कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भए पनि समर्थक सांसदको संख्या घटेपछि तत्कालका लागि उनको पद सुरक्षित बनेको छ । बहुमत सांसदले दलको नेता फेर्ने प्रयास अघि बढाएपनि पछि एक जना सांसदले नाम फिर्ता लिएसँगै शाहकको पद जोगिएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८ सांसदमध्ये ९ जनाले दलको नेता परिवर्तन गर्न हस्ताक्षरसहित प्रस्ताव दर्ता गरेका छन् । जेठ ८ गतेको संसदीय दल बैठकको उपस्थितिलाई आधार बनाउँदै दिवानसिंह विष्ट र मानबहादुर रावलले मंगलबार निवेदन दिएका हुन् ।
हस्ताक्षरकर्ताहरूले आवश्यक बहुमत पुगेको दाबी गरेका छन् । कांग्रेस सांसद प्रकाश देउवा लामो समयदेखि अमेरिकामा रहेकाले उपस्थित १७ सांसदमध्ये बहुमतको समर्थन रहेको उनीहरूको भनाइ छ ।
तर सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव तत्कालका लागि निष्प्रभावी बनेको छ । ९ सांसदको हस्ताक्षरमा दर्ता प्रस्तावमा सहभागी सांसद डम्बरी महराले हस्ताक्षर फिर्ता लिएको दाबी गरेपछि शाहमाथिको संकट टरेको हो ।
सांसद दिवानसिंह विष्टको नेतृत्वमा कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । तर सरकार परिवर्तनको उद्देश्यसहित दर्ता प्रस्ताव एक घण्टामै निष्प्रभावी बनेको छ । मुख्यमन्त्री शाहले असन्तुष्ट सांसदसँग छलफल गरी पार्टीलाई एकताबद्ध बनाउने बताएका छन् ।
मुख्यमन्त्री शाहको पद जोगिएसँगै काँग्रेसभित्र नेतृत्व परिवर्तनको विषयमा देखिएको विवादका बीच साम्य हुँदै शक्ति सन्तुलनमा नयाँ मोड आएको छ ।
