News 24 Television
बजेटमा एआई र डिजिटल नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा एआई, डिजिटल सेवा, स्टार्टअप र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता दिएको छ । सामाजिक सुरक्षा प्रणाली सुधारदेखि विद्युत निर्यात र अधुरा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने रणनीतिले यसपटकको बजेट अघिल्ला वर्षभन्दा फरक देखिएको छ । 
 
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अघिल्ला वर्षहरूको तुलनामा केही फरक र नयाँ दृष्टिकोणसहित आएको देखिन्छ । यसपटक बजेटमा कृत्रिम बुद्धिमत्ता एआई, डिजिटल सेवा र नवप्रवर्तनलाई बजेटमा विशेष जोड दिइएको छ । 

विद्यालय तहदेखि डिजिटल शिक्षा र प्रविधिमैत्री प्रशासनको अवधारणा अघि सारिनुले विगतका बजेटभन्दा यो फरक देखिएको छ । सरकारले यसपटक सामाजिक सुरक्षा प्रणालीलाई लक्षित र व्यवस्थित बनाउने प्रयास गरेको छ । 

सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ अभियानमार्फत सामाजिक सुरक्षा भत्ता वास्तविक आवश्यकतामा आधारित बनाउने नीति अघिल्ला बजेटभन्दा फरक छ । ऊर्जा क्षेत्रमा यस वर्ष विद्युत निर्यात र औद्योगिक उपयोग लाई प्राथमिकता दिइएको छ । 

केवल उत्पादन बढाउने होइन उद्योगलाई सहुलियतपूर्ण विद्युत उपलब्ध गराएर अर्थतन्त्र चलायमान बनाउने नीति नयाँ रणनीतिका रूपमा आएको छ । बजेटले यसपटक स्टार्टअप, युवा उद्यमशीलता र उत्पादनमा आधारित अर्थतन्त्रलाई बढी जोड दिएको छ ।

नवप्रवर्तन, स्टार्टअप फन्ड र निजी क्षेत्रसँग सहकार्य गर्ने योजनाले युवालाई लक्षित आर्थिक नीति स्पष्ट देखाएको छ । अघिल्ला वर्षमा जस्तै केवल नयाँ ठूला आयोजना घोषणा गर्नेभन्दा यसपटक सरकारले ठूला राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्यलाई प्राथमिकता दिएको छ । सडक करिडोर, खानेपानी, विमानस्थल र प्रसारण लाइनजस्ता अधुरा परियोजना सम्पन्न गर्ने रणनीति बजेटको मुख्य विशेषता बनेको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update