काठमाडौं । जेनजी आन्दोलनपछि नयाँ बैकल्पिक धार बनाउने योजनाका साथ बनेको प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) छिन्नभिन्न भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पहलमा पार्टी गठन भएको ६ महिना नपुग्दै पार्टी छिन्नभिन्न भएको हो ।
जेनजी आन्दोलनपछि नयाँ वैकल्पिक राजनीतिक दल निर्माण गर्न विभिन्न राजनीतिक दलका नेताहरु लागिपरेका थिए । जेनजी आन्दोलनपछि असंगठित जेनजी युवाहरुलाई समेट्ने गरी नयाँ पार्टी बनाउने दाउ धेरैको थियो । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई जेनजीका विभिन्न समूहसँग छलफलमा थिए ।
रास्वपा छाडेकी सुमना श्रेष्ठदेखि कुलमान घिसिङ लगायत विभिन्न पक्षलाई समेटेर नयाँ बैकल्पिक धार बनाउने प्रयास भयो । यहि मेसोमा माओवादी छाडेका जनार्दन शर्मा र रास्वपा छाडेका सन्तोष परियारलाई समेटेर प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)को घोषणा गरियो । जेनजी आन्दोलनकी अगुवा ओजस्वी भट्टराई पनि यही पार्टीमा अटाइन् ।
जेजनी अगुवा ओजस्वी, सन्तोष परियार, दुर्गा शोव, सुदन किराँती र सुरेन्द्रप्रसाद जैसवालको पाँच सदस्य अध्यक्ष मण्डल रहने गरि घोषणा गरिएको पार्टीको संरक्षक रहेका थिए, बाबुराम भट्टराई । पाँच सदस्य अध्यक्ष मण्डल रहने गरि घोषणा गरिएको पार्टीको केन्द्रीय समिति १ सय ५१ सदस्य थियो ।
चुनावी परिणामले तहसनहस
जेनजी आन्दोलनपछि गठिन सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते सम्पन्न गरेको निर्वाचनमा भने यो पार्टीले लज्जाजनक परिणाम भोग्नु पर्यो । जित्ने सम्भावना नदेखिएपछि चुनावअघि नै पार्टी संरक्षक रहेका भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएर काग्रेसलाई सघाउने घोषणा गरेका थिए । नेपाली कम्युनिस्ट पार्टीको एकतालाई अस्वीकार गर्दै प्रचण्डसँग विद्रोह गरेका जनार्दन शर्माले पनि चुनावमा नराम्रो हार ब्यहोरे । प्रलोपाका उम्मेदवारहरु कुनै पनि ठाउँमा प्रतिष्पर्धीसमेत बन्न सकेनन् ।
यहि चुनावी परिणामपछि पार्टीका तल्लो तहका नेता कार्यकर्ताहरु मात्र होइन, पार्टी अध्यक्ष मण्डलमै रहेका नेताहरुले समेत पार्टीबाट निश्क्रिय रहेको घोषणा गरे । अध्यक्ष मण्डलका सदस्य एवम् अध्यक्ष परिषद् रहेका सन्तोष परियारदेखि सुदन किराँतीले नै पदीय जिम्मेवारीमा नरहेको घोषणा गरेका थिए । तर सन्तोष परियार भने अहिलेसम्म जेनतेन त्यही पार्टीमा अडिए पनि सुदन भने पार्टी नै छाडेर हर्क साम्पाङको पार्टी प्रवेश गरिसकेका छन् ।
सुदनसँगै बाबुरामले पनि पार्टी छाडे
तत्कालिन माओवादी केन्द्रमा रहँदा जनार्दन समूहमा रहेर पार्टी फुटाल्न उक्साउने काम गरेका सुदन प्रलोपा घोषणा गरिँदा जनार्दन समूहबाट नयाँ पार्टीको अध्यक्ष परिषद् बनेका थिए । तर चुनावी परिणाम लगत्तै आफू नै नेतृत्वमा रहेको पार्टी छाडेर शुक्रबार मात्रै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
यता, बैकल्पिक पार्टी बनाउन भन्दै कस्सिएर संरक्षक रहेका बाबुराम पनि पार्टीबाट अलग भएका छन् । सुदन श्रम संस्कृतिमा प्रवेश गरेकै दिन बाबुरामले पार्टी छाडेका हुन् । अझ गज्ज्जको कुरा त पार्टी छिन्नभिन्न अवस्थामा पुगेपछि पार्टी छाडेर गएका बाबुराम र सुदनलाई सम्मानसहित नयाँ राजनीतिक यात्राको सफलताको शुभकामना दिएको छ ।
