काठमाडौं । फागनु २१ को चुनावी हारले राष्ट्रिय राजनीतिको लिकभन्दा बाहिर छन्, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी । आफु अनुकुल कांग्रेसलाई सत्ताको सारथी बनाउँदै आएका एमाले र नेकपा चुनावी परिणामपछि सानो दलको हैसियतमा खुम्चिएपछि अस्तित्व रक्षाको अवस्थामा छन् ।
प्रतिनिधिसभामा अहिले प्रचण्डको म्याजिक नंवर गायब भएको छ भने ओली फराकिलो हार र जेनजी आन्दोलनको आरोपले भित्रभित्रै गलेका छन् । यहि जटिल र आफु कमजोर बनेका बेला एमाले र नेकपाको एकताको चर्चा फेरि शुरु भएको छ । वाम घटक नै एकता सुत्रमा बाँधिनु पर्नेसम्मका कुरा समेत सतहमा आएका छन् । पटकपटक जुट्दै र फुट्दै अस्तित्व रक्षामा पुगेका बाम घटकहरु के साँच्चिकै मिल्न खोजेका हुन् त ?
नेपाली राजनीतिमा पुनः बाम एकताको बेमौसमी बाजा घन्किएको छ । बेमौसमी यसअर्थमा कि जब बाम घटकहरु कमजोर बन्छन्, अनि एकताको बाजा फुक्न थाल्छन् । अहिले त्यस्तै भएको छ । फागुन २१ को चुनावमा नराम्रोसँग बढारिएका बाम शक्ति विशेषगरी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी विचको एकताको विषय सतहमा आएको छ ।
चुनावी हारले पार्टी भित्र उकुसमुकुसको अवस्था सिर्जना भएका बेला एकताको विन्दु खोज्ने प्रयास सुरु भएको चर्चां छन् । तर ती कति तथ्य र सत्य छन्, भन्ने कुरा महत्वपूर्ण हो । राष्ट्रिय राजनीतिबाटै किनाराकृत अवस्थामा पुगेका दुई दल नेकपा र एमाले नेताहरु आन्तरिक रणनीतिमा होमिएको समेत बताइन्छ । एकताको मुख्य मुद्दा चुनावी हार र समयको मागलाई आधार मानिएको बताइन्छ ।
विहिबार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टिचिङ हस्पिटलमा पुगेर गरेको भेटघाटले एकताको तयारीपूर्वको छलफलका रुपमो सार्वजनिक स्थान पाउन थालेको छ ।
भेटमा दुई बाम नेता विच स्थास्थ्य अवस्थाकै विषयको कुरा भएको दाबी गरिएको भएपनि पार्टी एकता वा मिलेर जाने विषयमा पनि कुराकानी भएको सम्म विश्लेषण भइरहेका छन् । के साच्चिकै ओली–प्रचण्ड पुनः मिलेर सहकार्य गर्न थालेका हुन् त ? एकता गर्ने नै हो भने कुनकुन मुद्दामा गर्ने प्रश्न सोझिएका छन् । तर एमाले नेता विशाल भट्टराई भने बाहिरी हल्लाको कुनै तात्विक सत्यता नरहेको बताउँछन् ।
उसो त यतिबेला संसदमा बाम शक्तीहरुको कमजोर उपस्थितिले केहि सोच्न नेताहरु बाध्य भने छन् । अलि बलियो शक्ति बनाउन सकियो भने प्रधानमन्त्री बालेन शाहलाई चुनौती दिन सकिन्छ की भन्ने भान नेताहरुले देखाउने गरेका छ । त्यसो त स्वयम् ओली र प्रचण्डमा देशभरी चलेको परिवर्तनको बाढीले पार्टी भित्रकै युवा नेताहरुले नै नेतृत्व खोस्ने त होइनन् भन्ने डर पैदा भएको छ ।
