म्याग्दी । नेपाल मात्रै होइन, विश्वमै सबैभन्दा बढी प्रयोग हुने तरकारीमध्ये आलु अग्रस्थानमा पर्छ । तराईको समथर भूभागदेखि समुद्री सतहबाट करिब ४४ सय मिटर उचाइसम्म आलु खेती हुने भएकाले नेपालका अधिकांश जिल्लामा यसको उत्पादन हुँदै आएको छ ।
नेपालको प्रमुख खाद्यान्न तथा नगदे बालीमध्ये आलु महत्वपूर्ण मानिन्छ । म्याग्दीको अधिकांश क्षेत्रमा आलु खेती हुने गरेको छ । तर यस वर्ष आलुमा डडुवा लाग्दा उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ ।
म्याग्दी जिल्लामा अघिल्लो आर्थिक वर्ष २०८१\०८२ मा ‘खायन आलु’ खेती विस्तारका लागि ७० हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य राखिएको थियो ।
आलु खेती प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारबाट १ करोड २० लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कृषि विकास कार्यालय म्याग्दीका अनुसार एक हजार ९४ रोपनी क्षेत्रफलमा खायन आलु तथा एक सय ४१ रोपनीमा बिउ आलु उत्पादनका लागि अनुदान प्रदान गरिएको थियो ।
उक्त आर्थिक वर्षमा एक हजार दुई सय ९७ मेट्रिकटन बिउ आलु उत्पादन भयो । जिल्ला कृषि विकास कार्यालयका अनुसार, म्याग्दीमा प्रति हेक्टर औसत साढे १९ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ ।
म्याग्दीको राम्चे क्षेत्र आलु उत्पादनका लागि परिचित मानिन्छ । राम्चे क्षेत्रमा रहेका करिब चार सय घरधुरीमध्ये तीन सयभन्दा बढी परिवार प्रत्यक्ष रूपमा आलु खेतीमा निर्भर छन् । तर यस वर्ष भने वेमौसमी वर्षासँगै फैलिएको डडुवा रोगले कृषकलाई चिन्तित बनाएको छ ।
लगातारको वेमौसमी वर्षाका कारण आलुमा डडुवा रोग देखिन थालेको भन्दै स्थानीय किसान चिन्तित छन् । रोग फैलिँदै जाँदा बोट सुक्ने र उत्पादनमा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भएको छ । कृषकहरूले समयमै प्राविधिक सहयोग र रोग नियन्त्रणका उपाय उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
म्याग्दीमा उत्पादीत आलु मुख्य रुपमा बेनी, बागलुङ, पोखरा, चितवन तथा काठमाडौंसम्म पनि पुग्ने गरेको छ । राम्चे क्षेत्रमा उत्पादीत आलुको माग अत्याधिक छ ।
त्यसैले आलुखेतिमा देखिएको रोग नियन्त्रणका लागि तत्कालै सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।
