News 24 Television
दार्चुलाभरी पुलै–पुल छ भन्दै सांसद गणेश सिंहले झुठ बोलेको आरोप

दार्चुला। दार्चुलाको व्याँस–२ काठे दुम्लिङमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर पुलका लागि श्रमदान अभियान चलाएका हुन् । 

सडक र संचारबाट वञ्चित स्थानीय वर्षौंदेखि तुइनको जोखिममा छन् । यहाँ तुइनकै कारण दर्जनौँले ज्यान गुमाइसकेका छन् । पुल निर्माणलाई लिएर राजनीतिक मतभेद देखिएपनि स्थानीयले यसलाई जीवनरक्षा र सहज आवागमनको महत्वपूर्ण पहल मानेका छन् ।

दार्चुला’को व्याँस गाउँपालिका – ०२ काठे दुम्लिङमा श्रम संस्कृति पार्टी’का संयोजक तथा सांसद हर्क साम्पाङले गत चैत २४ गतेदेखि झोलुङ्गे पुलको शिलान्यास गरी देशभरका श्रमदाताहरुले निर्माण गरिरहेका छन् । निर्वाचन पूर्व नै प्रतिबद्धता गरेका साङपाङले सामाजिक सञ्जालबाटै सहयोग उठाएर पुल बनाउन लागेको हुन् । 

जिल्लाको सदरमुकाम खलङ्गादेखि करिब ५० किलोमिटर उत्तरमा रहेको दुम्लिङ गाउँमा अहिलेसम्म पनि सडकको ट्रयाक पुगेको छैन् । यहाँका नागरिकले लामो समयदेखि नेपाल तर्फको नुन, तेल, खाद्यान्न् उपभोग गर्न पाएका छैनन् ।  

गत वर्ष २०८२ असार २८ गते गर्भवती श्रीमती जानकी बुढाथोकीको लागि पोषण र खाद्यान्न ल्याउन महाकाली नदी माथि बनाइएको अवैध तुइन तर्दै भारत जाने क्रममा २८ वर्षिय नारायण बुढाथोकीले ज्यान गुमाएका थिए । २०५० यता मात्रै महाकाली नदी र आसपासका खोलाहरुमा तुइन तर्दै गर्दा यो गाउँ वरिपरि’का ३५ जना बढीले ज्यान गुमाइसकेका छन् भने १ दर्जन बढी बेपत्ता भएका छन् । 

यहि दौरानमा हर्कले टिकटक चलाउँदै गर्दा वडा नम्बर –२ कै कल्चु बस्ने दिनेश धामीकी छोरी ग्रिष्मा धामीले तुइन तर्दै गरेको भिडियो देखेपछि  दार्चुलाको तुइन हटाएर पुल बनाउने प्रतिबद्धता गरेको बताएका छन् । 

तर यहि बिषयलाई लिएर दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नाले १०० मिटर आसपासमा अर्को पुल भएको टिप्पणी गरेका छन् । यद्यपी उनले हर्क साम्पाङको श्रम दानलाई भने सम्मान गर्ने बताएका छन् । जिल्लामा सयौं पुलहरु रहेको दावी गर्दै ठगुन्नाले महाकाली नदीमा एउटा मात्रै तुइन रहेको बताए । 

तर घट्टेखोलामै बाढी आएर विस्थापित भएका जीबन बुढाथोकीले भने सांसद गणेश सिंह ठगुन्नाले वस्तु स्थिति नबुझिकनै बोलेको बताएका छन् । १५÷२० परिवार नै विस्थापित भएको ठाउँमा जिर्ण पुल देखाएर टन्नै पुल छन् भनेर बोल्नु गलत भएको उनको भनाइ छ । 

दुम्लिङवासीहरु अहिलेसम्म पनि संचारबाट बंचित छन् भने सडक पुगेको छैन् । अहिलेसम्म उनीहरुका लागि तुइनको जोखिम मोलेरै भारतसँग निर्भर हुनुको विकल्प छैन । 

दुम्लिङ वासीहरुको पिडा राज्यले नसुने पनि एउटा राष्ट्रिय पार्टी श्रम संस्कृतिका दल नेता तथा सांसद हर्क साम्पाङले आफैं सिमा क्षेत्रमा गएर बुझेको स्थानीय बताउँछन् । दुम्लिङ वासीहरुकै आग्रहमा यतिबेला उनले काठे दुम्लिङमा झोलुङ्गे पुल बनाइरहेका छन् भने नेपाल भारत जोड्ने झोलुङ्गे पुलका लागि पनि प्रयास गरिरहेको बताएका छन् । 

त्यो भन्दा पनि महत्वपूर्ण कुरा आफ्नै देशबाट गाउँ पुग्न नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकमा पर्याप्त बजेट छुट्याउन भन्दै उनले संसदमै बोलिदिएकोमा स्थानीय दंग छन् । 

दार्चुलाको सदरमुकाममै भारतले हाम्रो भूमि मिचेर संरचना बनाएको, तिंकर सडक ओझेलमा पारी घोरेटो बाटोमा १५ करोड खर्च गरेका दार्चुलाका नेता र पार्टीहरुलाई भने हर्क साम्पाङले गतिलो झापड लगाएको स्थानीय बताएँछन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update