News 24 Television
पाँचपोखरी क्षेत्रमा रैथाने अन्नमा भुलिए पर्यटक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्र घुम्न जाने पर्यटकहरूका लागि अब स्थानीय उत्पादन खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले तिपेनीको खाल्डे बजारमा स्थापना गरेको ‘कोसेली घर’ले स्थानीय उत्पादनको बजार विस्तारसँगै पर्यटकलाई एकै ठाउँमा मौलिक उपहार उपलब्ध गराउन थालेको छ । यसले स्थानीय सीप, संस्कृति र रैथाने स्वादको संरक्षणमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले तिपेनीको खाल्डे बजारमा स्थापना गरेको ‘कोसेली घर’ले पर्यटक र स्थानीय दुवैलाई सजिलो बनाएको छ । पहिला पर्यटकीय क्षेत्रबाट फर्किंदा परिवार र आफन्तका लागि उपहार खोज्न अलगै समय खर्चिनुपर्ने बाध्यता थियो । तर अब कोशेली घरका कारण त्यो झन्झट हटेको छ । पाँचपोखरी क्षेत्रको इन्ट्री र एक्जिट प्वाइन्टमै रहेको यो केन्द्रले स्थानीय उत्पादनलाई एकीकृत बजार उपलब्ध गराउँदै पर्यटकलाई मौलिक उपहार एकै ठाउँमा दिने व्यवस्था गरेको छ ।

पर्यटक अब केवल फोटो खिचेर फर्किन चाहँदैनन् । आजभोलि धार्मिक तथा पर्यटकीय गन्तव्यमा पुग्नेहरू स्वास्थ्यवद्र्धक, रोग प्रतिरोधात्मक क्षमता बढाउने रैथाने खाद्य सामग्रीको खोजीमा हुन्छन् । यही आवश्यकतालाई ध्यानमा राख्दै गाउँपालिकाले कोसेली घर सञ्चालनमा ल्याएको हो । यहाँ ६० भन्दा बढी खाद्य तथा गैर–खाद्य स्थानीय रैथाने सामग्री उपलब्ध छन् । 

भुजेल र गुरुङ समुदायले भेडाको रौँबाट बुनेका राडीपाखी, महिलाहरूले हातैले बुनेका श्यामा अर्थात फरिया, बाँसका सामग्रीदेखि तोरीको तेल, चौरीको घिउ, छुर्पी, शुद्ध मह, बासखर्कको चिया, भोताङको अर्गानिक कोदो, आलु लगायतका उत्पादन यहाँ पाइन्छन् । यस्तै, अदुवा, बेसार, पिठो, कुन्द्रुक, कोदो, मकै, गहुँ, भटमास, टिमुर, फापर, सिस्नुको पाउडर र सिन्की जस्ता स्थानीय उत्पादन पनि सहजै स्थानियले बिक्री गर्न सकिने व्यवस्था छ । 

हिमाली क्षेत्रको मौलिक स्वाद र गुणस्तरका कारण यी सामग्री पर्यटकले रोजिरहेका छन् । पुख्र्यौली पेसाका रूपमा राडीपाखी बुन्दै आएकी कमला भुजेलका लागि पनि कोसेली घर आशाको केन्द्र बनेको छ । आफ्ना उत्पादन बजारसम्म पु¥याउने सहज माध्यम पाएपछि उनी उत्साहित छिन् ।

पहिले गाउँमै सीमित उत्पादन अहिले पर्यटकको झोलासम्म पुगिरहेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटनको अपार सम्भावना बोकेको क्षेत्र हो । 

यहाँको पाँचपोखरी, मानम, भ्यु प्वाइन्ट, डुखाङ, अमिलो पानी र नागिथाङ जस्ता गन्तव्यमा यस वर्ष मात्रै ४ हजारभन्दा बढी पर्यटक पुगेको पालिकाले संचालन गरेकोे सुचना केन्द्रको तथ्यांक छ । यही प्रवाहलाई आर्थिक अवसरमा रूपान्तरण गर्न गाउँपालिकाले कोसेली घर सञ्चालनको जिम्मा स्थानीय समितिलाई दिएको छ । समितिले गाउँभित्र उत्पादित सामग्री संकलन गरी व्यवस्थित बिक्री वितरण गर्दै आएको छ ।

कोसेली घरको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसले गाउँको उत्पादनलाई गाउँमै मूल्य दिएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्दै यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको छ । पर्यटनसँग जोडिएको यस्तो अभ्यास देशका अन्य पर्यटकीय क्षेत्रका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्ने छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update