काठमाडौं । नेपालको औद्योगिक जगतमा गोल्छा एउटा नाम मात्र होइन, एउटा ब्रान्ड पनि हो । तर, पछिल्लो समय बाहिरिएका तथ्यहरूले यो प्रतिष्ठित घरानाको साखमा गहिरो धक्का लागेको छ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छा, बजारमा आफ्नो शालीन छविका रुपमा चिनिन्थे, कुख्यात बिचौलिया दीपक भट्टसँगको अदृश्य सेटिङ र धितोपत्र बजारमा भएको अर्बौँको चलखेलको मुख्य नाइकेका रूपमा देखा परेका गोल्छा अन्ततः प्रहरीको कठघरामा पुगेका छन् ।
नेपाली औद्योगिक क्षेत्रको प्रतिष्ठित नाम हो–गोल्छा अर्गनाइजेसन । शेखर गोल्छा ‘गोल्छा अर्गनाइजेशन’ का अध्यक्ष छन् । उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष समेत भइसकेका गोल्छाको छवि बजारमा जति सभ्य र सालिन थियो, पर्दाभित्रको खेल भने उति नै धमिलो रहेको तथ्य बाहिरिएको छ ।
कुख्यात बिचौलिया दीपक भट्टसँगको अवैध वित्तीय सम्बन्ध र धितोपत्र बजारमा भएको म्युचुअल सेटिङले अन्ततः गोल्छाको साख मात्र गिराएको छैन,उनलाई सम्पत्ति शुद्धीकरणको कठघरामा उभ्याउने देखिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका बिचौलिया भट्टको नेटवर्क यति गहिरो छ ।
नेपालको पुँजी बजार लामो समयदेखि अदृश्य हातको बहसमा अल्झिँदै आएको थियो।तर, नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनले त्यो अदृश्यता हटाउँदै एउटा ठोस नामलाई केन्द्रमा ल्याइदिएको छ—शेखर गोल्छा ।
प्रतिवेदनले उनलाई केवल एक उद्योगी होइन,संगठित सेयर चलखेलको संरचनामा मुख्य सहजकर्ता र लाभार्थीका रूपमा चित्रित गरेको छ।करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको कथित गैरकानूनी कारोबारसँग जोडिएको यो प्रकरणले नेपालको वित्तीय प्रणालीभित्रको संस्थागत कमजोरी,नियामक चुनौती र व्यावसायिक नैतिकताको प्रश्नलाई एकैपटक सतहमा ल्याएको छ।यस प्रकरणको सबैभन्दा गम्भीर पाटो भनेको संस्थागत कोषको प्रयोग हो ।
गोल्छा अध्यक्ष रहेका बेला हिमालयन रिइन्स्योरेन्सले करिब २ अर्ब ७३ करोड रुपैयाँ आफ्नो सहायक कम्पनीमार्फत बजारमा लगानी गर्ने निर्णय गरेको थियो । प्रतिवेदनअनुसार,यही रकमको ठूलो हिस्सा ब्रोकरमार्फत सेयर मूल्य कृत्रिम रूपमा बढाउन प्रयोग भयो ।
संस्थागत कोषको मोड परिवर्तन
अनुसन्धान अनुसार हिमालयन रिइन्स्योरेन्सबाट करिब २ अर्ब ७३ करोड रुपैयाँ सहायक कम्पनी हिमालयन सेक्युरिटिज मार्फत बजारमा प्रवेश गराइएको थियो। तर त्यो लगानी सामान्य पोर्टफोलियो व्यवस्थापनका लागि होइन,योजनाबद्ध रूपमा सेयर मूल्य प्रभावित पार्न प्रयोग भएको दाबी गरिएको छ । तर सर्वसाधारणको प्रिमियमबाट बनेको कोष कसरी निजी लाभको औजार बन्न पुग्यो ? यो रकम ब्रोकर नम्बर ५५ मार्फत प्रयोग भएको देखिन्छ,जहाँ कर्नरिंग र आर्टिफिसियल डिमाण्ड सिर्जना गर्ने रणनीति अपनाइएको थियो ।
विशेषगरी नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य १४ सय ६१ रुपैयाँबाट १८ सय ८६ रुपैयाँसम्म पु¥याइनु आकस्मिक बजार प्रतिक्रिया नभई योजनाबद्ध हस्तक्षेपको संकेतका रूपमा व्याख्या गरिएको छ ।
नेक्ससको संरचनाः भट्ट–अग्रवाल–गोल्छा
प्रतिवेदनले यो प्रकरणलाई एकल व्यक्तिको गतिविधि नभई कार्टेलको रूपमा व्याख्या गरेको छ।यसमा व्यवसायी दीपक भट्ट र शंकर ग्रुपसँग सम्बन्धित सुलभ अग्रवाल सँगको सहकार्य उल्लेख छ।यो समूहले अपनाएको मोडेल स्पष्ट छ ।
१. अग्रिम भुक्तानीबिना ठूलो परिमाणमा सेयर खरिद (क्रेडिट–बेस्ड ट्रेडिङ)
२. आफ्नै प्रभाव रहेका कम्पनीहरूबीच सर्कुलर ट्रेडिङ
३. कृत्रिम माग सिर्जना गरेर मूल्य उचाल्ने
यसरी बजारमा वास्तविक आपूर्ति–मागभन्दा बाहिरको भ्रम सिर्जना गरियो,जसले सामान्य लगानीकर्तालाई जोखिममा पा¥यो।
बैंकिङ ट्रेलःपैसा कहाँबाट कहाँ ?
