काठमाडौं । नेपाल गणतन्त्रमा गइसकेपछि नेपाली सञ्चार क्षेत्रमा न्यूज २४ टेलिभिजनले पनि औपचारिक पाइला अघि बढायो । सञ्चार क्षेत्र विकास एवम् विस्तारमा टेलिभिजनले अहम भूमिका खेलेको जनस्तरबाटै प्रसंशा हुने गरेको छ । तर, टेलिभिजन स्थापनापछिका राजनीतिक घटनाक्रम र त्यसको साक्षी बनेको यस संस्थाले विभिन्न उतारचढावका माझ कस्ता घटना व्यहोर्नु प¥यो त ?
नेपाल गणतन्त्र स्थापनाको विकासक्रम शुरु भएसँग नेपालमा उदाय सञ्चार गृह हो, न्यूज २४ टेलिभिजन । न्यूज २४ को उमेर १६ वर्ष पुग्दैगर्दा यस संस्थाले नेपालको उतारचढापपूर्ण राजनीतिलाई नजिकबाट निहाल्यो । व्यवस्था सुदृढीकरणमा न्यूज २४ सधैं कटिबद्ध रहयो । २०६२÷०६३ को जनआन्दोलनले नेपालमा शाह वंशीय राजतन्त्रको अन्त्यसंगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था त ल्यायो, तर प्रणालीमाथिका प्रश्न जहिल्यै पेचिला बनिरहे ।
गणतन्त्र स्थापनापछि संविधान सभाको निर्वाचन र त्यसपछि भएका संसदीय निर्वाचनले नेपालको राजनीतिक प्रणालीको परीक्षण गरिरहेको छ । संविधानले नै निर्वाचन प्रणाली मिश्रित ढंगले गर्ने व्यवस्था गरेको छ भने राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको कल्पना गरेको छ । सात प्रदेश र स्थानीय तहमा रहेको नेपालले अहिले शासन प्रणालीका अनेक चुनौति फेस गरिरहेको देखिन्छ ।
यसबीचमा संविधान निर्माण, संघीयताको अभ्यास र सुशासनको सवालमा केहि त्रुटीहरु देखिदा अहिले आम सर्वसाधारणमा एकखाले निराशा समेत देखिन्छ । तर, यसको समाधान के ? विमर्श चलिरहेको छ । लामो समयको रस्साकस्सीपछि २०७२ मा नेपालको संविधान त बन्यो, तर, संविधानको अपनत्व सिंगो नेपालले लिने स्थिति बनेन् । संविधानविरुद्ध मधेस केन्द्रित दलहरुले आन्दोलन थाले र भारतले त्यहि आन्दोलनलाई देखाउदै अघोषित नाकाबन्दी लगायो ।
भारतमा स्थिर सरकार, र राजनीतिक प्रणालीका कारण अहिले पनि नरेन्द्र मोदीले शासन गरिरहेका छन् भने नेपालमा त्यसपछि धेरै सरकार बने,अहिले पनि बन्ने र भत्किनेक्रम चलिरहेको छ ।
वर्तमान सरकारको आयु पनि लगभग उत्तरार्धतिर छ । सबै हेर्दा नाकाबन्दीदेखि कोरोना र संविधान निर्माणपछि संघीयताको कार्यान्वयनमा नेपालले अनेक झन्झट व्यहोर्नु परिरहेको छ । संघीयताको कार्यान्वयनमा देखिएको संकट, कानून निर्माणमा प्रतिनिधिसभाले उल्लेख्य सफलता हासिल गर्न नसक्नु लगायतका कारण पनि संकट र समस्या बल्झिने खतरा देखिन्छ । संविधान उत्कृष्ट बनेको भनिएपनि कार्यान्वयनको पक्ष फितलो बन्दा राजनीतिक उथलपुथल भने चलि नै रहेको देखिन्छ ।
नेपालको राजनीतिक जगतमा उतारचढापका श्रंखला चल्दैगर्दा सुशासन, भ्रष्टाचार अन्त्य, जवाफदेही राजनीतिक प्रणाली, गणतन्त्रको सुदृढीकरण र सबलीकरणमा आम दर्शक तथा स्रोतालाई सुसूचित बनाउने गरि न्यूज २४ टेलिभिजनले नियमित विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसका साथै टेलिभिजनले सञ्चार माध्यमको भूमिका निर्वाहमात्रै गरेको छैन्, विभिन्न क्षेत्रमा दुख पाएका आम नागरिकका लागि समेत विभिन्न सहजीकरण र राहत उद्दारका लागि राज्यलाई झकझक्याउने काम गरि नै रहेको छ । तर, मुलुकको राजनीतिक प्रणालीमाथिका प्रश्न पछिल्लो समय जब्बर बन्दै गएका छन् ।
