News 24 Television
गगन–विश्व टकराव, कांग्रेस अलमलमा ! चुनाव कि सहमति ?

काठमाडौं । झण्डै दुईतिहाइको जितपछि रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार तीव्र गतिमा अघि बढिरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने संसदीय दलको नेता चयनमै अलमलिएको छ । 

गगन थापा र विश्व शर्माबीचको टकरावले दलको नेता चुन्न निर्धारित निर्वाचन समेत स्थगित भएको छ । संसदीय दलको नेताका लागि कांग्रेसभित्र  तीन दाबेदारबीच प्रतिस्पर्धा चर्किएको छ भने सहमतिबाट समाधान खोज्ने प्रयास पनि भइरहेको छ । तर देउवा समूह निर्वाचनकै पक्षमा देखिँदा अन्योल गहिरिँदै गएको छ । 

झण्डै दुई तिहाइको जितसँगै रास्वपाले सरकार गठन गरिसकेको छ । सरकार गठनसँगै विभिन्न योजनासहित सरकारले तिव्रता दिइरहेको छ । तर प्रमुख प्रतिपक्षीको रुपमा रहेको नेपाली कांग्रेसभित्र भने गज्जवको अलमल चलिरहेको छ । 

देउवा पक्षका नेताहरुसँग तनावको स्थिति रहेको कांग्रेसले निर्वाचन सकिएको दुई महिना हुँदै लाग्दा पनि संसदीय दलको नेता चुन्न सकिरहेको छैन । यस्तो हुँदा विद्रोह गर्दै पार्टी कब्जा गरेका गगन थापामाथि गम्भिर समेत प्रश्न उठेको छ । उनको क्षमता र सभापतिको भूमिकाको आलोचना समेत शुरु भएको छ । 

संसदीय दलको नेता समेत छान्न नसक्नुले कांग्रेस २.० को नारा लगाउने गगनलाई गिज्जाउने विषय बनेको छ । संसदीय दलको नेता चयनमा भइरहेको विलम्बले शुक्रवार छुट्कारा पाउने अनुमान गरिएको थियो । तर कांग्रेसले प्रतिनिधिसभाको संसदीय दलको नेता चयन प्रक्रिया शुक्रवार समेत स्थगित गरेको छ । 

निर्वाचन तालिका प्रकाशित भइसकेको अवस्थामा पनि पार्टीले निर्वाचन स्थगित गरेको हो । अब फेरि निर्वाचन हुन्छ वा सहमतिबाटै संसदीय दलको नेता चुनिन्छन्,, त्यो समेत अनिश्चित बनेको छ ।

गगन–विश्व टकराव !

कांग्रेसले शुरुमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभाखुम नहुँदासम्म अध्यक्षता गर्नु पर्ने भएको भन्दै संसदीय दलको नेता चुन्न नसकेको बहाना बनाएको थियो । यद्यपी यसको मुख्य कारण भने यही थिएन । दलको नेता चयन गर्नमा सभापति थापा र उपसभापति शर्माको फरकफरक मत रहेको छ । कांग्रेसका धेरै मुद्दा र विषयहरुमा  दाजुभाईजस्तै मिल्दै आएका थापा र शर्मा यो विषयमा भने ३६ को आँकडामा देखिएका छन् । 

कांग्रेसको संसदीय दलको नेतामा तीन जनाले रुची देखाएका छन् । समानुपातिक सांसद अर्जुननरसिंह केसी, रसुवाबाट निर्वाचित मोहन आचार्य र समानुपातिक सांसद भिष्मराज आङदेम्बे मुख्य दाबेदार हुन् । ज्येष्ठ सांसद भएका कारण दलको नेतामा आफ्नो स्वभाविक हक रहेको केसी दाबी गर्छन् । केसी गगनका ससुरा हुन् । त्यसैले आलोचना होला भन्ने डरले आफ्नै ससुरा केसीलाई गगनले दलको नेता बनाउन चाहेका छैनन् । 

बिहिवार राति भएको एक भेलामा गगनले केसीलाई समर्थन नगर्ने बताइसकेका छन् । तर थापा र शर्मा बाहेकका पदाधिकारी भने केसीको पक्षमा छन् । गगन प्रत्यक्ष निर्वाचित सांसद आचार्यलाई दलको नेता बनाउन चाहन्छन् । तर उपसभापति शर्मा गगनको रोजाईमा सहमत छैनन् । 

उनी आफ्नै गृहजिल्लाका सांसद आङदेम्बेलाई दलको नेता बनाउन चाहन्छन्, जुन कुरामा सभापति गगन सहमत छैनन् । आङदेम्बे नियमित महाधिवेशन पक्षधर भएका कारण उनी देउवा पक्षको निकटका नेता समेत मानिन्छन् । यही कारण पनि आङदेम्बेप्रति सभापति गगन सकरात्मक बन्न नसकेका हुन् । त्यसैले शुक्रवार निश्चित भइसकेको निर्वाचन समेत यही त्रिपक्षीय टकरावका कारण रोकिएको हो । 

सहमतिबाटै नेता छान्ने प्रयास !

निर्वाचन स्थगित भएपछि सकेसम्म कांग्रेसले सहमतिबाटै संसदीय दलको नेता टुंग्याउन सक्छ । दलको नेता सहित कांग्रेसले उपनेता, प्रमुख सचेतक र सचेतकसमेत चयन गरेको छैन । यी पदहरुमा पनि सहमतिबाटै टुंग्याउने प्रयास कांग्रेसको छ । तर यदी संसदीय दलको नेताको निर्वाचन भइहाले सभापति गगनको उम्मेदवार मोहन आचार्य, उपसभापति शर्माको उम्मेदवार भिष्मराज आङदेम्बे र स्वतन्त्र उम्मेदवारका रुपमा अर्जुननरसिंह केसी प्रतिष्पर्धामा उत्रिन सक्नेछन् । तर विशेष महाधिवेशनको विपक्षमा रहेको देउवा पक्षको मत निर्णायक देखिन्छ र यो पक्ष सहमति भन्दापनि निर्वाचनबाटै दलको नेता चयन गरियोस् भन्ने चाहन्छ ।

त्यसैले सहमतिको जति प्रयास गरेपनि अन्त्यमा संसदीय दलको नेता छान्न कांग्रेस निर्वाचनमै जाने सम्भावना धेरै छ । प्रतिनिधिसभामा प्रत्यक्ष १८ र समानुपातिक २० गरी कांग्रेसका ३८ सांसद छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update