काठमाडौं । नेपाली राजनीतिमा परम्परागत राजनीतिक शक्ति कमजोर बन्दैजाँदा नयाँ भनिएका शक्ति थप बलियो बन्ने दौडमा छन् । साथै, सांगठनिक र राजनीतिक हिसाबमा सक्रिय बन्न थालेका छन् । रास्वपाले दुई तिहाई नजिकको जनमत बटुल्दै सत्ताको नेतृत्व गरिरहँदा श्रम संस्कृति पार्टीले प्रतिपक्षी भुमिकालाई बलियो बनाउँदै पार्टीको आकार समेत बढाउँदै लगेको छ । शुक्रबार मात्रै माओवादी पृष्ठभुमीका सुदन किँराती समुहसँग पार्टी एकता गरि हर्कले पार्टी विस्तारको संकेत दिएका छन् ।
संसदमा सात सिट सहित प्रतिनिधित्व गरिरहेको हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी र प्रलोपा छाडेका सुदन किँराती समुह विच शुक्रबार एकता भयो । काठमाडाँैको एक होटलमा धुमधामले पार्टी एकता भएसंगै सुदन किँरातीलाई पार्टीको वरिष्ठ नेता सहितको दोस्रो वरियता दिइएको छ । साथै, ६५ जना भन्दा बढि सदस्यलाई पार्टीमा स्वागत गरिदा अन्य सदस्यको पदीय जिम्मेवारी आगामी दिनमा दिइदै जाने सहमति भएको छ ।
धरान उपमहानगर पालिकाको मेयर हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका अध्यक्ष राईले जेनजी आन्दोलनपछि मात्रै पार्टी गठन गरेका थिए । भदौँ २३ र २४ को जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको मौकामा राईले श्रम संस्कृति पार्टी स्थापना गरेका हुन् । गत असोजमा निर्वाचन आयोगमा पार्टी दर्ता गरे ।
लगत्तै विशेष परिस्थितिमा फागुन २१ मा भएको प्रतिनिधिसभा चुनावमा राष्ट्रिय दल सहित संसदमा पाँचौँ शक्तिका रुपमा दर्ज गर्न सफल भए । ७ सिट सहित प्रतिपक्षी बेन्चमा खरो रुपमा उत्रिएका राईले आगार्मी बर्ष हुने स्थानीय तह र प्रदेश चुनाव लक्षित पार्टी एकतामा जोड दिएका छन् । पार्टी एकताले रास्वपा सहितका परम्परगत शक्ति संग भिड्न सजिलो हुने विश्वास लिइएको देखिन्छ । एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष राईले श्रम संस्कृति पार्टी देशभक्तहरुको पार्टी बनेको दाबी गरे ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको सुकुम्बासी अभियान र प्रधानन्याधिस नियुक्त प्रकरण माथी प्रश्न उठाउँदै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । आफ्नै पार्टीबाट उपसभामुख बनेकी रुवी कुमारी ठाकुरले पार्टीसंग समन्वय नगरी प्रधानन्यायाधिस नियुक्तीमा हस्ताक्षर गरेकोमा उनले खरो टिप्पणी गरेका छन् । यता, १० बर्षे शशस्त्र द्घन्द्घ हुँदै तत्कालिन माओवादी केन्द्रबाट पर्यटनमन्त्री समेत बनिसकेका सुदन किँरातीले माओवाद त्याग गर्दै प्रगतिशिल लोकतान्त्रिक पार्टी हाँक्ने निर्णय गरे ।
जर्नादन शर्मासंग मिलेर प्रलोपाको अध्यक्ष परिषद्को सदस्य समेत बनेका किँरातीले चुनावी परिणामको मुल्याङ्कन गर्दै केहि दिन अघि मात्रै पार्टीबाट अलग भएको घोषणा गरेका थिए । त्यसयता निरन्तर राईसंग सम्पर्कमा रहेका उनी पार्टी एकतामा होमिएका हुन् । एकता सभामा बाल्दै किँरातीले देशभक्तहरुको एउटै गन्तब्य श्रम संस्कृती पार्टी बन्ने दाबी गरे । बालेन नेतृत्वको सरकारको आलोचना गर्दै अध्यक्ष राईलाई खुसी पार्न खोजेका उनले माओवादबाट हर्कवादमा होमिएको घोषणा गर्नसम्म भ्याए ।
पूर्वमा किल्ला बनाउने तयारी !
हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको उदय र यसका गतिविधि नियाल्ने हो भने पूर्वमा राम्रै पकड जमाउने देखिन्छ । जातीय र धार्मिक रुपमा यो पार्टी फैलिएको छ । फागुन २१ को चुनावी नतिजाले पनि त्यो पुष्टि गर्छ ।
यस्तो अवस्थामा र्धम र संस्कृतिबाट प्रतिनिधित्व गर्ने समुहलाई एकट्ठा गर्न सकियो भने राम्रै नतिजा निकाल्न सकिने उनीहरुको बुझाई छ । माओवादी पृष्ठभुमीका किरतीसंगको एकताले त्यो कुरालाई अथ्र्याउँछ पनि । आगामी बर्ष हुने स्थानीय र प्रदेशको चुनावमा पूर्वमा किल्ला बनाउने गरी यो मिलन भएको हुनसक्ने कुरा नकार्न सकिदैन ।
उज्यालो नेपालसँग सकरात्मक छलफल
किँराती समुहसंग एकता गरेको श्रम संस्कृति पार्टीले उज्यालो नेपाल पार्टीसंग पनि वार्ता समिति नै बनाएर लागि परेको बताइन्छ । चुनाव चिन्ह र पार्टीको नाम बाहेक एकताका विषयमा सकरात्मक कुरा भइरहेको दुबै पक्षका नेताहरुले दाबी गरेका छन् । केहि प्राविधिक कार्यलाई मुर्तरुप दिदै निकट भविष्यमै पार्टी एकता हुनेमा दुईमत नरहेको उज्यालो नेपाल पार्टीका महामन्त्री जितराम लामा बताउँछन् ।
राष्ट्रिय राजनीतिमा पराम्परागत शक्ती कांग्रेस, एमाले र नेकपाको विकल्प नेपाली जनताले खोजिरहँदा रास्वपा र श्रम संस्कृतिमा सबैको ध्यान बढेको देखिन्छ । रास्वपाले सरकारको नेतृत्वको गरिरहेको हुँदा श्रम संस्कृतिले खरो प्रतिपक्ष भुमिका निर्वाह गर्दै आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा राम्रो प्रभाव जमाउन सक्ने आंकलन गरिएको छ ।
