News 24 Television
ओलीलाई फाल्ने दौडधुपमा एकताको पासो, प्रचण्ड–ओलीले के गर्न सक्छन् ?

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरुबीच नियमितजस्तो भेट भइरहेका छन् । उनीहरुले वर्तमान राजनीतिक अवस्था, प्रदेश र स्थानीय तहको चुनाव जस्ता विषयलाई लिएर सघन छलफल गरिरहेका छन्। निर्वाचनमा असाध्यै नराम्रो पराजयपश्चात एमालेभित्र नेतृत्व फेर्ने बहस चर्किएको बेला एकताको बहसले राजनीति तरङ्गित बन्न पुगेको छ ।

एमाले अध्यक्ष केपी ओली स्वास्थ्य लाभ गरिरहेका छन् । त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका ओलीले आफूलाई भेट्न आउने नेताहरुसंग वामपन्थी एकताको आवश्यकता बढेको र अबका निर्वाचनमा बलियो उपस्थिति जनाउनका लागि पनि डटेर काम गर्नुपर्ने भन्न थालेका छन् । तर, ओलीलाई नै नेतृत्वबाट बिदा गर्नुपर्ने भन्दै लाइन बनाउन थालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल भने नयाँ विकल्पमा जानुपर्नेमा देखिन्छन् । 

यहि बेला नेपाली कम्युनिस्ट पार्टीभित्र पनि प्रचण्डसहितका शीर्ष नेताले नेतृत्व छाड्नुपर्ने दबाब चर्को देखिन्छ । जुन दबाब झेल्न पनि ओली–प्रचण्ड पुनः एकतामा जाने सम्भावना बलियो बन्दे गएको दाबी गर्ने गरिन्छ । 

एमालेमा तरङ्ग

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एकताका निम्ति भन्दै चलेका बहस निरर्थक भनेका छन् । पौडेलले ससमाजिक सञ्जालमा लेख्दै बनेका छन्, ’नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’ पौडेलले यो प्रहार ओली पक्षका नेताहरुलाई नै भनेका हुन् । 

ओलीको विश्वासपात्रका रुपमा काम गरिरहेका एमाले सचिव महेश बस्नेतले ओली प्रचण्डको भेटलाई अर्थपूर्ण र आवश्यक भनेका छन् । दुई नेताको भेटले सकारात्मक सन्देश दिएको दाबी गरेका बस्नेतले भनेका छन्, ’राजनीतिक मतभेदहरू भए पनि राष्ट्रिय हित र सहकार्यका लागि संवाद आवश्यक हुन्छ भन्ने कुरालाई यो भेटले पुनः प्रमाणित गरेको छ। देश र जनताको हितमा यस्ता भेटघाट र समझदारीले स्थिरता, सहकार्य र एकताको बाटो खोलोस्।’

उसोतः यस्ता विषयको बहस एमालेमा चर्चाको विषय बन्न पुगेको छ । नेताहरुले औपचारिक रुपमा एकताको कुनै निर्णय नभएको सम्म भन्न भ्याएका छन् । एमाले महासचिव शंकर पोखरेलले पनि ओली र आफ्नाबीच पाटो ल्याउन खोजिएको भन्दै प्रतिवाद गरिरहेका छन् । तर, पार्टी कार्यालय पुगिरहने पोखरेलले पुनर्गठनको विषय भने उठाइरहेको बताइन्छ । 

एकताको बहस किन ? 

नेकपा र एमालेबीचको एकताको बहस चर्किएको छ । यसमा एमाले अध्यक्ष केपी ओलीले आफ्ना दूतहरुलाई प्रचण्ड र उनको पार्टीका नेताहरुसंगकोप नियमित छलफलमा पठाइरहेका छन् । जसमा पुर्वमाओवादी पृष्ठभूमिका लेखराज भट्टदेखि धेरै नेताहरु सक्रिय बनेका छन्। उनीहरुले अब एकता गर्न नसके वामपन्थी शक्तिमाथि नै संकट आउने भन्दै एकताका आधार तयार पार्ने, ठोस कार्ययोजना निर्माण गर्ने जस्ता विषयमा बहस गरिरहेका छन् । 

छलफल अत्यन्तै प्रारम्भमा रहेका कारण पनि अहिले नै भन्न सकिने स्थिति भने देखिन्न । तर, निर्वाचनको परिणामपछि नेताहरु झस्किएका छन् । उनीहरुले अब हुने प्रदेश र स्थानीय तहको निर्वाचनमा उल्लेख्य सहभागीता जनाउन पनि मिल्नुपर्नेमा जोड दिन थालेका हुन् । 

के गर्लान ओली ?

जेनजी आन्दोलनपछि नेतृत्वको गम्भिर संकटमा परेका केपी ओलीले आफ्नो पक्षमा निर्णय गराउन सफल बने । महाधिवेशनबाट नेतृ्त्वमा समेत सहजै पुगे । अधिकांश केन्द्रिय समितिमा नेताहरुको व्यवस्थापन पनि गर्न भ्याए । अब अस्पतालबाट डिस्चार्ज भएपछि ओलीको उपस्थितिमा सचिवालय बैठक बस्ने देखिन्छ । 

जसमा ओलीले सचिवालयमा अल्पमत हुने अवस्था देखेमा केन्द्रीय समितिमा नै लगेर भएपनि निर्णय गराउने बताइन्छ । तर, विष्णु पौडेल, शंकर पोखरेल जस्ता नेताहरु पनि सक्रियतापुर्वक ओलीलाई हटाउने पक्षमा उभिएकाले ओलीले यस्तो विषयलाई कसरी लिन्छन भन्ने विषय भने चासोमा छ ।

प्रचण्ड उपर्युक्त निर्णयको पर्खाईमा

यता नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड पनि सहि समयको पर्खाईमा देखिन्छन ।आगामी ६ महिनाभित्र महाधिवेशन गराउने भनेका प्रचण्डले पनि नेतृत्व छाड्नुपर्ने दबाब झेलिरहेका छन् । यस्तोमा उनले एकता वा अन्य बाटोबाट आफूलाई कसरी उभ्याउने भन्ने विषयमा सोच्न थालेको देखिन्छ । 

यस्तो हुँदा नेकपामा पनि प्रचण्डले लिने निर्णय नै निर्णायक बन्ने अवस्था छ । अझं, प्रचण्ड सहजै एकतामा जान सक्ने नेता पनि भएकाले ओली–प्रचण्डको एकता स्वार्थ मिल्ने हदसम्म हुने अवस्था बन्ने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  ०९:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update