News 24 Television
संसद रणसंग्राम बन्दै, प्रधानमन्त्री खोजेको खोज्यै विपक्षी

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको हरेक बैठकमा कचिंगल भइ नै रहेको छ । खासगरी प्रधानमन्त्री बालेन्द्र शाहको भूमिकालाई लिएर विपक्षी दलका सांसदहरुले विरोध गर्दै आएका छन् । प्रधानमन्त्री शाहले संसदीय मर्यादालाई अवमूल्यन गरेको भन्दै संसदमा खोजी भइरहे पनि बेवास्ता गरिँदै आएको छ । 

फागुन २१ को निर्वाचनपछि झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार छ । रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री छन् । तर प्रधानमन्त्री शाहले भने संसदलाई पूर्ण रुपमै वेवास्ता गर्दे आएका छन् । रास्वपा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहँदा बीचैमा उठेर हिडेका प्रधानमन्त्री शाह त्यसयता संसद छिरेका छैनन् । 

सदनमा राष्ट्रपतिले बोल्दै सबैले मर्यादापालन गर्नुपर्ने उल्लेख भए पनि प्रधानमन्त्री शाहले संसदीय मर्यादाको ख्याल गरेनन् । त्यसपछिका संसद बैठकमा विपक्षी दलहरुले संसदीय मर्यादाको ख्याल गर्न प्रधानमन्त्रीलाई सचेत गराइरहे । तर पनि प्रधानमन्त्री शाहले सदनलाई दुत्कार्दै आए ।

सरकारको नीति कार्यक्रम मात्र होइन, प्रिबजेट छलफललाई पनि प्रधानमन्त्री शाहले वेवास्ता गरिदिए । छलफलमा उठेका प्रश्नकोसमेत प्रधानमन्त्रीले जवाफ दिन आवश्यक ठानेनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका सबै विपक्षी दलहरु एक ठाउँमा उभिएर संसदमा प्रधानमन्त्रीको खोजी गरिरहे । 

बरु विपक्षीको विरोधको पनि बेवास्ता गर्दै सभामुख डोलप्रसा अर्यालले सदनको कारबाहीलाई निरन्तर अगाडि बढाइरहे । पहिलो पटक संसदमा छिरेको श्रम संस्कृति पार्टीले त प्लेकार्ड नै बोकेर प्रधानमन्त्रीको विरोध गर्दै राजीनामा नै माग्यो । प्रधानमन्त्रीको कार्यशैलीबाट विपक्षी मात्र होइन, सत्तारुढ दल पनि सन्तुष्ट छैन । रास्वपाका केही सांसदहरुले प्रधानमन्त्रीले संसदीय मर्यादाको ख्याल गर्नुपर्ने प्रश्न उठाए पनि औपचारिक रुपमा बोलेको छैन । बरु रास्वपाकै केही सांसदहरुले विपक्षीलाई अझ उत्तेजित पार्ने अभियब्यक्ति सदनमै दिइरहेका छन् । 

रावपा सांसद खरेलले विपक्षीले ब्यवस्थापिकाप्रति सरकारका जवाफदेहिता खोजिरहँदा मंगलबारको बैठकमा विपक्षीलाई झनै उत्तेजित बनाउने अभिब्यक्ति दिँदा संसद बैठक नै अवरुद्ध हुन पुगेको थियो । प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रास्वपाले समेत सकिरहेको छैन । यद्यपी मंगलबारको बैठकमा भने रास्वपाले छिट्टै प्रधानमन्त्री शाह संसदमा उपस्थित हुने भन्दै आश्वस्त पार्न खोज्यो । तर पनि निश्चित समय भने तोक्ने सकेन । 

यसअघिका पटक पटकको संसद बैठकमा प्रधानमन्त्रीको खोजी भइरहँदा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित गराउने प्रयास नगरेका पनि होइनन् । तर प्रधानमन्त्री शाहले सभामुखलाई समेत नटेरेपछि उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सकेका छैनन् ।

सत्तारुढ दल रास्वपा सांसद खरेलले विपक्षीलाई उत्तेजित बनाए पनि सभामुख अर्याल भने विपक्षी दलहरुको प्रश्नलाई स्वभाविक भनेका छन् । संसदप्रति सरकारको जवाफदेहिता खोज्नु स्वभाविक भएको सभामुख अर्यालको भनाई छ । 

प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्नुपर्नेमा सभामुख अर्याल नै गैरजिम्मेवार बन्दै आएका छन् । प्रधानमन्त्रीलाई रुलिङ गर्न सक्ने कानूनी आधारलाई समेत सभामुख अर्यालले टेक्न सकेका छैनन् । राज्यका प्रमुख ३ अंगहरु मध्ये ब्यस्थापिका एक हो । 

नेपालको संविधान अनुसार यहि ब्यवस्थापिकाबाट चुनिएर नै शाह मुलुकको शक्तिशाली प्रधानमन्त्री भएका हुन् । तर संसदीय मर्यादा पालना नगर्ने र संसदीय ब्यवस्थालाई नै दुत्कार्ने प्रधानमन्त्रीको शाहको रवैयाले स्वयम् रास्वपालाई नै क्षति गर्नेछ ।

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  ०९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update