काठमाडौं । तमिलनाडुको मुख्यमन्त्रीमा विजय थलपतिले पद तथा गोपनियताको सपथ लिएका छन्। पार्टी स्थापनाको छोटो समयमै मुख्यमन्त्री बनेका विजय कलाकारिताबा जस्तै अब्बल बन्न सक्लान? यस्ता विषयमा अनेक चर्चा चलिरहेका छन् ।
तमिलगा वेट्री कड़गम पार्टीका अध्यक्ष सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीमा सपथ लिएसंगै तीन महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरे। हरेक परिवारलाई २ सय युनिट विजुली निशुल्क, लागू औषध दुव्र्यसनी हटाउन प्रत्येक जिल्लामा विशेष बल निर्माण र महिलाको सुरक्षाका लागि स्पेशल टास्प फोर्स बनाउने निर्णयमा हस्ताक्षर गरे। यसले उनको निर्णयमाथिको प्रभाव, नागरिकमाथि सरकारको दायित्व र सरकारले नागरिकप्रति आफ्नो उपस्थिति जनाउने बलियो आधारको रुपमा आफूलाई पेश गर्ने विश्वास गरिएको छ ।
विजयको पार्टी टीवीकेले १०८ सिटमा जित प्राप्त गरेको थियो। तर, सरकार निर्माण गर्न २३४ सदस्यीय विधानसभामा ११८ सांसदको आवश्यकता पथ्र्यो। जसमा विजय आफैले दुई स्थानमा चुनाव जितेकाले टीवीकेसंग जम्मा १०७ सिट मात्रै थियो। यस्तो स्थितिमा टीवीकेले सरकार निर्माण गर्न कांग्रेस आई, सिपीआई, सिपिएम, विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल)को समर्थन जुटाएको छ। गठबन्धन सरकारको नेतृत्व गर्न पुगेका अभिनेताले तमिलनाडु सरकारको नेतृत्वमात्रै गर्दैछैनन्, उनले गठबन्धनको विश्वासमा आफूलाई स्थापित गराउनुपर्ने चुनौतीमा समेत रहेका छन्। एकल बहुमत प्राप्त गर्न नसकेपछि विजयले कांग्रेससहितको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। जसमा विजयलाई राज्यपाल राजेन्द्र अर्लेकरले आइतबार मुख्यमन्त्री नियुक्त गरेका थिए। विजयले आफ्नो मन्त्रिपरिषद् समेत विस्तार गरेका छन्, जसमा बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तना रहेका छन्।
विजय र मोदीबीच खुशी साटासाट
चेन्नइस्थित नेहरु स्टेडियममा मुख्यमन्त्रीको सपथ लिएका विजयलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले विजयलाई बधाई दिदै केन्द्र सरकारले तमिलनाडु सरकारसंग मिलेर जनताको जीवनस्तर सुधार गर्न काम गर्ने वचन समेत दिएका छन्। मोदीले विजयले मुख्यमन्त्रीको सपथ लिन लागेकोमा बधाई समेत दिएका हुन्। यता, विजयले पनि मोदीको बधाईमा जवाफ फर्काएका छन्।
विजयले तमिलनाडुका जनताको प्रगति र कल्याणका निम्ति सहकार्य गर्न उत्सुक रहेको भनेका छन्। केन्द्र सरकारसंग तमिलनाडुका जनताको समृद्धिका लागि प्रभावकारी सहयोग र सहकार्यका निम्ति तयार रहेको सन्देश समेत उनले दिएका छन्।
सुपरस्टारको राजकीय यात्रा
विजय तमिल क्षेत्रमामात्रै नभई हिन्दी भाषाको प्रभाव क्षेत्रमा समेत कहलिएका अभिनेतामा पर्छन्। चेन्नईमा सन १९७४ मा जन्मिएका विजय प्रशिद्ध निर्देशक एस.ए. चन्द्रशेखरका छोरा हुन्। वाल्यकालदेखि नै अभिनय यात्रामा होमिएका उनले थुप्रै हिट फिल्म दिएका छन्। उसोतः उनको फिल्मी यात्राको क्रममा ‘गिल्ली’, ‘कथी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता हिट फिल्ममा अभिनय गरिसकेका छन्।
विजयले सन २०२४ फेब्रुअरी २ मा टीवीकेको स्थापना गरेका थिए। टीवीकेले सेप्टेम्बर ८ मा मात्रै निर्वाचन आयोगबाट दल दर्ताको मान्यता पाएको थियो। त्यसपछि सक्रिय बनेका विजयले यो विधानसभा चुनावको सबै क्षेत्रमा आफ्ना पार्टीका उम्मेदवार खडा गरेका थिए। उनले भारतीय जनता पार्टीलाई वैचारिक सत्रु करार गरेका थिए। चुनावमा उनले सिठ्ठी अभियान सञ्चालन गर्दै तमिलनाडुमा राजनीतिक हंगामा नै सिर्जना गरेका हुन्।
फिल्मी क्षेत्रबाट मुख्यमन्त्री बनेका विजयको राजकीय यात्रा कस्तो रहला? यसबारे अनेक चर्चा चलिरहेका छन्। पछिल्लो समय कलाकारिता क्षेत्रमा अब्बल कहलिएका पात्रहरुले राजनीतिक रुपमा हंगामा मच्चाइरहेका छन्। विश्वभर डिजिटल दुनियाँको तीब्र विकाससंगै फेरिन थालेको राजनीतिक परिस्थितिमा आएका यस्ता पात्रबाट हुने ठूलो जनअपेक्षा र यसको कार्यान्वयन कसरी अघि बढ्छ भन्ने चासो देखिन्छ। जसमा भारतमा विजयले शुरु गरेको राजनीतिक विजयी यात्राले धेरैको ध्यान तानेको देखिन्छ।
