News 24 Television
प्रधानमन्त्रीबाटै संसदीय मर्यादा उलंघन गरिँदा चौतर्फी हमला

काठमाडौं । रहस्यमय ढंगले एकाएक राजनीतिमा छलाङ मारेका प्रधानमन्त्री बालेन्द्र शाह माथि नैतिक प्रश्नचिन्ह खडा भएको छ । संसदीय मर्यादाको खिल्ली उडाउँदै मानोमानी ढंगले प्रस्तुत भएपछि नैतिक प्रश्न उठेको हो । सोमबार संसद बैठकमा देखिएको उनको व्यवहार र संसदीय समिति बैठक समेत बहिस्कारले आलोचनाको शिखरमा छन् । 

प्रधानमन्त्री बालेन्द्र शाह “बालेन” यतिबेला चौतर्फी आलोचनाको केन्द्रमा छन् । कारण हो, सोमबार आफैले नेतृत्व गरिरहेको सरकारले ल्याएको निति तथा कार्यक्रम प्रस्तुतीकरणमा देखाएको अस्वभाविक व्यवहार र हर्कत । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको रोष्टमबाट निति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पदीय मर्यादाको ख्याल नगरी उनी बैठक कक्षबाट बाहिरिन पुगेका थिए । जबकी उनकै पार्टी सभापति रवि लामिछाने सहित विपक्षी दलका नेताहरुले चाखलोग्दोपूर्ण ढंगले राष्ट्रपतिको गरिमालाई ख्याल गरेका थिए । 

त्यसपछि सुरु भयो उनको चौतर्फी आलोचना । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा समेत विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको आलोचना गरेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले यस विषयमा सरकारको जवाफ माग गरेको छ । प्रधानमन्त्री बालेन्द्रले अहिलेसम्म संसदको रोस्टममा उभिएर बोलेका छैनन् । नैतिक जिम्मेवारीबाट विमुख देखिएका बालेनको व्यहोरा देखेर प्रतिपक्षी दलहरु आजित छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सहभागिता देखिएन । जहाँ उनकै नेतृत्वको सरकारले ल्याएको निति तथा कार्यक्रम माथि बहस भइरहेको छ ।  यसले बालेन्द्र साच्चिकै यतिधेरै कच्चा कसरी बने भन्नेमा उनका समर्थक चकित छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले त प्रधानमन्त्रीको शैलीलाई केटाकेटी र बचपनको संंज्ञा दिएका छन् । उनले बालेनको तौर–तरिका नमिलेको भन्दै आलोचना मात्रै गरेनन् देशमा प्रधानमन्त्री छ कि छैन भन्दै खोजी गरे । 

यता, सामाजिक संजालदेखि सार्वजनिक बृतमा बालेनको कार्यशैलीको खुलेरै विराध हुन थालेको छ । जेनजी अगुवा तनुजा पाण्डेले सामाजिक संजाल मार्फत नैतिकताको पाठ सिकाएकी छिन् । यसरी चौतर्फी आलोचनाको केन्द्रमा परेको बालेन्द्रले कहिले सार्वजनिक रुपमा सम्बोधन गर्छन् रोचक बनेको छ । 

समिति बैठक पनि बहिस्कार  

चैत १३ का दिन प्रधानमन्त्रीको सपथग्रहण यता बालेनको बोली फुटको छैन । न संसदमा न पार्टीमा । सिंहदरबारस्थित प्रधानमन्त्री र मन्त्रीपरिषद्को कार्यालय र सरकारी निवास वालुवाटारलाई नै शक्ती केन्द्र बनाएका उनले समिति बैठकलाई पनि वास्ता गरेका छैनन् । 

मिनि संसदका रुपमा लिइने संसदीय समितीको राज्य व्यवस्था तथा सुशासन समितिमा उनी निरन्तर गयल छन् । समितिलाई कानुन बनाउन होमवर्क गर्ने महत्वपूर्ण कडि मानिन्छ । तर बालेनले अध्यादेशको बाटो रोजेर संसदीय समितिलाई पनि छलिरहेका हुन् । यसको पनि विपक्षी दलले आलोचना गरिरहेका छन् । 

ओली पथमा बालेन !

सत्ता र शक्तिमा हुँदा मै हुँ भन्ने व्यवहार नेपाली राजनीतिमा नयाँ होइन । तत्कालिन शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले हठ त्याग गर्न नसक्दा अहिले राष्ट्रिय राजनीतिको केन्द्रबाट किनारा लाग्नु परेको छ । नेपालको राजनीतिक इतिहास र विगतमा राजनीतिक दलहरुको नियतिबारे प्रधानमन्त्री बालेन्द्र शाहले पनि मनन् गर्न जरुरी छ ।  

यतिबेला शक्ति केन्द्रमा रहेका बालेनमा ओली प्रबृति हाबी भइसकेको विश्लेषण भइरहका छन् । यसअघि प्रधानमन्त्री बालेन सुरक्षा प्रोटोकलको व्यवास्ता गर्दै सचिवालयलाई जानकारी बेगर गायव हुँदा सुरक्षा निकाय आश्चार्यमा परेको घटना बाहिरिएको थियो । मुलुकको जिम्मेवार ब्यक्तिबाट नै संविधान र कानुनी राज्यको उपहास गरिनु जायज होइन । सत्ता र शक्तिको उन्माद विश्व राजनीतिक इतिहासका कहिँ कतै टिकेको छैन ।  कानूनी तथा संसदीय मर्यादाप्रति प्रधानमन्त्री शाह जिम्मेवार बन्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update