भने कार्यवाहक सभापतिकै हैसियतमा आफूले अदालतमा दायर गरेको मुद्दा विचाराधिन रहेको भन्दै स्पष्टीकरण सोधिनु नै हाँस्यास्पद भएको प्रतिक्रिया दिएका छन् । यसले काग्रेसमा झनै विवाद बढाएको छ । 

रास्वपाको जनलहरले चेपुवामा परेका परम्परागत शक्ति कांग्रेस र एमालेको पार्टीभित्र अन्तरकलह उत्कर्षमा छ । पार्टीभित्रको एकता मजबुत गर्नुपर्नेमा नेताहरु सुँघेरी खेल्नमै मस्त छन् । 

एमालेमा नेतृत्व परिर्वतन र पार्टी पुर्नगठनको बहस चलेको छ भने कांग्रेसमा  आधिकारिकताको लडाइँ । फागुन २१ को निर्वाचनपछि कांग्रेस इतर पक्षले त समानान्तर गतिविधि नै गरिरहेको छ । पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा वक्तब्यबाजी गरिरहेपछि बुधबार मात्रै अनुशासन समितिले ७ दिने स्पष्टीकरण मागेको छ । 

अन्तिम साता काठमाडौँको भृकुटीमण्डमा भएको विशेष महाधिवेसन मार्फत सभापति गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिए पनि खड्का समूहले वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतले गुहारेको छ । कार्यवाहक सभापतिकै हैसियतमा आफूले अदालतमा दिएको मुद्दा विचाराधिन रहेकाले स्पष्टीकरणको कुनै औचित्य नभएको प्रतिक्रिया खड्काले दिएका छन् । 

खड्काले चैत १४ र ३० नेपाली कांग्रेसकै लेटरप्याडमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक पक्राउको विरोधमा खड्काले चैत १४ गते विज्ञप्ति निकालेका थिए । अहिले क्रियाशील सदस्यता अध्यावधिक नगरिए सदस्यता नरहने कांग्रेसले चेतावनी दिएपछि दोस्रो पटक खड्काले विज्ञप्ति जारी गरेका थिए । 

पार्टीको लेटरप्याड दुरुपयोग कांग्रेसको विधान विपरित देखिएकाले पार्टी विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा ८ घ बमोजिम सात दिने स्पष्टिकरण सोध्ने निर्णय गरिएको अनुशासन समितिका संयोजक तारामान गुरुङले बताए ।  

खड्काले भने स्पष्टीकरण नदिने बताइसकेको अवस्थामा एक सतापछि कांग्रेसले के निर्णय गर्छ भन्न सकिने अवस्था छैन । यद्यपी सहमति र समझदारी नै अन्तिम विकल्प भएको नेताहरुले बताइरहेका छन् ।  

पार्टीको अनुशासन समितिले स्पष्टीकरण माग्ने निर्णय गरे पनि बुधबार नै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठक यसबारेमा मौन रह्यो । बैठकमा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र पार्टीको चुस्तताका विषयमा मात्रै छलफल चले ।  

कांग्रेस विवादको छिनफानो कसरी ? 

फागुन २१ को निर्वाचनबाट पार्टी अस्तित्वमा नै गम्भीर प्रश्न चिन्ह उठे पनि कांग्रेस नेताहरु भने अस्तित्वको लडाइँमै छन् । इतर पक्ष फागुन २१ को चुनावपछि झनै आक्रामक देखिएको हो । उसले चुनावी परिणामका कारण नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् । त्यसैले चुनाव लगत्तै उक्त समूहले चुनावी समिक्षादेखि प्रदेश तथा जिल्ला सभापतिको भेला समेत बोलायो ।  इतर पक्षले पार्टीको वैधानिकताको बारेमा अदालतमा हालेको मुद्दाको फैसला नआएसम्म कांग्रेसको संस्थापन र इतर पक्षको गतिविधि कायमै रहने देखिन्छ । त्यसैले सर्वाैच्चले जतिसक्दो चाँडो फैसला गर्छ त्यसले नै कांग्रेस विवाद साम्य गर्ने झिनो आश राख्न सकिन्छ । 


 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update