News 24 Television
एकपछि अर्को गर्दै अपराध आरोपमा हाइप्रोफाइल, सरकार कारबाही गर्नै पर्ने बाध्यतातर्फ !

काठमाडौं । सरकारले हाइप्रोफाइलमाथिको अनुसन्धानलाई प्रभावकारी बनाउला ? विभिन्न प्रकरणमा जोडिने गरेका नाम र व्यापारीको आवरणमा सरकारलाई नै अघोषित कब्जामा लिने प्रचलनविरुद्ध कडा कदम चाल्न सकिएला ? तमाम प्रश्नहरु उठिरहेका छन्। विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ परेपछि धेरै व्यापारिक घरानाहरु यसमा धमाधम मुछिन पुगेका छन्। यसले नेपालको राज्य सत्ताको चरित्रमाथि गम्भीर प्रश्न उठाएको देखिन्छ । 

पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराई वा झलनाथ खनाल नै किन नहुन कुनै न कुनै प्रकरणमा जोडिएकै छन्। यी नाममा अलिक धेरै समय खेलोफड्को गरेका देउवा, ओली र प्रचण्डमाथिका आरोप बग्रेल्ती देखिन्छन भने माधव नेपालले भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका छन् । 

माधवविरुद्ध पतञ्जली जग्गा प्रकरणको मुद्दा चलिरहेको छ भने यसरी नै जग्गाको हदबन्दीको मान स्थापना गर्न गिरिबन्धु टि–स्टेटमाथि कानून नै निर्माण गरेका ओली पनि अछुतो रहन सकेनन् । यता, प्रचण्डमाथि पनि लडाकु शिविर प्रकरणदेखि अनेक प्रकरणमा जोड्ने गरिन्छ । 
भने झलनाथ खनालमाथि आफ्नै नामको प्रतिष्ठान र सर्प पालन गर्ने कुरा विवादमा चुलीमा रहिरहने गरेको देखिन्छ, किन कार्यकारी भूमिकामा रहेकाहरु यसरी बद्नामित बन्न पुगे ? किन कार्यकारी भूमिकामा पुगेकाहरुसंग विवादास्पद व्यापारी दीपक भट्टले नजिकको सम्बन्ध स्थापना गर्न सफल भए ? यो खोजिको विषय बन् पुगेको देखिन्छ । तर, भट्ट यी पुराना नेतामाथि मात्रै नभई २६ दिनमै गृहमन्त्रीबाट राजीनामा दिन पुगेका सुधन गुरुङका पनि साझेदार देखिए । यसले नेपालको राज्य सत्तामा यस्ता खाले व्यापारीले कब्जा नै जमाएको देखिन्छ ।

भट्ट पक्राउ परेपछि चर्चित र कहलिएका व्यापारिक घरानाका सम्मानित व्यक्तिहरु पनि विवादमा तानिन थालेका छन्, जसमा छन– शेखर गोल्छा । नेपालको व्यापारिक घरानामा गोल्छा ग्रुप इमान्दार भनेर चिनिने गथ्र्यो । तर, भट्टसंग नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत बनिसकेका शेखर गोल्छाको शंकास्पद कारोबार देखिएपछि प्रश्नहरु उठेका छन्। तर, यसको छानविन र निष्कर्ष भने आउन बाँकी नै छ । 

सत्ता सम्भावितमाथि व्यापारिक लगानी

गएको निर्वाचनमा पनि प्रधानमन्त्री वालेन्द्र शाहलाई करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीले आफ्नो महंगो सवारी उपलब्ध गराए। प्रधानमन्त्री बालेन्द्रले एक चुनावी सभालाई सम्बोधनको क्रममा देशका उद्योग धन्दा चल्नुपर्ने भन्दै कांग्रेसको वाईवाई भन्दै विनोद चौधरीमाथि क्रोध पोखिदिए । त्यसपछि मालपानीको करेन्टमाथि पनि अनेक चर्चा चले। विरोध धेरै नै हुन थालेपछि शाहले सवारी नै फिर्ता गर्ने स्थिति बन्यो । यसरी नै व्यापारीहरुले सत्तामा माथिल्लो तहमा पुग्ने सम्भावना बोकेकाहरुमाथिको लगानीलाई सकेसम्म साझेदारीमा नै ल्याउने प्रयास गर्ने गरेको देखिन्छ । 

नभए उनीहरुको अवैध आर्जनलाई वैध बनाइदिने गरि आफ्नो वा नातेदारको नाममा लगानी गरिदिने गर्न समेत पछि नपर्ने स्थिति देखिन्छ। यसले राजनीतिक नेतृत्वसंग विवादास्पद साझेदारी र सम्पत्ति आर्जनको सहज बाटोका कारण पनि राज्य संचरनामाथिका अनेक छेडखानीहरु चलिरहेका छन् । 

दीपक भट्टको पक्राउपछि हल्लियो राज्य संरचना

विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले पद नै गुमाउन पुगे । भट्टसंगको कनेक्सन चर्चितदेखि विभिन्न व्यापारिक घरानासंग जोडिन पुगेको छ भने पत्रकारिता गर्ने केहि व्यक्तिहरु पनि जोडिएको भन्दै चर्चा चलिरहेको छ। विभिन्न नामका पत्रकारमाथि यस्तो आरोप लाग्दै गर्दा सरकारले छानविन, अनुसन्धान कसरी गर्छ भन्ने विषय पनि चासोमा देखिन्छ। तर, वालेन्द्र शाह नेतृत्वको सरकार आएपछि यस्ता विषयहरु धमाधम सार्वजनिक हुन भने थालेका छन्। कारणमा देखिएका छन, उनै व्यापारी भट्ट ।

यसअघि सबैसंग चाँजो मिलाउने गरेका भट्ट पक्राउको आधार भने पूर्वअर्थमन्त्री रामेश्वर खनालले निर्माण गरिदिएको चर्चा हुने गरेको छ । उनले अनुसन्धानका सबै आधारहरुमा धेरै अघि बढाएका विषयलाई वालेन्द्रले पनि निसन्देह अघि बढ्न दिएपछि यस्ता विषयहरु धमाधम सार्वजनिक हुन थालेका छन्। यता, शक्तिशाली भनिएकाहरु पक्राउ पर्दा सूचना चुहावट गर्नका निम्ति उनीहरुकै संयन्त्र भने सक्रिय देखिन्छ । यसैको पछिल्लो कडीको रुपमा एनसेलको प्रतिवेदन बन्न पुगेको छ ।

विभिन्न समयमा भएका छानविनका प्रतिवेदनहरु सार्वजनिक नगरिने प्रचलनमा सञ्चार माध्यमहरुले धमाधम सार्वजनिक गर्न थालेपछि सरकारलाई पनि अनुसन्धान गर्नैपर्ने बाध्यता देखिन थालेको छ । यसले हाइप्रोफाइल कनेक्सन र उनीहरुको कर्मको उजागर होला? यो चासोमा देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update