काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समुहले गगन थापाको नेतृत्व स्वीकार गर्न सकिरहेको छैन । यसले कांग्रेस विवादित बन्दै आएको छ । सदस्यता नविकरण देखि महाधिवेसनका विषयमा दुई पक्ष आमनेसामनेको अवस्थामा छ ।
१५ औँ महाधिवेसन मार्फत पुर्णकालिन रुपमा पार्टी नेतृत्व कब्जा गर्ने रणनीतिमा रहेका गगनलाई रोक्न इतर पक्ष कस्सिएपछि १४ औं महाधिवेशनबाट निर्वाचितहरु आफ्नो कमिटीमा आउन चाहेमा सम्मानका साथ राख्ने प्रतिवद्धता जनाएका छन् । तर देउवा पक्षले देशैभर प्रदेश स्तरीय भेला गर्दै आएका छन् । यसले कांग्रेस भित्रको राजनीति रोमाञ्चक बन्न पुगको छ ।
नेपाली कांग्रेस भित्रको आन्तरिक द्घन्द्घ अझै साम्य हुन सकेको छैन् । सभापति गगन थापा नेतृत्वलाई निवर्तमान सभापति शेरबहादुर देउवा समुहले स्वीकार गर्न नसक्नु मुख्य कारण हो ।
एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा कांग्रेस विभाजनको डिलमा पुगेको छ । इतर पक्षका नेता निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आफू पक्षधर नेता कार्यकर्ताको भेलामा पनि पार्टी विभाजनको डिलमा पुगेको ब्रिफिङ गर्दै आएका छन् । विशेष महाधिवेसनबाट नेतृत्वमा आएका गगन थापा भने १५ औँ महाधिवेसनको तयारी गरिरहेका छन् ।
सदस्यता नविकरणदेखि अधिवेसनका कार्य भइरहेका छन् । गगन नेतृत्वको कांग्रेसले आगामी असोज १६ देखि १८ गतेसम्म काठमाडौँमा महाधिवेसन गर्ने निर्णय गरिसकेको छ । तर इतर समुह त्यो मान्न तयार छैन ।
सहमतिका लागि थापाले प्रयास नगरेका पनि होइनन् । सहमतिको प्रयास स्वरुप थापाले खड्कासँग बैशाख ६ र २३ गरी दुई चरणमा वार्ता नै गरेका थिए । गगनसँगको वार्तापछि खड्का छुट्टै भेलामा होमिएका हुन् ।
खड्काले छुट्टाछुट्टै भेला गर्नेदेखि नेता कार्यकतालाई आफ्नो पक्षमा राख्न हरसम्भव प्रयास गरिरहेका छन् । यसले सभापति गगनले एक्सन लिन सक्ने चर्चा चुलिएको छ ।
इतर पक्षले सक्रियता बढाउँदै
संस्थापन पक्षले महाधिवेसनमा जानुको विकल्प नरहेको दाबी गरिरहेको छ । निर्वाचन आयोग र सर्वाैच्च अदालतले विशेष महाधिवेसनलाई मान्यता दिइसकेकोले एकतामै सबैको भलाई हुने संस्थापन पक्षका जिकिर छ । इतर पक्षको नेतृत्व लिइरहेका खड्का भने आफ्नो गुट बलियो बनाउन सक्रिय छन् । इतर पक्षले चरणवद्ध रुपमा भेला, छलफल तथा विचार गोष्ठीहरु गर्दै आएको छ ।
– गत बैशाख ६ र ७ गते सर्वाैच्चको फैसलालाई लिएर खड्का निवास गोल्फुटारमा भेला ।
– बैशाख १५ र १६ गते धुम्बाराहीमा १४ औँ महाधिवेसनबाट निर्वाचित केन्द्रीय सदस्यसहित भेला
– जेठ १ र २ गते कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा विषयमा गोष्ठीको आयोजना गर्याे । जहाँ खड्काले नै पार्टी विभाजनको ब्रिफिङ गरिरहेका छन् । तर कांग्रेस प्रमुख सचेतक वासना थापा भने खड्का नेतृत्वमा भइरहेका भेलालाई महाधिवेसनको तयारीको रुपमा बझ्न सकिने बताउँछिन् ।
गगनले समन्वयकारी भुमिका निर्वाह गर्न नसक्नु र देउवा पक्षले विशेष महाधिवेशन स्वीकार नगर्नु नै मुख्य समस्या हो । यो विवाद सर्वोच्चसमेत पुग्यो । निर्वाचन आयोगले मात्र होइन, सर्वोच्चले पनि विशेष महाधिवेशनलाई मान्यता दियो । तर देउवा समूह सर्वोच्चको फैसलासमेत स्वीकार्ने पक्षमा छैन । यद्यपी महाधिवशेनको वातावरण बनाउन गगनले आफ्नो कमिटीमा आउन चाहेका १४ औं महाधिवेशनका जो कोहीलाई सम्मानका साथ सहभागी गराउने प्रतिवद्धता जनाएका छन् ।
तर खड्का समूह गगनको प्रस्ताव सुन्ने पक्षमा समेत छैन । त्यसैले आगामी महाधिशनले पार्टी औपचारिक विभाजनतिर लैजाने खतरा उत्तिकै देखिन्छ ।
