काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा रेड नोटिस जारी गर्न नेपाल प्रहरीले गरेको अनुरोध इन्टरपोलले मापदण्ड नपुगेको भन्दै अस्वीकार गरेको छ । योसँगै सरकारको कुटनीतिक पहल र पक्राउ प्रयासमा चुनौती थपिएको विश्लेषण भइरहेको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ गर्न रेड नोटिस जारी गर्नका लागि गरिएको आग्रहलाई इन्टरपोलले अस्वीकार गरेपछि बालेन शाह नेतृत्वको सरकारमाथि कुटनीतिक धक्का लागेको चर्चा हुन थालेका छन् । सार्वजनिक पदमा रहँदा गैरकानूनी तवरले सम्पत्ति आर्जन गरेको भन्दै काँग्रेस पूर्वसभापति समेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुर्व परराष्ट्रमन्त्री समेत रहेकी देउवापत्नी आरजु राणालाई अनुसन्धानका लागि पक्राउ गर्न रेड नोटिस जारी गर्न आग्रह गरिएकोमा इन्टरपोलले अस्वीकार गरेको छ ।
यो सँगै सरकारको योजना र बालेन कुटनीतिमा धक्का पुगेको विश्लेषण भइरहेका छन् । नेपाल प्रहरीले देउवाविरुद्ध रेड नोटिस जारी गर्न गरेको आग्रहमा इन्टरपोलले इमेलमार्फत जवाफ दिँदै मापदण्डहरु स्मरण गराएको छ । पत्रमा इन्टरपोलको मापदण्डको स्मरण गरइएको छ भने, प्रकृया र थप विवरण पनि माग गरिएको जनाइएको छ ।
सरकारले प्रतिशोध साँधेर नेताहरुमाथि सम्पत्ति सुद्धिकरणको मुद्धा चलाएको आरोप लागिरहँदा इन्टरपोलको जवाफलाई लिएर सरकारको कुटनीतिसमेत कमजोर भएको विश्लेषण हुन थालेका छन् ।
देउवाविरुद्धको मुद्दा के हो ?
वर्तमान सरकारले २०४८ साल यता सार्वजनिक पदमा रहेका नेता र अन्य कर्मचारीको दुई चरणमा सम्पत्ति छाननि गर्ने निर्णय गरेको छ । यस्तैमा सरकार बनेको दुई साता नवित्दै शेरबहादुर देउवालाई सम्पत्ति सुद्धिकरणको मुद्धामा पक्राउ गर्ने प्रयास भएको थियो ।
यही शिलशिलामा देउवा दम्पत्तिविरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा गत चैत २५ गते जिल्ला अदालतबाट सम्पत्ति सुद्धिकरण विभागले पक्राउको अनुमति पाएको थियो । तर उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पत्तिलाई प्रहरीले तत्काल पक्राउ गर्ने अवस्था नभएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले इन्टरपोललाई रेड नोटिस जारी गर्न माग गर्दै पत्र पठाएको थियो ।
सरकारले पूर्वउच्च पदाधिकारीको सम्पत्ति छानविन गर्ने तैयारी र जेनजी आन्दोलनमा भएको आगजनीमा बूढानीलकण्ठस्थित देउवा निवासमा ठूलो मात्रा भेटिएको पैसाका कारण पनि देउवामाथि अवैध सम्पत्ति आर्जनको आरोप लागेको छ । यही विषयलाई लिएर सम्पत्ति सुद्धिकरण विभागले देउवालाई छानविनको तयारी गरेका छ ।
देउवा पक्रन मुस्किल पर्ने !
इन्टरपोलले नेपालको आग्रहलाई सोझै अस्वीकार गरेपनि रेड नोटिसको मापदण्ड र प्रकृया स्मरण गराउँदा देउवाविरुद्ध पक्राउ पूर्जी जारी हुने संभावना न्यून छ ।
इन्टरपोलको जवाफी पत्रपछि नेपाल प्रहरीका अधिकारीहरुले नै पनि देउवाविरुद्ध रेड नोटिस जारी हने संभावना न्यून रहेको विश्लेषण गर्न थालेका छन् । रेड नोटिस जारी हुन अनुसन्धान भइरहेको देश र अनुसन्धान हुने व्यक्ति बसेको दुवै देशका प्रहरीले पत्राचार गर्नुपर्ने, २ वर्षभन्दा बढी सजाय हुने अपराध गरेको प्रमाणित हुनुपर्ने र कसुर प्रमाणित हुने आधारहरुका पर्याप्न हुनुपर्ने भनिएको छ । यसअनुसार देउवाविरुद्ध भ्रष्टाचार गरेको आरोप प्रमाणित हुने आधार कमजोर हुँदा रेड नोटिस जारी हुने संभावना अत्यन्तै न्यून रहेको दावी गर्न थालिएको हो ।
कहाँ छन् देउवा दम्पत्ति ?
जेनजी आन्दोलनमा गम्भीर आक्रमण व्यहोरेका देउवा दम्पत्तिले सिंगापुरमा उपचार गराएका थिए । पहिलो पटक काक्तिकमा सिंगापुर गएका उनीहरु दोस्रो पटक निर्वाचनको सम्मुखमा गत फागुन १४ गते सिंगापुर गएका थिए । सो बेला देउवा काठमाडौंबाटै सिंगापुर गएका थिए भन, पत्नी आरजु राणा भारतबाट सिगापुर गएकी थिइन् ।
त्यसपछि उनीहरु स्वदेश फर्किएका छैनन् । सिंगापुरपछि उनीहरु चैत ७ गते हङ्कङ गएको भनेर केही भिडियो सार्वजनिक भएका थिए । तर त्यसयता उनीहरु सम्पर्कमा छैनन् । र, अहिले कहाँ छन्, भन्ने पनि प्रष्ट भएको छैन । तर गत चैत २५ मा पक्राउपूर्जी जारी भएपछि भने फेसबुकमार्फत शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्ति सम्बन्धि भ्रामक र झुटो प्रचारबाजी भएको प्रतिकृया दिएका थिए । उनले भनेका थिए, ‘मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ । स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ । र, अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।’
अन्तिम पटक आफू उपचारमा रहेको जानकारी दिएका देउवा दम्पत्ति अहिले कहाँ छन् भन्नेबारे खुलस्त छैन । तर पछिल्लो पटक देउवा परिवारसहित हङ्कङमा देखिएकाले उनीहरु अझै हङ्कङमै रहेको अनुमान गरिएको छ ।
सम्पत्ति छानविनका लागि अनुसन्धान गर्ने सरकारले तयारी गरेपनि विदेशमा रहेकाले देउवा दम्पत्तिविरु इन्टरपोलमार्फत पक्राउ गर्न सकस परिरहेको हो । अब सरकारले देउवालाई इन्टरपोलमा थप प्रकृया र मापडण्ड पु¥याएर पक्राउ गर्ने प्रयास गर्ला वा मुद्धा यतिकैमा निश्कृय गर्ला ? यो भने सरकारकै निर्णयमा भर पर्ने देखिन्छ ।
