काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित युरोपेली संघ (इयु) तथा यसका सदस्य राष्ट्रका राजदूत तता काठमाडौंस्थित अन्य मुलुकका राजदूतसंग सामूहिक भेट गरेका छन्। भेटमा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र जनताबाट प्राप्त जिम्मेवारीलाई गहन रुमा बोध गरिरहेको बताएका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले राजदूत वा विदेशी कुटनीतिज्ञलाई एक्लाएक्लै भेट्ने गरेका छैनन्। प्रधानमन्त्री शाहले कुटनीतिज्ञलाई एकै स्थानमा बोलाएर भेटवार्ता गरेपछि यो शैलीको चर्चा चलिरहेको छ। जसअनुसार उनले राजदूत तथा कुटनीतिज्ञहरुसंगको भेटमा वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएको उनको सचिवालयले जनाएको छ ।
फागुन २१ मा सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भएपछि नीतिगत निरन्तरता रहनेमा जोड दिइएको बताइएको छ ।
’नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन । नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ ।’, प्रधानमन्त्री शाहको भनाई उदृत गर्दै प्रेस सल्लाहकार दीपा दाहालले भनेकी छन्। यस्तै, सरकार जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेकोमा समेत जोड दिइएको बताइएको छ।
विदेश नीतिबारे के भने ?
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित एवम् व्यवहारिक विदेश नीतिको पक्षमा उभिने भन्दै छिमेकी र मित्र राष्ट्र तथा विकास साझेदारसंगको आपसी सम्बन्ध, सम्मान, सार्वभौमिकता, समानता र साझा समृद्धिका सिद्धान्तमा निर्देशित हुने गरि अघि बढ्ने जिकिर गरेका हुन्। नेपालको विकास तथा अन्य विषयमा साझेदारी गर्ने राष्ट्रहरुमा आबार व्यक्त गरेका शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिपरेको समेत जानकारी दिएका हुन्।
विश्वमा चलिरहेका द्वन्द्धबारे चासो
विश्वमा विभिन्न रुपले चलिरहेका द्वन्द्धको स्थायी समाधान हुनुपर्नेमा जोड दिएका शाहले द्वन्द्धको प्रभाव सर्वसाधारण नागरिकमा नै धेरै हुने र पीडा भोग्नुपर्ने हुनाले शान्ति कायममा जोड दिनुपर्नेमा जोड दिएका छन्। मुढभेडभन्दा संवाद, कुटनीति र अन्तराष्ट्रिय कानूनको पालनामा अघि बढे विश्वमा शान्ति छाउने शाहले राजदूतसंगको भेटमा भनेका हुन्।
यस्तै, भेटमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए । साथै, कुटनीतिज्ञहरुले नेपालको सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री शाहलाई बधाई समेत दिएका थिए ।
