News 24 Television
चुनावी पराजयको खोजिदै– पार्टी पुनर्गठन हुन्छ, सरकारको विरोध गर्नूः ओली

काठमाडौं । नेकपा एमालेले फागुन २१ मा सम्पन्न निर्वाचनलाई अस्वभाविक भन्दै परिणामबारे विस्तारै खुल्ने भन्दै अन्तरपार्टी निर्देशन जारी गरेको छ। नेतृत्व रस्साकस्सीकाबीच सम्पन्न एमाले सचिवालय बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी ओलीले पुनर्गठन र पुनर्जागरणको आशा देखाएका छन्। 

एमालेमा नेतृत्वको विषयलाई लिएर लामो रस्साकस्सी नै चल्यो। विरामी शरिर लिएर पार्टीको नेतृत्व गरिरहेका केपी ओलीमाथि बहुसंख्यक सचिवाल सदस्यहरुले मार्गप्रशस्त गर्न दबाब दिए। पार्टी विधानका धारा र अध्यक्ष पद कस्तो बेला खाली हुन सक्छ भन्ने विषय उठाउदै ओलीले सचिवालय सदस्यमा आफ्नाविरुद्ध आवाज उठाउनेलाई निर्वाचन कसले जित्यो भन्दै प्रतिप्रश्न पनि गरे। 

जसोतसो सकिएको सचिवालय बैठकले मिसन पार्टी जागरण अभियान चलाउने भएको छ। जसमा कार्यविभाजनदेखि धेरै कुरा अघि सारिएका छन्। यस्तोमा ओलीले नै पार्टीको नेतृत्व गर्दै एमालेपंक्तिमा देखिएको निराशा, हतास र पलायनलाई रोक्ने भनेका छन्। 

अन्तरपार्टी निर्देशनमा ओलीले भनेका छन्, ’पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाइने छ ।’ चुनावी परिणामको समीक्षा गर्नका लागि एमालेले रामबहादुर थापा ’बादल’को नेतृत्वमा कार्यदल बनाएको छ भने प्रदेश तथा तल्लो तहबाट रिपोर्टहरु आइरहेको भनिएको छ। त्यसपछि तयार हुने प्रतिवेदनले निर्वाचन परिणामबारे धेरै कुरा खोल्ने अध्यक्ष केपी ओलीले जिकिर गरेका छन्। 

सरकारविरुद्ध आक्रामक

अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी ओलीको पक्राउलाई अवैध र प्रतिशोधपूर्ण क्रियाकलाप भनिएको छ। सरकार निर्माणकै मध्यरातदेखिको अभ्यासपश्वास ओलीलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरियो। ओलीविरुद्धको पक्राउमा सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणको मुद्दामा सुनुवाई भयो। सरकारले अभियोजन दर्ता गर्न नसकेपछि ओली रिहा भए।

यसरी ओली रिहा भएपछि सरकारले जेनजी आन्दोलनबारे छानविन गर्न बनेको आयोगको कार्यान्वयन भनेपनि फितलो र अन्धाधुन्ध प्रयोग गर्न खोज्दा निष्पक्षतामाथिको प्रश्न पेचिलो बन्न पुग्यो। यता, राष्ट्र्रिय मानव अधिकार आयोगको प्रतिवेदनले त्यहि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनुसन्धान गर्नुपर्ने भनेपछि थप अन्योलता देखिन्छ। उसोतः आयोगको प्रतिवेदनमा पनि ओलीलाई कानून बनाएरै भएपनि कारबाही गर्न भनिएको छ। सरकार अध्यादेशदेखि विभिन्न अवैध बाटोमा लम्किन खोजेका कारण पनि सरकारी चरित्रको भण्डाफोर गर्नुपर्ने, विरोध जारी राख्नुपर्ने भनिएको छ। सरकारी कदममा कडा निगरानी राख्न समेत ओलीले निर्देशन जारी गरेका छन्।

नेकपाकालमा संगठनमा अराजकता निम्तिएको दाबी

ओलीले एमालेको संगठन विग्रिनुमा तत्कालीन माओवादीसंको एकतापश्वार बनेको नेकपालाई प्रमुख विषय भनेका छन्। नेकपा निर्माणपछि सांगठनिक अराजकता भित्रिएको, पार्टी विभाजन भएको र घेराबन्दीकाबीच एमालेलाई अघि बढाइएकाले अहिले पनि यहि प्रवृत्ति देखिएको र छिट्टै एमाले अघि बढ्ने ओलीले दाबी गरेका छन्। एमालेले सामाजिक सञ्जालको प्रयोगमा जोड दिएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले एल्गोरिदमलाई नै क्याप्चर गर्ने गरि काम गर्दा सर्वसाधारण, मतदातामा भ्रम सिर्जना भएको ओलीको निष्कर्ष देखिन्छ। 

जसमा ओलीले भनेका छन्, ’सूचना प्रविधिमा भएको विकासले पार्टी राजनीतिमा नयाँ तरिकाको विकास आवश्यक भयो भन्ने निष्कर्षका आधारमा हामीले सामाजिक सञ्जालको प्रयोगमा जोड दिएका थियौँ । तर हाम्रो प्रयास पपुलिष्टहरुको आक्रमक प्रपोगण्डका सामू प्रभावकारी भएनन् । उनीहरुले सूचना प्रविधिलाई अल्गोरिदमको तहमा प्रयोग गर्न सफल भए । जनमत त्यसबाट प्रभावित भयो । 

यसबीचमा हाम्रो जनआधारित संगठन प्रणाली पनि सत्ताकेन्द्रित र केन्द्रीत ढाँचामा बदलिन पुग्यो । नेकपाकालको संगठनात्मक अराजकताले हाम्रो व्यवस्थित कमिटी प्रणाली खलबलिन पुग्यो । नेता र कार्यकर्ताका व्यवहार र आचारणमा पनि कमजोरी देखिन थाले । 

जनवादी र जनमुखीशैली कमजोर हुँदै गयो । यसले पनि हामीले गरेका राम्रा कामहरु जनताका बीचमा स्थापित गर्न समस्या भएको अनुभूती हामी सबैलाई भएकै छ । यस प्रकारको अवस्थाबाट पार्टीलाई कसरी सुदृढ र व्यवस्थित गर्दै पुनजागृत गर्न सकिन्छ भन्ने कुरामा हामी सबैको ध्यान जानु आवश्यक छ ।’यस्तै ओलीले पार्टी सदस्यता नविकरणको काम जेठ मशान्तसम्म सक्न समेत निर्देशन दिएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update