काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७७ वर्ष पूरा भई ७८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्ट नेताहरूले आन्दोलनको गम्भीर समीक्षा गर्दै पुनर्गठनको संकल्प गरेका छन्। कार्यक्रममा नेताहरूले २००६ सालदेखिको इतिहास, टुटफुट, एकता र हालैको निर्वाचनमा व्यहोरेको पराजयबारे खुला छलफल गरेका छन्। विशेषगरी २०८२ सालको निर्वाचनमा कम्युनिष्ट शक्तिहरूले ठूलो धक्का व्यहोर्नुपरेको तथ्यलाई स्वीकार गर्दै अबको बाटो चुनौतीपूर्ण रहेको उनीहरूको निष्कर्ष छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीहरूको वस्तुवादी समीक्षा गर्दै ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने र नयाँ सिराबाट पार्टी पुनर्गठन गर्ने योजना सुनाए। उनले नयाँ शक्तिहरूको जनमतलाई सम्मान गरे पनि उनीहरू जुन संविधानबाट आएका हुन्, त्यो जनयुद्ध र जनआन्दोलनकै जगमा बनेको बिर्सन नहुने बताए । प्रचण्डले भने, “हामीले जहाँ कमजोरी भयो त्यसको वस्तुवादी समीक्षा गर्नै पर्दछ। जनताले हामीलाई घृणा गरेको होइन, सबक सिकाएको हो।”
सह–संयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा रहेको बताउँदै मोतीदेवीलाई पनि पार्टीको संस्थापक मान्नुपर्ने धारणा राखे। उनले रुस र चीनको उदाहरण दिँदै पराजयलाई विजयमा बदल्न धुलो टक्टक्याएर उठ्नुपर्नेमा जोड दिए। वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले भने, “मर्निङ शोज द डे भनिन्छ, तर सरकारको लक्षण राम्रो देखिँदैन, जनतामा सन्तुष्टि छैन।” उनले पार्टीभित्रको व्यक्तिवाद र स्वार्थ त्यागेर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे।
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त नगरी समाजवाद सम्भव नहुने तर्क गरे। उनले दुई तिहाइ जनमत कम्युनिष्टको पक्षमा भए पनि आन्तरिक विचलनले धक्का खाएको बताए।
अर्का उपाध्यक्ष विष्णु पौडेलले २०८२ को चुनावी परिणामलाई इतिहासकै ठूलो धक्काको रूपमा लिँदै भने, “एमालेको भविष्य सकियो भनेर चिताउनेहरूको कामना व्यर्थ हुनेछ, हामी धुलो टक्टक्याएर उठ्छौँ र व्यवहारबाटै एमाले शक्तिशाली छ भन्ने प्रमाणित गर्नेछौँ।” उनले सरकारलाई प्रतिशोधको राजनीति नगर्न समेत चेतावनी दिए।
महासचिव शंकर पोखरेलले एमाले अब सत्तामुखी मानसिकताबाट मुक्त भएर जनतातिर फर्कनुपर्नेमा जोड दिए। युवा पंक्ति, सहरी मध्यम वर्ग र भूमिहीन सुकुम्बासीहरू पार्टीबाट टाढिएको स्वीकार गर्दै उनले पार्टी र जनताबीचको संवादमा खाडल देखिएको औंल्याए। नयाँ शक्तिहरूलाई 'लोकप्रियतावाद र अवसरवाद' को संज्ञा दिँदै पोखरेलले भनने, “हामीले विकास र देशभक्तिका ठूला कुरा गर्यौँ, तर जनताको दैनिक जीवनका अभाव र शिक्षा–स्वास्थ्यको असमानतालाई गहिरो गरी बुझ्न सकेनौँ।”
समग्रमा, कार्यक्रममा सबै नेताहरूले कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने र वैचारिक स्पष्टताका साथ जनतामा जाने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचनको धक्काले उनीहरूलाई आत्मसमीक्षा गर्न बाध्य पारेको र आगामी असोजभित्र गरिने महाधिवेशन तथा सङ्गठनात्मक सुदृढीकरणले कम्युनिष्ट आन्दोलनको भविष्य तय गर्ने देखिन्छ।
