News 24 Television
सहकारी स्थापनाः कृषकलाई ऋण र बजारीकरणमा हाइसञ्चो

म्याग्दी । म्याग्दीको पश्चिम मालिका गाउँपालिका ६ दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको स्थापना भएसँगै पश्चिम भेकमा स्थानीय कृषकहरू व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । वि.सं. २०७६ मा सहकारी स्थापना भएसँगै उत्पादन र बजारीकरणमा सहकारीले सहजीकरण थालिदिँदा कृषकलाई आफ्नो उत्पादनले बजार पाउनेमा ढुक्क भएसँगै आफ्नो व्यवसायलाई थप मजबुत बनाउन थालेका छन् । 

मालिका गाउँपालिका–६ ढाँडखर्कका धनबहादुर पौडेलले सहकारीबाट ऋण लिएर ३ वटा टनेल निर्माण गरी तरकारी खेती गरिरहेका छन् । उनले टनेलभित्र गोलभेडा र साग तथा टनेल भन्दा बाहिर बन्दा, काउली, लसुन र प्याज उत्पादन गर्दै आएका छन् । उनको परिवारले करिब ५ रोपनी क्षेत्रफलमा १० वर्षदेखि तरकारी खेती गर्दै आएको छ । 

ढाँडखर्क क्षेत्रमै पछिल्लो १० वर्षदेखि तरकारी खेती थालेका ती कृषकले दरवाङमा कृषि सहकारी स्थापना भएपछि सहकारीबाट ऋण लिएर व्यवसायीक तरकारी खेती गर्नका लागि टनेल विस्तार गरेका हुन् । अहिले तरकारी बिक्रीबाट आएको आम्दानीले सहकारीमा तिर्नु पर्ने ऋणको साँवा–ब्याज तिर्नुका साथै घरखर्च धान्न सहयोग पुगेको छ ।

दरवाङ क्षेत्रमा उत्पादन गरेको चाउमिनले म्याग्दीको पश्चिम भेकको ग्रामिण बस्तीसम्म आफ्नो उपस्थिति देखाएको छ । दरवाङमा उत्पादीत चाउमिन सिजनमा एक सय केजी सम्मविक्री हुने भए पनि अहिले अलिक अफ सिजन भएको हुँदा उत्पादन आधा गिरावट आएको छ । स्थानीय स्तरमै उत्पादन हुने भएकाले गुणस्तरीय र ताजा हुने हुँदा पनि स्थानीयकै प्रयासमा उत्पादित चाउमिनको माग उच्च रहने गरेको छ ।

मालिका गाउँपालिका–६ लामेलाका चित्रबहादुर विश्वकर्माले पनि सहकारीकै ऋणबाट तरकारी तथा फलफूल खेती गर्दै आएका छन् । सानैदेखि कृषि कर्ममै लागेर उमेरले ७१ वर्ष पुगेका बिश्वकर्माको बारीमा सुन्तला, केरा, आँप र कागती जस्ता फलफूलका बिरुवा छन् भने एउटा टनेलमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ । 

त्यस्तै भैसी तथा बाख्रा पनि आफ्नो जीवनस्तर उकास्ने मार्गका रुपमा रहेको छ । ९ सदस्यीय परिवारमध्ये २ जना रोजगारीका सिलसिलामा बाहिर रहेपनि बाँकी सदस्यहरू कृषि कार्यमै सक्रिय छन् । आफ्नोमा उत्पादीत फलफुल तथा तरकारी सबै दरवाङमा बिक्री हुने गरेको छ ।

आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था कृषकलाई लक्षित गरी सञ्चालन भइरहेको छ । मुख्य रूपमा कृषकको आवश्यकता अनुसार बचत संकलन र ऋण लगानी गर्ने गरेको छ । 

उत्पादन संकलन र बजारीकरणलाई प्राथमिकता दिने गरी सञ्चालनमा रहेको छ  स्थानीय कोदोको चाउमिन उत्पादन थालेको सहकारीले त्यसको माग कम भएपछि मैदाको चाउमिनलाई नै प्राथमिकता दिएर उत्पादन गर्दै आएको छ । चाउमिनको मुख्य बजार पश्चिम म्याग्दीका मंगला गाउँपालिका, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिका रहेको छ ।

२०७६ माघ १६ गते स्थापना भएको सहकारीमा हाल ५ सय ३७ जना शेयर सदस्य आबद्ध रहेका छन् । सहकारीले हालसम्म ३९ लाख ३५ हजार ८ सय ५० रुपैयाँ बचत संकलन गरेको छ । 

सहकारीले हाल सम्म १ करोड ७६ लाख २१ हजार ४ सय रुपैयाँ ऋण लगानी गरिसकेको छ । साना किसान बैंक तथा सानाकिसान लघुबित्तबाट सस्तो ब्याजदरमा ऋण ल्याएर कृषकलाई लगानी गर्दै आएको सहकारीले कृषि क्षेत्रमा ७ देखि ९ प्रतिशत ब्याजदरमा लगानी गर्छ भने अन्य व्यवसाय सञ्चलनका लागि शेयर सदस्यहरुले ऋण माग गरेको खण्डमा १० प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गरेको छ ।
सहकारीको स्थापना नै कृषि क्षेत्रलाई केन्द्रमा राखेर गरिएको हुनाले शेयर सदस्यहरु पनि अधिकांश कृषि पेशासँग जोडिएका छन् । यस सहकारीमा पनि ऋण माग गर्न आउनेहरु सबैले पाउने भन्दा पनि उनीहरुको आवश्यकता अनुसार मात्रै ऋण लगानी गर्ने गरेको छ । 

कृषिमा आधारित गतिविधि विस्तार गर्दै सहकारीले स्थानीय स्तरमै रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याइरहेको देखिन्छ । 

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा स्थापना भएको आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडले स्थानीय कृषकको जीवनस्तर उकास्दै आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update