काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँगै पार्टी गतिविधिलाई पनि बढवा दिइरहेको छ । पार्टी स्थापनाको चार वर्ष पुग्नै लाग्दा रास्वपा महाधिवेसनमा होमिने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय बनस्थली बसेको केन्द्रीय समिति बैठकले असार ७, ८ र ९ गते चितवनमा महाधिवेसन गर्ने निर्णय गरेको हो ।
पार्टी स्थापनाको चार बर्ष पुगेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेसन गर्ने भएको छ । सभापति रवि लामिछानेको नेतृत्वमा बुधबार केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी असार ७, ८ र ९ गते चितवनमा अघिवेसन गर्ने भएको हो ।
यसअघि सहकारी मुद्दा प्रकरणमा पार्टी सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेकाले महाधिवेशन स्थगित गरिएको थियो । अहिले लामिछानेकै कमाण्डमा महाधिवेशन गर्न लागिएको हो । २०७९ असार ७ मा स्थापना भएको रास्वपा महाधिवेसनमा होमिने भएसँगै नेता कार्यकर्ता उत्साहित भएका छन् ।
रास्वपाको पहिलो महाधिवेसन सम्पन्न गर्न पार्टीको मौजुदा केन्द्रिय समितिलाई नै ‘आयोजक समिति’ मा रूपान्तरण गरेको छ । पार्टीको विधानमा १ सय २९ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ भए पनि अहिले ९२ सदस्यीय समिति छ ।
रास्वपाले विधान संशोधानका लागि रास्वपाले पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य र नेता प्रकाशचन्द्र परियार सहितका नेताहरुले जिम्मेवारी पाएका छन् ।
महाधिवेशनमा को को सहभागी हुन पाउनेछन् ?
रास्वपा महाधिवेसनमा देशभरका ७७ जिल्लाबाट २ हजार ५ सय प्रतिनिधिको सहभागिता हुने नेताहरुले जानकारी दिएका छन् । साथै, जिल्लासंगको समन्वयका लागि केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोक्ने प्रक्रिया अघि बढाइएको छ ।
महाधिवेसनमा सहभागि हुने प्रतिनिधि छनोटका सन्दर्भमा प्रवास नेपाली सम्पर्क विभागबाट न्युनतम ३ देखि ११ जनासम्म सहभागी हुने व्यवस्था गरिएको छ । पालिका अधिवेशन सम्पन्न नभएको खण्डमा हालका पालिका संयोजकहरू नै महाधिवेशन प्रतिनिधि हुने ब्यवस्था गरिएको छ ।
वडा, पालिका र जिल्ला अधिवेशन
देशभर समिति विस्तार भइसकेको दाबी गरेको रास्वगपाले समिति गठन नभएका वडाको भेला जेठ २ गते बोलाउनेदेखि वैशाख २० गते अघि वडा समिति गठन भइसकेका स्थानको वडा अधिवेशनको मिति जेठ ३ गतेका लागि ताकेको छ । तदर्थ समिति गठन नभएका पालिकाहरुको भेला जेठ ९ गतेलाई तोक्दा वैशाख २५ गते अघि पालिका समिति गठन भइसकेका स्थानको अधिवेशनको समय जेठ १० गतेका लागि तोकिएको छ ।
जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानको अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ । जेठ १० गतेअघि पालिका समिति बनेकाहरुको हकमा पालिका अधिवेशन जेठ १७ गतेका लागि तोकिएको छ ।
प्रदेश अधिवेशन कहाँ र कहिले ?
रास्वपा केन्द्रीय समिति बैठकको निर्णय अनुसार जेठ २६ गतेदेखि प्रदेश अधिवेशन शुरु हुनेछ । उक्त दिन वागमती प्रदेशको अधिवेशन हुनेछ भने जेठ २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकी, ३० गते लुम्बिनी, ३१ गते कर्णाली र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन मिति तय गरिएको छ ।
उम्मेदवार बन्न महंगो दस्तुर
रास्वपा महाधिवेसनमा उम्मेदवार बनेर भाग लिनेले महंगो दस्तुर बुझाउनु पर्ने भएको छ । सभापतिको उम्मेदवार बन्न ५१ हजार, पदाधिकारीलाई ४१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार रूपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । पार्टी सञ्चालनका लागि रास्वपाले पार्टीका मन्त्री, सांसदहरुबाट पनि छुट्टाछुट्टै लेवी उठाउँदै आएको छ ।
रविको कमाण्ड, उपसमिति पनि गठन
रास्वपाले भने अनुसार पहिलो ऐतिहासिक महाधिवेसनको कमाण्ड सभापति रवि लामिछानेले नै गर्नेछन् । महाधिवेसनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ ।
जसमा
–प्रतिवेदन तथा प्रश्ताव मस्यौदा समिति
–आर्थिक व्यवस्थापन समिति,
–प्रचारप्रसार समिति
–सुरक्षा समिति,
–सूचना प्रविधि समिति
–आवास तथा भोजन समिति
–स्वास्थ्य तथा प्राथमिक उपचार समिति
–सांस्कृतिक कार्यक्रम समिति
–अतिथि सत्कार समिति
–विधान संशोधन समिति
र पार्टीको निर्वाचन आयोगलाई पनि परिचालन गरिने भएको छ ।
बालेन भर्सेस रवि होला ?
रास्वपाको महाधिवेसन सर्वसम्मत् होला या चुनावमै जाला भन्ने कौतुहलता सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने दोहोरिएलान् या प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले सभापति बन्ने आँट गर्लान् ? यो विषय रोचक बन्ने देखिन्छ । तर रवि र बालेनले सहमतिकै बाटो रोज्ने सम्भावना बढी छ ।
राजनीतिक कार्यदिशा तय गर्ने अवसर
राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक कार्यदिशा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । स्थापित भएका मुल्य मान्यतालाई सम्मान गर्ने भनेर भनिरहेको छ । उदार बहुदलीय प्रतिष्पर्धात्मक लोकतन्त्रमा विश्वास गरे पनि संघीयता, शासकीय प्रणाली र राजनीतिक दृष्टिकोणबारे रास्वपा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । महाधिवेसनबाटै रास्वपाले राजनीतिक कित्ता र धारण स्पष्ट गर्नुपर्नेछ ।