अनुसन्धानको सबैभन्दा संवेदनशील पाटो भनेको प्रत्यक्ष वित्तीय लेनदेन हो।प्रतिवेदन अनुसार गोल्छाको व्यक्तिगत खाताबाट दीपक भट्टको खातामा ५ करोडदेखि १५ करोड रुपैयाँसम्म स्थानान्तरण भएको देखिन्छ। यस्तो कारोबारले ‘फ्रन्ट म्यान’ प्रयोग गरिएको आशंका बलियो बनाएको छ। यदि यी लेनदेन वैध थिए भने तिनको उद्देश्य के थियो? र यदि अवैध थिए भने, यो केवल सेयर चलखेल होइन, सम्भावित सम्पत्ति शुद्धीकरणको मुद्दा पनि बन्न सक्छ ।
प्रविधिको फुटप्रिन्टः एउटै आईपी, धेरै कम्पनी
धितोपत्र बोर्डको प्राविधिक विश्लेषणले अर्को तथ्य देखाएको छ कि गोल्छा, भट्ट र अग्रवालसँग जोडिएका विभिन्न कम्पनीहरूको टीएमएस कारोबार एउटै आईपी एड्रेसबाट भएको छ।यसले बजारमा फरक–फरक संस्थाका रूपमा देखिएका खेलाडीहरू वास्तवमा एउटै नियन्त्रणमा रहेको देखाएको छ। यो केवल नियम उल्लंघन होइन,बजारको संरचनात्मक दुरुपयोग हो ।जहाँ प्रतिस्पर्धा देखाइन्छ,तर नियन्त्रण एउटै केन्द्रमा हुन्छ ।
बीमा क्षेत्रको पैसाः जोखिममा सर्वसाधारण
यो प्रकरणको अर्को गहिरो पाटो बीमा कम्पनीहरूको रकम दुरुपयोग हो।नेपाल माइक्रो इन्स्योरेन्स लगायत संस्थाबाट करोडौँ रकम निकालिएको,ऋणपत्र कारोबारमा मूल्य हेरफेर गरिएको, र विभिन्न फण्डहरू परिचालन गरिएको तथ्यले देखाउँछ कि यो खेल केवल सेयर बजारमा सीमित थिएन, पूरै वित्तीय इकोसिस्टममा फैलिएको थियो ।
कानुनी घेराबन्दी र आगामी बाटो
धितोपत्र बोर्डले यो प्रकरणलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत गम्भीर अपराध मानेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विहीबार गोल्छालाई पक्राउ गरेको छ । जब सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि अनुसन्धान थाल्यो,तब गोल्छाको साम्राज्यमा कम्पन सुरु भयो।आफू पनि पक्राउ पर्ने डरले नै गोल्छाले फागुन २५ गते हिमालयन रि–इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका छन । तर, राजीनामाले मात्रै उनी मुक्त हुने देखिदैन । कम्पनीकी सिईओ उपासना पौडेल पनि सम्पर्कविहीन छिन् ।
यसले पनि यो प्रकरणमा कति ठूलो आर्थिक झेल छ भन्ने प्रस्ट पार्छ ।पौडेलमाथि कम्पनीको रकम व्यक्तिगत खातामा ट्रान्सफर गरी सम्पत्ति शुद्धीकरणमा सघाएको गम्भीर आरोप छ । गोल्छाले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै आएका छन् । तर, नियामक निकायले प्रस्तुत गरेका तथ्यहरूले यो प्रकरणलाई सामान्य विवादभन्दा धेरै गम्भीर बनाएको छ ।
राजनीतिक पहुँच र व्यावसायिक ओहोदाको आडमा वर्षौँदेखि चल्दै आएको सेटिङको व्यवसाय अहिले धरापमा परेको छ।प्रतिष्ठित व्यवसायीहरू नै बिचौलियाका मतियार बनेर शेयर बजारमा कृत्रिम मूल्य वृद्धि गर्ने र संस्थागत कोषको दोहन गर्ने कार्यले नेपालको वित्तीय प्रणालीमाथि नै प्रश्न उठाएको छ ।
