News 24 Television
सेनाले फालेको हतियार प्रहरीको हातमा !

काठमाडौं । आन्दोलन तथा भिड नियन्त्रणको जिम्मेवारी पाएको नेपाल प्रहरीसँग आवश्यक स्रोतसाधन नभएको कुरा सार्वजनिक भइ नै रहेका छन् । अन्तर्राष्ट्रिय नियम अनुसार भीँड नियन्त्रणका लागि पहिले चेतावनी, त्यसपछि पानीको फोहोरा, अश्रुग्याँस वा लठीचार्ज र, अन्तिम अवस्थामा मात्रै घुँडामुनि कम घातक रबर बुलेट प्रहार गर्न सक्ने प्रावधान छ । 

प्रहरीसँग प्रयाप्त स्रोत साधन नभएको कुरा जेनजी आन्दोलनपछि गठित गौरीबहादुर कार्की आयोग र मानव अधिकार आयोगको प्रतिवेदनमै उल्लेख छ । अझ नेपाली सेनाले प्रयोगविहिन भएपछिका पुराना र घातक हतियारको भरमा प्रहरी सडकमा खटिनुपर्ने बाध्यता छ । 

समाजमा शान्ति सुरक्षा कायम गर्ने र अपराध अनुसन्धानको जिम्मेवारी पाएको नेपाल प्रहरी होस् या अर्ध सैनिक बल सशस्त्र प्रहरी बल हुन, भीड नियन्त्रणका लागि खटिँदा दुवै सङ्गठन घातक हतियार बोकेर खटिन्छन् । 

जसले गर्दा आन्दोलनकारीको ज्यान नै जाने जस्ता क्षति हुने गरेका छन् । गत भदौ २३ गते पनि प्रहरीले बोकेको घातक हतियारबाट नै प्रर्दशनकारीको मृत्युभएको थियो । भीड नियन्त्रणमा खटिँदा बल प्रयोग गर्नुपर्ने अवस्था आए पनि कम मानवीय क्षति होस् भनेर सटगन मार्फत रबर बुलेटको प्रयोग हुनु पर्ने हो । तर, दुवै सङ्गठनसँग सट गन जस्ता कम घातक हतियारको अभाव छ ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको २९ पृष्ठको संक्षिप्त प्रतिवेदन र २०८२ फागुन २४ मा पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनले एउटै गम्भीर तथ्य औँल्याएका छन् कि नेपालका सुरक्षा निकायसँग भीड नियन्त्रणका लागि आवश्यक सामग्रीकै चरम अभाव छ । 

नेपाल प्रहरीसँग भएका घातक हतियार के के छन् ?

प्रहरीको कुल जनशक्तिः ८० हजार

कुल हतियारमध्ये घातक हतियारः करिब तीन चौथाइ

थ्री नट थ्री (३०३) राइफलः झण्डै २० हजार (जसमध्ये आधा काम नलाग्ने) 

एसएलआर राइफलः करिब ७ हजार

इन्सास राइफलः करिब २ सय

कुल चालु घातक हतियारःकरिब २७ हजार नाल

सट गन नभएको प्रहरीसँग आफैँ लोड हुने एसएलआर अर्थात सेल्फ लोडिङ राइफल र इन्सास अर्थात इन्डियन स्मल आर्म सिस्टम मात्र होइन, एलएमजी, एसएमजीदेखि एलएसडब्लु जस्ता घातक राइफल छन् । 

अश्रुग्याँस सेलको संख्या बरु कम छ । यस्ता घातक हतियार प्रशस्तै छ । प्रहरीले साना हतियारमा उसले प्रयोग गर्ने भनेको बेरेटा सहित भारतीय र चिनियाँ पेस्तोल हुन् ।

इन्सास र एलएमजी कति घातक ?

इन्सास जस्ता एसल्ट राइफलले सामान्यतया ५.५६ एमएमको गोली प्रयोग गर्छन् । यी राइफलले छोटोदेखि मध्यम दूरी प्रायः ३००–४५० मिटर भित्र व्यक्तिलाई लक्षित गरी मार्न सक्ने वा गम्भीर चोट पुर्याउन सक्छन् । कुनै मानिसलाई गोली लागेको खण्डमा रगत बग्ने, अंगमा क्षति हुने वा मृत्यु नै हुन सक्छ । त्यसैले यी हतियार व्यक्तिगत रूपमा धेरै खतरनाक मानिन्छन् । 

यस्तै एलएमजीले लामो समयसम्म लगातार गोली प्रहार गर्न सक्छ । यसले एकैपटकमा निश्चित क्षेत्रभित्र रहेका धेरै मानिसलाई जोखिममा पार्न सक्छ र भीडमा ठूलो क्षति पुर्याउन सक्छ। ठूलो क्यालिबरको एलएमजीको पेनिट्रेशन र रेन्ज बढी हुन्छ। यसको रेन्ज ६०० देखि १००० मिटरसम्म हुन्छ। एलएमजीले समूह वा भीडमा प्रहार भएमा ठूलो क्षति पुर्याउन सक्छ । यी यति घातक हतियार भए पनि भिड नियन्त्रणमा यसकै प्रयोग गर्न प्रहरीको बाध्यता छ । 

सेनाका थोत्रा हतियार प्रहरीलाई जिम्मा

अझ रोचक त, सडकमा देखिने यी घातक हतियार सुरक्षा निकायले आफैँ किनेका होइनन् । नेपाली सेनाले प्रयोगविहिन भएर थन्क्याएका हतियार हुन् । आधुनिक हरितयार खरिद भएपछि सेनाले यस्ता पुराना हतियारहरु प्रहरीलाई हस्तान्तरण गर्ने गरेको छ । 

द्वन्द्वकालमा सेनाले इन्सास पाएपछि प्रहरीलाई एसएलआर दिइएको थियो । पछि सेना एम–१६ तिर लागेपछि २०७७ र २०७८ सालमा हजारौँ नाल इन्सास र एलएसडब्लु हतियार औपचारिक कार्यक्रम गरेरै प्रहरी र सशस्त्रलाई भिडाइएको थियो । 

भीड नियन्त्रणमा के चाहिन्छ ?

