News 24 Television
स्थानीय उत्पादनको प्रबद्र्धन गरिदै, किसान लाभाम्वित हुने अपेक्षा

बागलुङ । बागलुङ दुग्ध सहकारी संघले बागलुङ बजारको सडकमै मोही वितरण गरेको छ ।  साढे दुई दशकदेखि दूध र दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुग्ध सहकारी संघले मोही ब्राण्डिङ सुरु गर्न भन्दै शुक्रवार निशुल्क वितरण गरेको छ ।

बागलुङ दुग्ध सहकारी संघले २६ औं स्थापना दिवसको अवसर पारेर मोही ब्राण्डिङको तयारी सुरु गरेको छ । संघले उपभोक्ताहरू माझ परम्परागत तथा गुणस्तरीय दुग्ध पदार्थलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यले मोही ब्राण्डिङ अभियान थालिएको अध्यक्ष दिपक गौतमले जानकारी दिए । 

संघले हाल खुला दूध, प्याकेट दूध, खुला तथा प्याकेट दही, खुला तथा प्याकेट घ्यू, खुवा, विभिन्न क्वालिटीका आइसक्रिम, खुला तथा प्याकेट छुर्पी, लस्सी, पनीर, खुवा, नौनी लगायतका दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएकोमा पछिल्लो समय मोही समेत बिक्री वितरण हुन थालेको संघले जनाएको छ । 

संघका अनुसार स्थानीय किसानबाट संकलित दूधलाई प्रशोधन गरी बजारमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने अभियान अन्तर्गत अब मोहीलाई पनि छुट्टै पहिचानसहित बजारमा ल्याईएको हो । 

स्वास्थ्यका दृष्टिले उपयोगी तथा परम्परागत नेपाली पेयका रूपमा परिचित मोहीको ब्राण्डिङले स्थानीय उत्पादनको प्रवद्र्धनसँगै दुग्ध उपभोग संस्कृति विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय जीवन शर्माको भनाइ छ ।  

बागलुङका विभिन्न १५ वटा दुग्ध सहकारी संस्थाका शेयर सदस्य कृषकहरूले उत्पादन गरेको दूध सहकारी संस्थाले संकलन गरेर संघसम्म ढुवानी गर्ने गरेका छन् । गत आर्थिक वर्षमा संघले १० करोड ९९ लाख १७ हजार ८५५ रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गरेको छ । 

कृषकहरूले उत्पादन गरेको दूध संकलन, प्रशोधन र बजारीकरणसँगै पशु उपचार, बीमा, घाँस, आहार लगायतमा संघले सहकारी संस्थाहरूमार्फत कृषक सदस्यहरूलाई सहयोग गर्दै आएको छ । 

८ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरू मिलेर २०५७ चैतमा स्थापना भएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले २०५८ जेठ १ गतेदेखि दूधको कारोबार सुरु गरेको थियो । पहिलो दिन १४१ लिटर दूध संकलन गरेर दूधको कारोबार सुरु गरेको संघले हाल दैनिक करिब ३ हजार लिटर दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update