News 24 Television
१० करोडको अस्पताल योजना सुस्त, ४ वर्षमा ३० प्रतिशत काम

मुगु । २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माण गर्ने योजना अन्तर्गत कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पतालको शिलान्यास गरिएको थियो । तर, मुगु जिल्लाका स्थानीय तहमा सुरु भएका अस्पतालहरुको निर्माण कार्य अझै अलपत्र अवस्थामा छन् । 

मुगुको खत्याड गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पताल १८ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित पिसिएल सुर्काय जेभीले १० करोड ६६ लाख रुपैयाँमा ठेक्का लिए पनि चार वर्षमा केवल ३० प्रतिशत भौतिक र २० प्रतिशत वित्तीय प्रगति भएको छ । दुई पटक म्याद थपिएपछि पनि काम एकदमै सुस्त छ । 

हालसम्म ठेकेदारलाई २ करोड ५८ लाखभन्दा बढी भुक्तानी भइसकेको गाउँपालिकाले जनाएको छ । ठेकेदार पक्षले बजेट अभाव र भुक्तानी ढिलाइका कारण काम प्रभावित भएको बताएको छ । आगामी असारसम्म दुई तला ढलान गर्ने तयारी रहेको जानकारी निर्माण पक्षले दिएको छ ।

स्थानीयवासीहरूमा अस्पताल निर्माण सुरु हुँदा घरआँगनमै स्वास्थ्य सेवा पाउने आशा जागेको थियो । तर चार वर्ष बित्दा पनि भवन एक तला पनि नपुगेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् । उपचारका लागि अझै सुर्खेत, नेपालगन्ज, सदरमुकाम गमगढी तथा निजी क्लिनिक धाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

यस्तै, ठेक्का अनुसारको रकम भुक्तानी भइसकेको भएपनि काम ढिला भएकाले एक प्राविधिकलाई साइटमा खटाइएको खत्याड गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख महेश महता बताउँछन् । कम्पनीलाई छिटो काम सम्पन्न गर्न लिखित तथा मौखिक रूपमा निरन्तर ताकेता भइरहेको उनको भनाइ छ ।   
  
यसैगरी मुगुका छायाँनाथ रारा नगरपालिकाअन्तर्गतको मुगमकार्मारोङ गाउँपालिका र सोरु गाउँपालिकामा पनि निर्माणाधीन अस्पतालको प्रगति अत्यन्त सुस्त छ । 

रिउस बगर र तारापानी क्षेत्रमा निर्माण भइरहेका अस्पतालहरू पनि कछुवाको गतिमा अघि बढिरहेको स्थानीयहरूले बताए । सरोकारवाला निकायहरूले समयमै अनुगमन र ठेक्का कम्पनीलाई कडाइका साथ काम गराउन आवश्यक रहेको भन्दै निर्माण कार्यलाई तीव्र बनाउन स्थानीयले माग गरेका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update