काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राजनीतिक रुपमा अपमानित बन्न थालेका छन्। नेपालको गणतन्त्र स्थापनाको बेला शक्तिशालि गृहमन्त्री रहेका सिटौला त्यसपछि राजनीतिक रुपमा उल्लेख्य भूमिकामा रहन सकेनन्। सिटौला राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेताबाट समेत हटेपछि उनको राजनीतिक नियतिबारेका सवालहरु थप पेचिला बनेका छन्।
सुधारिएको कांग्रेस भन्दै नेतृत्व गरिरहेका सभापति गगन थापा पनि राजनीतिक हिसाब मिलानमा देखिएका छन्। प्रतिनिधिसभाको संसदीय दलको नेतामा भिष्मराज आङ्देम्बेलाई निर्वाचित गर्ने सर्तमा गगन थापाले राष्ट्रियसभाबाट सिटौलाको सहज बहिर्गमन गराएका हुन्। तर, सिटौलाले योमात्रै नभई राजनीतिक रुपमा धोका भने राष्ट्रियसभाको सदस्य निर्वाचित भएदेखि नै देख्न थालेका छन्।
तत्कालीन समयमा राष्ट्रियसभाको निर्वाचनमा माओवादी र नेपाली कांग्रेसको गठबन्धन बन्यो। कोशी प्रदेशमा कांग्रेस नेता शेखर कोइरला पक्षले माओवादीमाथि घात ग¥यो । कांग्रेस–माओवादीका सबै उम्मेदवारले निर्वाचन जित्दा माओवादीकी चम्पादेवी कार्की पराजित भइन्। शेखर पक्षले एमालेकी रुक्मिणी कोइरालालाई मत दिएपछि कांग्रेस र तत्कालीन माओवादीको गठबन्धनमा संकट र अविश्वास पैदा भयो। यसरी पाएको धोकाका कारण सिटौलाले राष्ट्रियसभाको अध्यक्ष पद पाउने भन्ने विषय समाप्त बन्यो।
सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनका निम्ति नै चुनावमा लगेको भन्दै शेखर कोइरालाले सार्वजनिक अभिव्यक्ति नै दिए भने सिटौलाले पनि तत्कालीन माओवादीले धोका दिएको भन्दै सार्वनिक रुपमै आक्रोश पोखेका थिए। त्यसपछि राष्ट्रियसभाको अध्यक्षमा तत्कालीन माओवादीका नारायण दाहाल अध्यक्ष निर्वाचित भए।
एमाले, जसपा र तत्कालीन नेकपा एकीकृत समाजवादीले दाहालको पक्षमा मतदान गरे। सिटौलाले हार्ने चुनावको उम्मेदवार नै बन्ने प्रयास गरेनन्। यसरी राष्ट्रियसभाको अध्यक्ष बन्ने चाहनास्वरुप आएका सिटौलाले राजनीतिक धक्का त्यहि व्यहोर्न पुगे।
राजनीतिक रुपमा फेरिएको परिस्थितिमा कांग्रेसको आन्तरिक राजनीति पनि फेरिन पुग्यो । विशेष महाधिवेशनले गगन थापालाई पार्टीको सभापतिमा निर्वाचित ग¥यो। सिटौला जमेर यो विषयको विरोधमा उत्रिए।
सिटौलाले देउवा पक्षमा जनमत निर्माणको काम नै गरे। यसरी अघि बढ्दै गरेका सिटौलालाई दलको नेताबाट हटाउने उपर्युक्त समय कुरिबसेका गगन थापालाई प्रतिनिधिसभा संसदीय दलको नेता चयनमा पुग्दा सहज बन्ने स्थिति भयो। गगनले भिष्मराजलाई विश्वप्रकाशको जोडबलमा दलको नेता चयन गरेपनि आन्तरिक सहमतिमा सिटौलालाई दल नेताबाट हटाउने र आफू पक्षीय कमलादेवी पन्तलाई ल्याउन सफल भएका हुन्।
कांग्रेसमा यसरी चलिरहेको गुटको राजनीतिमा पिल्सिएका सिटौला गणतन्त्र, शान्ति स्थापना जस्ता महत्वपूर्ण समयमा निर्णायक भूमिका निर्वाह गरेपनि त्यसपछि उनको राजनीति सकटपूर्ण देखिन्छ।
पार्टी सत्ताबाट चेपुवामा पर्दै आएका उनी राष्ट्रियसभा अध्यक्ष बन्नबाट शेरखर पक्षबाट लखेटिए भने दल नेताको ताज देउवा पक्षको खुंखार नेता बन्दा पाखा लाग्ने स्थिति बन्न पुग्यो। यद्यपी संसदीय दलको नेता चयनदेखि अन्य विषय सम्बन्धित दलको आन्तरिक विषय भएपनि कुनैबेला शक्तिशाली सिटौलाको राजनीतिक जीवन सकटपूर्ण बनेपछि उनी अब के गर्लान भन्ने चासो बढेको छ।
