News 24 Television
फेवा तालमा दुर्घटना त्रास, सुरक्षा निकायको उद्दार अभ्यास

कास्की । पोखराको फेवातालमा बेला बेलामा डुंगा दुर्घटना हुने गरेका छन् । जसका कारण कयौंले अकालमा ज्यान गुमाउनु परेको छ । बिहीबार बिहान रमाइलो गरेर हिडेका युवा चढेको डुंगाको भयानक दुर्घटना भयो । तुरुन्तै उद्दार पनि भयो ।

अन्य सकुशल रहे भने एक जनाको ज्यान गयो । तर यो दुर्घटना भने सत्य होइन, जिल्ला प्रशासन कार्यालय कास्कीले आयोजना गरेको फेवातालमा हुन सक्ने विपद् घटनाको उद्दार सम्वन्धि संयुक्त अभ्यासको दृष्य थियो । 

यो दृष्य बिहीबार बिहान साढे ८ बजे फेवातालको हो । फेवातालको दक्षिणी मोहडामा रहेको फिस्टेल गेट तिरबाट दुइवटा डुंगामा रमाइलो गर्दै युवाहरु आइरहेका हुन्छन् । 

यस्तैमा अर्को डुंगासँग ठोक्किदा अकस्मात दुई वटै डुंगा पल्टिन पुग्छ । डुंगामा सवार यात्रुहरु तालमा डुब्छन् । घटना भएको केही मिनेटमै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्दार टोली मोटरबोट लिएर घटनास्थल पुग्छ । तालमा डुबेका युवाहरुको उद्दार हुन्छ ।

घटनास्थलमा रमितेहरुको पनि उत्तिकै बाक्लो उपस्थिति छ । प्रत्यक्षदर्शीहरु डराएका देखिन्छन् तर नझुक्किनुहोस् । दृश्य बास्तविक भएपनि भवितब्य भने होइन् । यो त जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा जिल्ला स्थित संयुक्त सुरक्षा निकायले फेवातालमा दुर्घटना हुँदा कसरी तत्काल नै उद्दार गर्न सकिन्छ भनेर गरिएको कृतिम घटना अभ्यासको दृष्य हो ।

बैशाख–जेठमा चल्ने तीव्र हावाहुरीका कारण फेवातालमा डुंगा दुर्घटना बढ्ने भएकाले उद्धार अभ्यास गरिएको हो । २०७० सालअघि उद्धारका लागि आधुनिक साधन नहुँदा डुंगा व्यवसायीले काठका डुंगाबाट प्रयास गर्थे । तर उद्दारकै क्रममा धेरैजसो घाइतेको ज्यान गइसकेको हुन्थ्यो । पछि सशस्त्र प्रहरीले मोटरबोटसहित विपद् व्यवस्थापन टोली परिचालन गरेपछि उद्धार प्रभावकारी बनेको छ । 

फेवातालमा रेस्क्यु टावरसमेत स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार हालसम्म ६ सयभन्दा बढीको जीवित उद्धार र ५० भन्दा बढी शव निकालिएको छ । 

फेवातालमा सुरक्षा निकायको उद्धार कार्यको धेरैले प्रशंसा गरेका छन् । सशस्त्र प्रहरीले ३–५ मिनेटमै दुर्घटनास्थल पुगेर उद्धार गर्ने भएकाले डुंगा दुर्घटनाबाट हुने मानवीय क्षति घटेको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्घटना न्यूनीकरणका लागि पूर्वतयारी र उद्धार क्षमता अझ बढाउनुपर्ने बताएका छन् । 

फेवातालमा आँधी, हावाहुरी, चट्याङ र मानवीय त्रुटीका कारण डुंगा दुर्घटना हुने गरेका छन् । ८० फिटसम्म गहिरो तालमा डुंगा सयर रोमाञ्चक भए पनि जोखिमपूर्ण पनि छ । यात्रु सचेत भए दुर्घटना र उद्धारको आवश्यकता दुवै घट्छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update