News 24 Television
फेरि अदालततर्फ देउवा पक्षको ध्यान, गगनको एक्सनले हुनेछ कांग्रेसको भविष्य निर्धारण

काठमाडौं । सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने नगर्ने भन्ने विषयमा कांग्रेसभित्र तनाव चुलिएको देखिन्छ । देउवा पक्षका नेताहरुले तलदेखि माथिसम्म नै राष्ट्रिय भेलाको आयोजना गरेर निर्णय लिने भनिरहेका छन्। तर, विवाद अन्त्यको जिम्मा भने सभापति गगन थापाले लिनुपर्ने भनिरहेको बेला कांग्रेस निर्णायक मोडमा उभिन पुगेको छ। 

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको फैसलालाई कांग्रेसले स्वीकार गर्ने भनेको छ। कांग्रेसमा विभक्त दुई धारले भनिरहेको दाबीमा उनीहरुले विरोधाभास रहेको भन्दै पूर्ण इजलासमा जानुपर्नेतर्फ समेत संकेत गरिरहेका छन् । 

अदालतको नजिरविपरित नै फैसला आएको दाबी गरिरहेको देउवा पक्षले विभिन्न बैठकलाई जोड दिइरहेको छ । यो समूहबाट शेखर कोइराला, शशांक कोइराला र धनराज गुरुङसहितका नेताहरुले गगन थापालाई सभापति मानेर जाने निर्णय गरेको जिकिर गरिरहेका छन् । तर, देउवा पक्षले भने अझैंपनि के गर्न सकिन्छ भन्ने निर्णय लिन स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मै गरेर राष्ट्रिय भेलाको आयोजना गर्ने भनिरहेका छन् । 

पूर्णबहादुर खड्का समूहले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने सर्वोच्चको फैसला विरोधाभासपूर्ण, अदालतका आफ्नै नजिर तथा निर्वाचन आयोगले कायम गरेका अभ्यासविपरित रहेको टिप्पणी गरेको छ । 

कांग्रेस ऐतिहासिक मोडमा उभिदै विवादलाई थप बढोत्तरी गरिरहेको देखिन्छ । तर, पार्टी सभापति गगन थापाले कसरी यो विषयलाई समाधानमा लैजान्छन भन्ने कुरा अब उनको नेतृत्व परिक्षण हुने बेला निर्माण भएको छ । 

संयमता आवश्यक

कांग्रेसको संस्थापन पक्षले सोमबार ३ बजेका लागि अनुशासन समितिको बैठक डाकेको छ । यो समितिले देउवा पक्षका नेता पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको छ भने खड्काले यसलाई हास्यास्पद भनेका छन्। यसरी विवाद चर्काउने वा साम्य पार्ने भन्ने विषय समितिले लिने निर्णयले समेत महत्व राख्ने देखिन्छ । 

कांग्रेस विषम परिस्थितिमा रहेको बेला आन्तरिक एकतालाई सुदृढ पार्नका निम्ति लचकता देखाइन्छ वा कारबाहीको निर्णय लिइन्छ भन्ने चासो देखिन्छ । जसमा पार्टी सभापति गगन थापाले चाल्ने कदम पनि महत्वपूर्ण हुने ठानिएको छ । तर, संस्थापन पक्षका नेताहरुले सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्दै यसलाई जित र हारको विषय बनाउन नहुने भन्दै एकतामा जोड दिने प्रतिबद्धता भने व्यक्त गरिरहेका छन् ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वले तोकेको महाधिवेशन र तत्कालीन समयमा कार्यबाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले तोकेको महाधिवेशनको मितिमा समेत लफडा चलिरहेकाले गगन थापाले लिने पहल कदमी नै निर्णयक बन्ने देखिन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update