काठमाडौं । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी संसदमा पाँचौ स्थानमा छ । फागुन २१ को चुनावमा नेपालको राजनीतिमा छलाङ मारेको पार्टीको भविष्य सुन्दर रहेको चर्चा पनि गरिन्छ । यो पार्टीले आगामी वर्षको स्थानीय र प्रदेश चुनावमा विशेष नजर राखेको छ । त्यसका लागि राइले अन्य विभिन्न दलका नेताहरुसँग संवाद बढाएका छन् । कुलमान घिसिङ र प्रलोपा छाडेका सुदन किँरातीसँग पनि एकता वार्ता भइरहेको छ ।
नेपालको राष्ट्रिय राजनीतिमा परम्परागत राजनीतिक दल कांग्रेस, एमाले र नेकपा सहितका दल किनाकृत अवस्थामा पुगेका छन् । जनताले रास्वपा र श्रम संस्कृति सहितका नयाँ भनिएका दललाई भारी जनमतका साथ राजनीतिमा स्वागत गरे । यतिबेला १८२ सिटको रास्वपाले सरकारको नेतृत्व गरिरहेको छ । ७ सिटको श्रम संस्कृति पार्टी संसदमा पाँचौ स्थान ओगट्दै प्रतिपक्षी बेन्चमा छ । यी दुई दलको उदयले नेपालमा कम्युनिष्ट पार्टीको भविष्य संकटमा परेको विश्लेषण पनि भइरहेका छन् ।
कांग्रेसले भने साख जोगाउन सक्ने अनुमान गरिन्छ । यद्यपी कांग्रेस पार्टीभित्रकै आन्तरिक किचलोले थलिएको छ । यस्तो बेला, सत्ता राजनीतिमा एक छत्रराज गरिरहेको रास्वपालाई टक्कर दिन हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले नयाँ जुक्ति लगाउन थालेको छ । श्रम संस्कृति पार्टीले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी, प्रलोपा छाडेका माओवादी पृष्ठभुमिका नेता सुदन किराती सहितका राजनीतिक समुह र नेतासंग पार्टी एकताको संवाद थालेको छ । सार्वजनिक रुपमा चर्चाको केन्द्रमा घिसिङ नेतृत्वको उनेपा र किराती विच एकताको अन्तिम विन्दुमा पुगेको दाबी गरिन्छ ।
रास्वपासँगको एकताको मसी सुक्न नपाउँदै भएको विभाजित भई राजनीतिको छाँयामा परेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उठ्ने साहस राख्दैछन् । फागुन २१ को चुनावमा लज्जास्पद हार यता सार्वजनिक रुपमै हराएका कुलमान देखिन थालेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको डोजर अभियानबाट मारका परेका सुकुम्बासी भेट्दै राजनीतिमा सक्रिय बनेका कुलमान नयाँ दाउमा लागेको चर्चा भइरहेको छ । त्यो भनेको संसदमा ७ सिट सहित प्रतिनिधित्व गरिरहेको श्रम संस्कृति पार्टीसँग एकता नै हो ।
रास्वपासँगको एकता १२ दिन पनि टिक्न नसक्दा घिसिङले रास्वपाको समानुपातिकको सूचीमा राखिएका आफ्नो पक्षका नेता कार्यकर्तासमेत गुमाउन पुगेका थिए । यता, तत्कालिन नेकपा माओवादीमा हुँदा पर्यटन मन्त्री बनीसकेका र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अलगिएका सुदन किँराती श्रम संस्कृति पार्टी प्रवेशको तयारीमा छन् ।
उनलाई पार्टीमा भित्राउन स्वयम् अध्यक्ष हर्कराज राई तयार रहेको सार्वजनिक रुपमा बताइसकेका छन् । पार्टीमा उनलाई महत्वपुर्ण जिम्मेवारी दिनेगरी पार्टी प्रवेशको तयारी भइरहेको छ ।
स्थानीय तहमा तहल्का पिट्ने दाउ !
अबको ठीक एक बर्षपछि मुलुकमा स्थानीय तहको चुनाव हुँदैछ । त्यसको ६ महिनामै प्रदेशको पनि चुनाव हुने हुँदा अहिलेदेखि नै राजनीतिक दलले तयारी थालेका छन् । रास्वपा उम्मेदवार छनोट समिति नै गठन गरेर लागि पर्दा श्रम संस्कृति पार्टीले एकता र संवादलाई प्राथमिकता दिएको हो । रास्वपासँग प्रतिष्पर्धा गर्नेगरी आगामी बर्ष हुने स्थानीय तह र प्रदेशको चुनावबाट प्रदेश र स्थानीय तहमा बलियो उपस्थिति बनाउन राई कस्सिएका हुन् ।
