मुगु । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिकाका महिलाहरू पछिल्लो समय व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै यसलाई आफ्नो मुख्य आम्दानीको स्रोत बनाउन थालेका छन् । परम्परागत खेतीपातीको विकल्पका रूपमा तरकारी खेती सुरु गरेपछि उनीहरूको जीवनस्तरमा समेत कारात्मक परिवर्तन आउन थालेको छ ।
मुगुम कार्मारोङ गाउँपालिका ९ छायल गाउँकी नन्दा देवी रोकाया बिहानैदेखि बारीमा व्यस्त देखिन्छिन् । हातमा कुटो मनमा आत्मविश्वास र आँखामा उज्वल भविष्यको सपना—यीसँगै उनले व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती थालेको चार वर्ष पूरा भएको छ ।
आजभोलि आफ्नो मेहनतले उत्पादन गरेको तरकारी दैनिक घरमा प्रयोग गरेर बचेको तरकारी नजिकको छाएल बजार र गंगा गाँउमा बिक्री गरी मौसमी तरकारीबाट करिब १ लाख र बेमौसमी तरकारीबाट ६० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको छ
४ बर्ष पहिला छाँया नेपाल नामक सस्थाले तरकारी खेति गर्ने तालिम, बिउ बितरण लगाएत अन्य सामाग्री दिएपछि बल्ल पुरानो अन्न बाली जौ, गहुँ, मकै, फापर खेतिबाट राम्रो आम्दानी नभएका किसानहरु तरकारी खेती मार्फत आत्मनिर्भर बन्दै गएका छन् । मौसमी खेती बाट करिब ३०,४० हजार र बेमौसमी तरकारी बाट ८० हजार देखी १ लाख रुपैयाँसम्म आम्दानी गर्ने कमलाको कथा अझ प्रेरणादायी छ । रारा बहुमुखी क्याम्पसमा बि.एड अन्तिम वर्षमा अध्ययनरत उनी तरकारी खेतीमा व्यस्त छिन् ।
मुगुम कार्मारोङ गाउँपालिका–९ का छायल, चिमात र पापु—यी तीन बस्तीका महिलाहरूका लागि तरकारी खेती आज केवल पेशा मात्र होइन जीवन बदल्ने अभियान बनेको छ । नन्दा र कमला जस्ता उद्धाहरणसँगै अहिले करिब ८६ घरधुरीका महिलाहरू मौसमी तथा बेमौसमी दुवै प्रकारका तरकारी खेतीमार्फत राम्रो आम्दानी गर्न थालेका छन् ।
यहाँका कृषकले बिषादीरहीत अर्गानिक तरकारी घर घरमा उत्पादन गर्ने गरेका छन् । । यस वर्ष फागुन मसान्तसम्मको तथ्यांक हेर्दा छायल गाउँका महिलाहरूले मात्र मौसमी तरकारी बाट ११ लाख ४० हजार र बेमौसमीबाट ३ लाख रुपैयाँ बराबरको बिक्री गरेका छन् ।
पापु गाउँमा ७० हजार मौसमी र ३० हजार रुपैयाँको बेमौसमी तरकारी बिक्री भएको छ भने चिमात गाउँका महिलाहरूले १ लाख १४ हजारको मौसमी, ५० हजार बेमौसमी तथा ८ हजार बराबरको अदुवा र बेसार बिक्री गरेका छन् । पछिल्लो समयमा तरकारीको बजार निकै राम्रो भएको हुँदा यहाँका महिलाहरुले उत्पादन गरेको तरकारी बिक्री गर्नको लागी नितीगत रुपमा पालिका अगाढी बढेको छ ।
छायाँ नेपाल नामक सस्थाबाट ४ वर्ष अघि सञ्चालन गरिएको महिला सशक्तिकरणका लागि जीविकोपार्जन कार्यक्रमबाट यहाँका महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन देखिएको छ ।
संस्थाले ब्यावसायिक तरकारी खेती सम्बन्धी तालिम, उन्नत बीउबिजन, प्लास्टिक टनेल, थोपा सिँचाइ सेट, कृषि औजार, प्लास्टिक क्रेट तथा प्याकेजिङ सामग्री वितरण गर्ने गरेको छ ।