जेनजी आन्दोलन र सरकार
जेनजी आन्दोलनपछि सम्पन्न निर्वाचनले नेपालको संसदीय इतिहासमै एक बलियो शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवसर दिएको छ । निर्वाचन प्रणालीका कारण बहुमत आउदैन भन्ने राजनीतिक भाष्यलाई गलत सावित गरिदिएको निर्वाचनले रास्वपा नेतृत्वको सरकारलाई सुशासन कायम गरेर देखाउने अवसरका साथै समृद्ध नेपाल निर्माणको स्पष्ट खाकाको प्रारुप समेत दिएको छ । तर, सरकार निर्माणभएदेखि नै सिर्जित विवादमा पनि न्यूज २४ टेलिभिजनले आफ्नो भूमिकामा किन्चित मनशाय नराख्ने प्रतिबद्धता दोहो¥याइरहेको छ ।
सरकारका कामको पहरेदारी र चौथो अंको भूमिकामा आफूलाई अविरल राख्दै आएको टेलिभिजनका विभिन्न सामाजिक सञ्जालका माध्यमबाट समेत पहरेदारी, खवरदारी र सरकारलाई प्रश्न गरिरहेको छ। जेनजी आन्दोलनपछि बनेको सरकारलाई पनि प्रश्नभन्दा बाहिर राख्न हुन्न भन्ने मान्यताका साथ टेलिभिजनले सरकारका राम्रा कामको समर्थन र खराब कामको विरोध गरिरहेको छ।
थपिएको जिम्मेवारीमा जनताका आवाज
जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक परिस्थिति पनि फेरिन पुगेको छ । यस्तो स्थितिमा न्यूज २४ टेलिभिजनले आफ्नो जिम्मेवारीलाई थप लोकतान्त्रिक बनाउने र जनताका आवाजलाई स्पष्ट स्थान दिने प्रतिबद्धता समेत गर्दै आएको छ।
दुखी, पीडित र सर्वसाधारणको सञ्चार माध्यम बन्न सफल यस टेलिभिजनले विभिन्न कार्यक्रममार्फत जनताका अधिकार, पीडा, गणतन्त्रिक अधिकारको जानकारी, संवैधानिक सर्वोच्चता जस्ता विषयमा वकालत गरिरहेको छ । टेलिभिजनले सञ्चारले निर्वाह गर्नुपर्ने धर्ममा आफ्नो पेशागत उत्तरदायित्वलाई बहन गर्दै अघि बढ्ने प्रण समेत सार्वजनिक रुपमै गर्ने गरेको छ ।
संविधान र गणतन्त्रको पक्षमा निरन्तर आवाज
न्यूज २४ टेलिभिजनले मुलुकको संविधान, गणतन्त्र र राजनीतिक प्रणालीलाई सधै बलियो पार्ने गरि सूचना संप्रेषण गरिरहेको छ । मुलुकप्रति जवाफदेही पत्रकारिताको पक्षमा टेलिभिजनले निरन्तर आवाज मात्रै उठाएको छैन्, यी सबै घटनाको साक्षी समेत बनेको छ । टेलिभिजनले पारदर्शीता, नेतृत्वको जवाफदेहीता सुशासन, भ्रष्टाचार अन्त्य र सामूदायिक साझेदारीमा सरकार सञ्चालनको पक्षमा निरन्तर आवाज उठाइरहेको छ भने पीर मर्कामा परेका आम नेपालीलाई समेत केन्द्रमा राखेर जनतामैत्री सूचना संप्रेषणको नेतृत्व गरिरहेको छ ।
यस्तो स्थितिमा टेलिभिजनले देखाएको अग्रसरता र जवाफदेहीताको फलस्वरुप आम सर्वसाधारणको अगाध विश्वास र विश्वसनीय माध्यम बन्नु चुनौतिपूर्ण काम भएको आम नेपालीको समर्थनले टेलिभिजन संविधान, गणतन्त्र र समग्र प्रणालीप्रति प्रतिबद्ध रहदै जागरुक समाज निर्माणमा टेवा पु¥याउने बाटो तय गर्नेछ ।
