रुपन्देही । बुटवलमा सरकारी जग्गा संरक्षण गर्ने नाममा नगरपालिकाले विना पूर्वतयारी डोजर चलाएको छ । राति सूचना जारी गरेको १३ घण्टा नबित्दै डोजर चलेपछि सुकुम्बासी बस्तीका ९ वटा घरधुरी विस्थापित भएका छन् । सामान निकाल्न समेत समय नदिई नगरपालिकाले निरंकुश शैली अपनाएको भन्दै नागरिक अगुवाहरूले समेत यसको आलोचना गरेका छन्।
यो दृश्य बुटवल उपमहानगरपालिकाको हो । शनिबार राति अबेर बस्तीमा माइकिङ भयो— जग्गा खाली गर्नु । तर कति समयभित्र ? कुनै निश्चित अवधि तोकिएको थिएन । आइतबार बिहान ८ः३० नबज्दै प्रहरीको ठूलो लावालस्करसहित डोजर बस्तीमा पस्यो । ३० वर्षदेखि बस्दै आएका स्थानीयले सामान निकाल्न केही घण्टाको समय माग्दा पनि उपमहानगर प्रशासनको मन पग्लिएन ।
२०५१ सालमा ‘ब्लड मनी’ स्वरूप पाएको जग्गामा बसेका भक्तराज मात्र होइन, २९ वर्षदेखि त्यहीँ बसोबास गरिरहेका तुल्सीराम रिजालको पनि उस्तै पीडा छ ।
उपमहानगरले वर्षौँसम्म बिजुली र खानेपानीको सुविधा दियो, तर अहिले अपराधीलाई जस्तो व्यवहार गर्दै उठिवास लगाएको उनीहरूको आरोप छ । राज्यको जग्गा संरक्षण गर्ने कदमलाई कसैले गलत भनेका छैनन् । तर, हटाउने प्रक्रिया र शैलीप्रति भने धेरैले कडा आपत्ति जनाएका छन् । आफ्नै नागरिकमाथि देखाएको यो तानाशाही’ शैलीले स्थानीय सरकारको अभिभावकीय भूमिकामाथि नै प्रश्न उठाएको स्थानीयको भनाइ छ ।
तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाएका ९ वटा घर टहरा आइतबार बिहान बुटवल उपमहानगरले डोजर लगाएर खाली गरेको छ । तर उक्त कित्तामा बनेका सरकारी र निजी संघसंस्थाका संरचना के गर्ने भन्ने बारे भने उपमहानगर मौन छ ।
संघीय सरकारले काठमाडौंका सुकुम्बासी वस्ती खाली गराउन शुरु गरेपछि स्थानीय सरकारहरु पनि अतिक्रमित सरकारी जग्गा संरक्षण गर्न थालेका हुन् ।
उक्त सरकारी जग्गामा बसेको वस्ती हटाउन २०७० सालमै स्थानीय दैनिक पत्रिकामा सूचना जारी गरिएको थियो । तर २०७४ र २०७९ को स्थानीय तह निर्वाचनबाट आएको नेतृत्वले भने लामो समयसम्म अतिक्रमित जग्गा खाली गराउन कुनै चासो दिएको थिएन ।
सरकारी जग्गा संरक्षण गर्नु नगरपालिकाको दायित्व हो, तर त्यो दायित्व पूरा गर्दा मानवीय संवेदनालाई कुल्चिनु कत्तिको न्यायोचित छ ? १३ घण्टाको अल्टिमेटममा डोजर चलाएर जनतालाई घरबारविहीन बनाउने यो शैलीले सुशासनको उपहास मात्र गरेको छैन, बुटवलबासीमा त्रास समेत सिर्जना गरेको छ ।
