News 24 Television
संसदप्रति जवाफदेही भएनन् बालेन, विपक्षीले गरे थप मोर्चाबन्दी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमदेखि प्रिबजेट छलफलमा प्रधानमन्त्रीको उपस्थिति खोजी गर्दै विपक्षी दलहरुले सदनमा चर्को आवाज उठाए । सत्तारुढ दल रास्वपाकै सांसदहरुले संसदमा प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न उठाएका थिए । 

सभामुख डोलप्रसाद अर्यालले नै संसद नियमावलीअनुसार संसदमा बोलाउँदा पनि प्रधानमन्त्री बालेन्द्र शाहले अटेरी गरे । प्रधानमन्त्री शाहले ब्यवस्थापिकालाई दुत्कारेको भन्दै अब बस्ने संसदको बैठकमा थप सशक्त रुपमा अघि बढ्ने भन्दै विपक्षी दलहरुले मोर्चाबन्दी गरेका छन् । 

प्रधानमन्त्री बालेन्द्र साहले अहिलेसम्म पनि सरकार प्रमुखको हैसियतमा संसदमा उपस्थिति भएर धारणा राखेका छैनन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सदनमा प्रस्तुत गर्दै गर्दा प्रधानमन्त्री शाह बीचैमा उठेर हिँडेका थिए । 

त्यसपछि नीति कार्यक्रममाथिको छलफल र छलफलमा उठेका प्रश्नको जवाफ दिन पनि प्रधानमन्त्री शाह उपस्थित भएनन् । प्रिबजेट छलफल र प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ दिन पनि शाहले खेतालामन्त्री उपस्थित गराए । विपक्षी दलहरुले संसदको मर्यादाको प्रश्न उठाउँदै बारम्बार प्रधानमन्त्रीको खोजी गरिरहे । प्रधानमन्त्री शाहले संसदलाई दुत्कारेकै कारण संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम पनि क्यालेण्डरमा पर्न सकेन । 

अब संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक जेठ १२ गते बस्दैछ । विपक्षीको आवाजलाई सरकारले बेवास्ता गरेको भन्दै विपक्षी दलहरु संसदको आगामी बैठकमा थप सशक्त रुपमा प्रस्तुत हुने तयारी गरेका छन् । 

आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित चार दलका प्रमुख सचेतकहरुको बैठकले सदनमा सरकारको कार्यशैलीविरुद्ध सशक्त प्रतिरोध गर्ने निश्कर्ष निकालेका हुन् । छलफलमा कांग्रेस, नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरू सहभागी भएका थिए । 

काठमाडौंका साथै देशका विभिन्न ठाउँका सुकुम्बासीहरु बस्तीहरु धमाधम भत्काउने क्रम जारी छ । त्यसैले सरकारको कार्यशैलीको विरोध गर्दै सडकदेखि सदनसम्म नै एकीकृत भएर अघि बढ्न दलहरुले मोर्चाबन्दी गरेका हुन् । प्रधानमन्त्री शाह सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने मागप्रति विपक्षी दलहरु एकमत भएका छन् ।  

सभामुखको भूमिकामाथि प्रश्न 

विपक्षी दलहरुको प्रधानमन्त्रीको कार्यशैलीको मात्रै होइन, सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । आइतबार कठमाडौंमा आयोजित एक कार्यक्रममा विपक्षी दलका सांसदहरुले सभामुख अर्यालको भूमिका निश्पक्ष नरहेको टिप्पणी गरे । 

ब्यवस्थापिकालाई प्रधानमन्त्री शाहले बेवास्ता गरेको भन्दै विपक्षी दलहरुले निरन्तर विरोध गर्दै आइरहेका छन् । विपक्षी दलहरु मध्येको एक श्रम संस्कृति पार्टीले त संसदमा हरेकजसो बैठकमा प्लेकार्ड बोकेर सरकारको विरोध मात्रै गरेन, प्रधानमन्त्री शाहकै राजीनामा मागिरहेको छ। 

विपक्षी दलहरुलाई पेलेरै अघि बढेको भन्दै सरकारको आलोचना भइरहँदा सत्तारुढ दल रास्वपा सांसद अमरेश कुमार सिंहले त  प्रधानमन्त्रीको कार्यशैलीलाई लोकतन्त्रकै उपहास भनेर टिप्पणी गरेका थिए । सत्तारुढ दल रास्वपाले पनि प्रधामन्त्री शाहलाई संसदप्रति जवाफदेही बनाउन सकिरहेको छैन ।

प्रधानमन्त्री शाहले संसदलाई दुत्कार्दै आएको बारेमा रास्वपा सभापति रवि लामिछानेसमेत निरिह देखिदै आएका छन् । झण्डै दुई तिहाईको दम्भ देखाएर रास्वपाले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन नसक्ने हो भने कार्यपालिका र ब्यवस्थापिकाको लडाई अफापसिद्ध हुने निश्चित छ । 

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update