काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डमा कार्यकारी निर्देशक नियुक्तिका लागि समिति गठनदेखि विभिन्न निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा पेश गर्न स्वीकृत दिनेदेखि विभिन्न निर्णय गरेको छ ।
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ । मंगलवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यसैगरी सदस्यहरुमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
यस्तै, सरकारले तीन वटा विधेयकलाई संघीय संसदमा पेश गर्ने अनुमति पनि दिएको छ । नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
१. धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने ।
२. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) साथै रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्ति र मनोनयन गर्ने ।
३. प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
४. मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
५. नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयपछि संसदले पाउने विजनेसको संख्या पनि बढ्नेछ। यता, प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिले समेत क्यालेण्डर निर्माण गर्दै प्रधानमन्त्रीले संसद सञ्चालन भएको हरेक महिनाको पहिलो हप्ता संसदलाई सम्बोधन गर्ने कार्यक्रमलाई यथावत राखेको हो। संसदमा प्रश्नोत्तरलाई नै प्रधानमन्त्रीले सम्बोधन गर्ने विषयमा रुपमा लिने संसदीय अभ्यास चल्दै आएको छ।
