News 24 Television
टनेल खेतीबाट लाखौ आम्दानी, दैलेखमा तरकारी खेती क्रान्ति

दैलख । दैलेखमा व्यावसायिक तरकारी खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ । विशेषगरी टनेल प्रविधिको प्रयोगपछि किसानहरूको आम्दानी बढ्नुका साथै वैदेशिक रोजगारीका लागि भारत जाने बाध्यता समेत घट्न थालेको छ ।

दैलेखको भैरवी गाउँपालिका–३ मा किसानहरूले तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । 

दैलेख जिल्लाको भैरवी गाउँपालिका–३ मा श्री चगत्रा कृषि तथा पशुपालन सहकारी संस्था र कृषि विकास कार्यालय दैलेखको सहकार्यमा किसानहरूले व्यावसायिक तरकारी खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । टनेल प्रविधिको प्रयोगपछि यहाँका किसानहरूको जीवनस्तरमा सुधार आएको छ । 

कृषि विकास कार्यालयको सहयोगमा ५० भन्दा बढी पक्की र ३० भन्दा बढी कच्ची टनेल निर्माण भएका छन् । किसानहरूले उत्पादित तरकारी कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म बिक्री गर्दै आएका छन् ।

स्थानीय पवित्रा थापाले पाँच वर्षदेखि टनेलमार्फत व्यावसायिक तरकारी खेती गर्दै जीविकोपार्जन गरिरहेकी छन्। अनुदान कार्यक्रमले किसानलाई आत्मनिर्भर बनाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

केही वर्षअघिसम्म रोजगारीको अभावमा भारत जान बाध्य भएका किसानहरू अहिले गाउँमै व्यावसायिक तरकारी खेती गर्दै आत्मनिर्भर बन्न थालेका छन् । रोजगारीका अवसर बढेसँगै भारत जाने क्रम घटेको स्थानीय बताउँछन् । 

भैरवी–३ का लालबहादुर थापा पहिले भारतमा काम गर्थे । शारीरिक रूपमा अशक्त भएपछि उनले पाँच वर्षदेखि तरकारी खेती सुरु गरे । 

हाल उनले खेतीकै आम्दानीबाट ३० लाखभन्दा बढी खर्चेर घर निर्माण गर्नुका साथै ऋणसमेत तिरेका छन् ।  चगत्रा कृषि तथा पशुपालन सहकारी संस्था लि.ले किसानलाई संगठित गरी व्यावसायिक तरकारी खेतीमा जोड दिएको छ । कृषि विकास कार्यालय दैलेखसँगको सहकार्यमा बीउ, मलखाद, सिँचाइ र बजार पहुँचमा सहयोग हुँदै आएको छ । 

२०७३ सालमा स्थापना भएको सहकारीले रोड कोरिडर कार्यक्रमअन्तर्गत हरेक वर्ष किसानलाई टनेल सहयोग गर्दै आएको छ । कृषि बिकास कार्यालय दैलेखका अनुसार आर्थिक वर्ष २०८०\०८१ मा ५ लाख, २०८१\०८२ मा ३ लाख र २०८२\०८३ मा ३ लाख गरि ११ लाख बराबरको टनेलमा अनुदान सहयोग गरिएको छ ।

यसका अतिरिक्त खाद्यतत्व ब्यबस्थापनका लागि प्राङ्गारिक मल, बिषादिका साथै औजार उपकरण कार्यक्रम सहयोग गरेको कार्यालयको भनाइ छ ।  

कृषि विकास कार्यालयले सहकारीमार्फत तीन वर्षदेखि रोड कोरिडर कार्यक्रम सञ्चालन गर्दै किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख बनाएको छ ।

पहिले घरायसी प्रयोजनमै सीमित किसानहरू अहिले टनेल प्रविधिबाट बेमौसमी तरकारी उत्पादन गरी वर्षभरि बजारमा बिक्री गर्न थालेका छन् । यसले उनीहरूको आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update