मकवानपुर । बागमती प्रदेश सरकारले २०८३\०८४ नीति तथा कार्यक्रममा पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनलाई प्राथमिकता दिएको छ । तर विपक्षी दलहरूले भने सरकारको नीति तथा कार्यक्रममा असन्तुष्टि जनाएका छन् ।
बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेस गरेको कार्यक्रम सभामा प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा पारदर्शी तथा प्रविधिमैत्री सेवा, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको छ । नयाँ सडक ट्रयाक नखोल्ने तथा हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने नीति पनि समेटिएको छ । नीति तथा कार्यक्रमलाई सत्तापक्षले यसलाई महत्वपूर्ण र उपलब्धिमूलक भनेको छ ।
विपक्षी दलहरूले भने सरकारको नीति कार्यक्रममा नयाँपन नभएको आरोप लगाएका छन् । पुराना र कर्मकाण्डी कार्यक्रमले जनतामुखी काम नगर्ने तथा नीति र बजेटबीच तालमेल नहुँदा लोकप्रिय कार्यक्रम प्रभावित हुनसक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।
नीति तथा कार्यक्रम र बजेटबारे विपक्षीले चिन्ता जनाइरहँदा सरकार पक्षले सोही आधारमा आगामी बजेट तयार गरिने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सबै दलका सुझाव समेटेर आवश्यकताअनुसार बजेट बनाइने बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ८३ वटा बुँदामा नीति तथा कार्यक्रम ल्याएको छ । अब नीति तथा कार्यक्रममाथि प्रदेशसभामा दफावार छलफल हुनेछ ।