एमालेमा नेतृत्व परिवर्तन र पार्टी पुर्नगठनको विषयलाई प्रधान बनाएर विशेष महाधिवेसन आह्वानका लागि हस्ताक्षर नै संकलन थालिएको छ । प्रचण्डको हकमा कम देखिएपनि नेकपा भित्र समेत नेतृत्व परिवर्तनको मुद्दा नउठेको होइन ।
चौतर्फी नैतिक संकटको घेरामा परेको दुई नेता आत्मरक्षाको लागि भएपनि एकतामा जोड दिन सक्ने आकलन गर्न सकिन्छ । तर राजनीतिक विश्लेषक भीम उपाध्याय ओली–प्रचण्ड मिल्ने नमिल्ने कुराले अहिले राष्ट्रिय राजनीतिमा कुनै अर्थ नराख्ने बताउँछन् ।
फागुन २१ को चुनावमा प्रचण्डले दुई दर्जन बढि शक्ति एकठ्ठा गरेर पनि प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी १७ सिट मात्रै ल्याउन सके । समानुपातिकमा एक सिट नेकपालाई चिट्ठा हो । जवकी ०७९ को चुनावमा तत्कालिन माओवादी एक्लैले ३२ सिटको म्याजिक नम्बर ल्याएको थियो । यत्तिके बलमा प्रचण्डले केही समय सत्ताको नेतृत्व पनि गरे ।
एमालेको कुरा गर्ने हो भने ०७९ मा ७८ सिट सहित संसदको दोस्रो दल बनेको थियो । यसपटक प्रत्यक्षमा ९ सिटमा खुम्चिदा समानुपातिकमा १६ गरी २५ सिटमा झरेको छ ।
समानुपातिक मतको ग्राफ हेर्न हो भने पनि दोब्बरले घटेको छ । त्यतिमात्रै होइन् एमाले र नेकपाका मुल नेतृत्वकर्ता ओली र प्रचण्डले पद ओगट्नु पनि अर्काे मुख्य कारण मानिएको छ । पछिल्लो तीन दशक यता राजनीतिक केन्द्रमा यीनै छन् । यस्तो बेला ओली–प्रचण्डकै अनुहार हेरेर नेपाली जनताले मत नदिएको विश्लेषण हुँदा पार्टी नेतृत्वसंगै सिंगो पार्टी पूनर्गठनमा जानु उपयुक्त हुने नेताहरुको बझाई छ ।
विगतको तितो अनुभव !
नेपालमा बाम शक्ति एकताको सुत्रमा नबाँधिएका होइनन् । पछिल्लो पटक २०७४ मा एमाले, माओवादी सहित विभिन्न बाम घटक मिलेर नेकपा पार्टी गठन भएको थियो । त्यतिबेला नेपाली जनताले बाम एकतालाई सकरात्मक रुपमा लिँदै २०७४ को आम चुनावमा झण्डै दुई तिहाई हाराहारी जनमत दिएका थिए भने नेकपाले एकल सरकारको नेतृत्वको गरेको थियो ।
ओली प्रधानमन्त्री बनेका थिए । तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतको नेतामा थिए । तर नेकपा भित्रको शक्ति लुछाचुडीले तीन बर्ष पुग्न नपाउँदै नेकपा छिन्नभिन्न भयो । तत्कालिन माओवादी आफ्नै हसिया हतौडा तीर फर्कियो भने एमाले दुई टुक्रा बन्यो । एमालेबाट टुक्रिएर माधव नेपालको नेतृत्वमा नेकपा एस पार्टी बन्यो ।
अहिले नेपाल समूह नेपाली कम्युनिष्ट पार्टीको तारा चिन्हमा छन् । त्यसयता नेपालमा बाम दल विचको विश्वासको दुरी बढ्दै गएको छ । यद्यपी राजनीतिमा स्थायी सत्रु र मित्र हुँदैन भन्ने उखानलाई नेपाली बाम नेताले मात खुवाउँदै आएका छन् ।
यस्तो, अवस्थामा बाम दलको सार्थकता बारे समय क्रमअनुसार खुल्दै जानेछ । अहिलेलाई भने बाम एकताको रटान बेमौसमी बाजा नै भन्दा फरक नपर्ला ।
