काठमाडौं । देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गर्दै २५७० औँ बुद्ध जयन्ती मनाइदैछ। बुद्धले दिएका उपदेश, अहिंसाको प्रवद्र्धन र शान्तिको कामनासहित नेपालले बुद्धलाई पर्यटकीय हब बनाउने विषय चर्चा चल्ने गर्छ। तर, बुद्धको जन्मस्थलकै पर्यटकीय दृष्टीकोणले उल्लेक्य अघि बढ्न नसक्दा प्रश्नहरु उठ्ने गरेका छन्। यद्यपी राज्यले नै यसको प्रचारदेखि अन्य काम गर्न भने आवश्यक छ।
सिद्धार्थ गौतम बुद्धको २५७० औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइदैछ। विश्वमा चलिरहेका राजनीतिक र द्वन्द्धका तनावको शान्तिपूर्ण पहल बुद्धका उपदेशबाट गर्न सकिने भन्दै चर्चा गर्न थालिएको छ। शान्ति, अहिंसा, आपसी सम्मान र अमनचयनको कामना गर्दै विभिन्न कार्यक्रमहरु आयोजना हुने गर्छन्।
यसरी ललितपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका उपदेशबाट शान्तिको मार्ग पहिल्याउनुपर्नेमा जोड दिए। बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्ने दाबी गरेका राष्ट्रपतिले नेपालले यसलाई विश्वभर फैलाउन काम गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले झैं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुद्ध दर्शन विश्वमा शान्ति स्थापना गर्ने सबैभन्दा शक्तिशाली हतियार बन्नसक्ने दाबी गरे।
बुद्धको जन्मजयन्ती पोर्चुगलमा समेत त्यहाँ रहेका नेपालीहरुले मे १ का दिन भव्यताका साथ मनाउने भएका छन्। बौद्धमार्गीले मात्रै नभई बुद्धका सन्देशलाई विश्वव्यापी बनाउनुपर्ने भन्दै पछिल्लो समय आवाज चर्को रुपले उठ्न थालेको छ। विश्व राजनीतिमा देखिएका विभिन्न तनावलाई कम गर्न समेत बुद्ध दर्शन उपयोगी हुने दाबी गर्ने गरिन्छ।
यता, बुद्धको जन्मस्थल नेपाल नै भएकाले समेत नेपालले यसको लाभ लिनसक्नुपर्नेमा जोड दिने गरिन्छ। राज्यले नै यसलाई अपनत्व लिनुपर्नेमा धर्ममा मात्रै सिमित गर्न खोज्ने परम्पराका कारण पनि केहि समस्याहरु देखिने गरेका छन्। यद्यपी बुद्ध नेपालको आर्थिक, सामाजिक, राजनीतिक र भूराजनीतिक अस्त्र समेत बन्न सक्ने बलियो आधार भएकाले यसलाई उच्च महत्व दिनुपर्नेमा आवाज उठ्ने गरेको छ।
विभिन्न देशमा छरिएर रहेका बौद्धमार्गी, बुद्ध दर्शनमा विश्वास राख्नेहरु र सरोकारवाला सबैले बुद्धका उपदेश र दर्शनलाई पछ्याउदा मात्रै पनि द्वन्द्ध र संकट समाधानका निम्ति सहज हुने विश्वास गर्ने गरिन्छ।
