News 24 Television
बालेन्द्र खोज्दै प्रतिपक्षी, संसद अघि बढ्न सकेनः रास्वपामा उकुसमुकुस, के गर्लान सभामुख ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक विषयमा प्रवेश गर्नै नपाई स्थगित भएको छ। संसदको कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने भनिएपनि वालेन्द्रको अनुपस्थितिपछि संसद बैठक अघि बढ्न सकेन्। किन वालेन्द्र संसदमा उपस्थितिलाई लिएर भाग्न खोज्दैछन् ? प्रतिपक्षी दलहरुले जवाफ माग्न थालेका छन्। विपक्षीको अवरोधपछि सभामुखले बिहीबार ११ बजे बस्ने गरि बैठक नै स्थगित गरेका छन् । 

संघीय संसदमा पेश भएको आगामी वर्षको नीति तथा कार्यक्रमको छलफल अघि बढ्न सकेको छैन्। नीति तथा कार्यक्रम पेश हुँदा नै प्रधानमन्त्री वालेन्द्र शाहले बैठक बंक गरेपछि सिर्जना भएको विवाद सेलाउन पाएको छैन्। बुधबारको संसद बैठकमा शीर्ष नेताहरुले गरेको सम्बोधनपछि संसद बैठक नीति तथा कार्यक्रमकोबारेमा उठेका प्रश्नको जवाफ दिने समयसम्म पुगेको छ। तर, वालेन्द्र शाहको निरन्तरको उपेक्षापछि संसद बैठक अघि बढ्न कठिन बन्न पुगेको हो।

बाइट प्रतिपक्षी सांसदहरुले संसद बैठकमा प्रधानमन्त्री खोजिरहेका छन्। संसदमा प्रधानमन्त्रीको उपस्थितिलाई रुलिङ गर्नुपर्ने आवाजकाबीच सभामुख भने कसैको उपस्थितिलाई लिएर ग्यारेन्टी गर्न नसकिने तर्क गरिरहेका छन्।

प्रतिनिधिसभाले सरकारका पदाधिकारीलाई उपस्थितिका लागि रुलिङ गर्न सक्छ। तर, सभामुखले सम्वाद गर्न सक्ने, रुलिङ नहुने भनिरहेका छन्। यसले संसदको गरिमामाथिको प्रश्न पेचिलो बन्न पुगेको छ। यता, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी भने संसदको नियमावलीबाहेकमा तर्क गर्न सक्ने अवस्थामा देखिन्न।

रास्वपालाई प्रधानमन्त्री वालेन्द्र शाहकै कारण समस्या देखिएको छ। संसद बैठक सिंहदरबारमै बसेर लाइभ हेर्ने तर बैठकमा उपस्थित नहुने प्रवृत्तिलाई धेरैले अनौठो मानिरहेका छन्। उसोतः वालेन्द्रको यस्तो शैलीमा अनेक टिप्पणी र बहस शुरु भएको छ। सभामुखले संसद चलाउनै नसक्ने गरि विपक्षीले अवरोध गरिरेहका छन्। संसदमा विपक्षीको अवरोधका कारण बुधबारको बैठक २ पटक स्थगित गरियो। तेश्रो पटक डाकिएको बैठकमा पनि प्रतिपक्षीले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले आक्रोशित बन्दै नियमावलीअनुसार बैठक चलाउनु नपरोस भन्ने आशय व्यक्त गर्दै स्थगित भएको घोषणा गरे।

संसद बैठकमा प्रतिपक्षी आक्रामक पेश हुँदा यसको प्रत्यक्ष मार रास्वपाले खेपिरहेको छ। रास्वपाका सभापति समेत रहेका प्रतिनिधिसभा सदस्य रवि लामिछानेले शालिनतापूर्वक माफी माग्ने र उत्तरदायी बन्ने वाँचा गरिरहेका छन्। तर, वालेन्द्रको शैलीका कारण रास्वपाका सांसदहरुले आन्तरिक रुपमा दिक्दारी भने पोख्न थालेका छन्। 

कसैको प्रवाह नगर्ने स्वभावका वालेन्द्र किन संसदको उपेक्षामा तल्लिन छन्? के कारण उनी संसद बैठकमा उपस्थित हुन असक्षम छन्? सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट जम्मा २ सय मिटरको दूरीमा रहेको संसद भवनमा उनी किन आउन सक्दैनन्? यस्ता प्रश्नको जवाफ सर्वसाधारणबाटै खोज्न थालिएको छ।

बादलको अभिव्यक्ति रेकर्डबाट हटाइयो

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ’बादल’ले दलीय हैसियतमा प्रतिनिधिसभाको मंगलबारको बैठकमा दिएको अभिव्यक्तिबाट केहि शव्द हटाइएको छ। सभामुख डीपी अर्यालले बालदको अभिव्यक्तिमा संसदीय मान्यताविपरित प्रयोग भएका शब्दहरु संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। 

राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरु र नेपाली सेनाबारे दिएको अभिव्यक्ति हटाइएको छ। तर, यसमा एमालेले भने आपत्ति जनाएको छ। सत्तारुढ दलका सांसदको हकमा पनि यस्तो कुरा लागू हुनुपर्ने भन्दै उनीहरुले विरोध गरेका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update