अन्तर्राष्ट्रिय अभ्यास अनुसार, भीड नियन्त्रणमा खटिने सुरक्षा सङ्गठनले कम क्षति हुने सामग्री र हतियार प्रयोगलाई प्राथमिकता दिने गरिन्छ । भीड नियन्त्रणमा सुरक्षाकर्मीको सुरक्षाका लागि शिल्ड र हेल्मेट÷बडी प्रोटेक्टरलाई प्राथमिकता दिइन्छ । 

नेपालमा पनि यसको प्रयोग त हुन्छ, तर खरिद प्रक्रिया प्रायः विवादित र कम गुणस्तरको हुने गरेको छ ।  टेजर÷इलेक्ट्रिक शक डिभाइस र फ्ल्यास–ब्याङ÷ध्वनि–विस्फोटकको पनि प्रयोग हुने भए पनि नेपालमा यस्ता उपकरणको प्रयोग हुने गरेको छैन् । 

लाठीसँगै पानीको फोहरा, पेपरस्प्रेको प्रयोग समेत प्रचलनमा छ। नेपालमा लाठीको प्रयोग पहिलाबाटै भइरहेको छ। भीड हटाउन वा व्यक्तिलाई नियन्त्रणमा लिन नजिकबाट लाठी,पेपरस्प्रे र पानीको फोहोराको प्रयोग प्रभावकारी मानिन्छ ।

भीड नियन्त्रणमा तेस्रो विकल्प भनेको रबर बुलेट हो। अधिक बल प्रयोगको चरणमा सर्टगनबाट यसको प्रयोग हुन्छ। सकेसम्म कम मानवीय क्षति होस् भन्ने लक्ष्यले घुँडामुनि यसको प्रयोग गरिन्छ। नेपालमा भीड नियन्त्रणमा यसको पनि प्रयोग गरिन्छ । तर प्रहरीले आवश्यक मात्रामा यस्ता  साम्रगी  पाउन सकेकै छैन ।

प्रहरीले माग गरेका गैरघातक हतियार के के हुन् ?

प्रहरीले १० वर्षदेखि आफूले खोजिरहेको साधन पाएको छैन । प्रहरीले पछिल्लो समय २०७९ सालमा ११ सय ७५ थान भिड नियन्त्रणमा प्रयोग हुने सिल्ड ढाल र १८ सय ६० हेल्मेट खरिद गरेको थियो । त्यस बाहेक पछिल्लो एक दशकमा जम्मा ४० हजार सेल टियर ग्याँस उसले पाएको छ । जबकि प्रहरीका लागि तत्काल तीन लाख सेल रबर बुलेट आवश्यक रहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

२०८० पुस ३ गते प्रहरी प्रधान कार्यालयले आफूलाई चाहिने २१ प्रकारका साधन उपलब्ध गराउन माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो। जसमा सवारी साधनदेखि भिड नियन्त्रणमा प्रयोग हुने सामग्रीसम्म छन् ।

हरेक दिनजसो हुने आन्दोलन तथा प्रदर्शनमा सबैभन्दा धेरै प्रयोग हुने टियर ग्यास नेपाल प्रहरीले तीन वर्ष एक सेल पनि खरिद गरेको छैन । भएको टियर ग्यास पनि म्याद सकिएर प्रयोग गर्न नसकिने अवस्थामा  पुगेको छ ।

भिडमा प्रयोग गर्दा मान्छेको ज्यान नजाने र प्रहरीकै तालिममा प्रयोग गरिने रबर बुलेट खरिद नभएको ८ वर्ष भयो। २०७५ सालमा २५ हजार रबर बुलेट किनेको प्रहरीले अहिले तीन लाख मागेको छ । गोलीको जस्तै आवाज आउने तर वास्तविक गोली नहुने ब्ल्याक राउण्ड १ लाख खरिद गर्नुपर्ने छ । त्यस्तै टियर ग्यास २४ हजार थान, भिड नियन्त्रण गियर ८८ सय थान र प्रहरीको सुरक्षामा प्रयोग हुने शिल्ड ८८ सय माग गरेको एक वर्षभन्दा बढी भयो । 

प्रहरीले कामचलाउका लागि म्याद सकिएकै सामानको प्रयोग गर्दै आएको छ । प्रहरीले सवारी साधन, भिड नियन्त्रणका लागि आवश्यक उपकरण तथा साना हतियारसहित २५ अर्बको सामान चाहिएको जानकारी गृहमा गराएको छ । तर बजेट सुनिश्चित भएको छैन । सडक सुरक्षित राख्ने प्रहरीलाई नै अत्याधुनिक र गैर–घातक उपकरणबाट वञ्चित राखिँदा सुरक्षा प्रबन्ध असफल हुने र नयाँबानेश्वरका जस्ता घातक घटनाहरू सडकमा पटक–पटक दोहोरिने जोखिम उत्तिकै रहन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update