News 24 Television
लेखमार्फत भारतसंग नेपालमा मुद्दा पेश, स्वागतसंगै भारतको झस्काउने प्रतिक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा छन्। भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेका रविलाई भाजपाले भव्य स्वागत गरेको छ। भारतमा भव्य स्वागत पाएका रविले भारतीय अखवारमा लेख लेख्दै दुई देशको सम्बन्ध, नेपालको चाहनाजस्ता विषयमा बोलेका छन भने भारतले पनि सीमा विवादमा प्रतिक्रिया दिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ दिने भारत भ्रमणमा छन्। बारतीय जनता पार्टीको निमन्त्रणामा दिल्ली पुगेका रविलाई भाजपाले भव्य स्वागत मात्रै गरेको छैन्, रविको भ्रमण भारतीय सञ्चार माध्यमका लागि विशेष खवर समेत बनिरहेको छ। 

पार्टी सभापतिको हैसियतमा भारत पुगेका रविले राजनीतिक भेटघाट तीब्रताका साथ अघि बढाइरहेको बेला हिन्सुस्तान टाइम्समा रविले लेख नै प्रकाशित गरेका छन्। नेपालमा पत्रकारिता गर्दा खासै लेखमार्फत आफ्ना विचार राख्ने नगरेका रविले भारत भ्रमणको औपचारिक शुरुवात नै लेखमार्फत अघि बढाएका हुन्।

जसमा रविले नेपालमा भएको राजनीतिक परिवर्तन, युवाको चाहना, चुनावबाट प्राप्त जनादेश, नेपाल–भारत सम्बन्ध र अनेक आयामबारे उल्लेख गरेका हुन्। 

रविले जनकपुर, अयोध्या, पशुपति, केदारनाथ, लुम्बिनी, बोधगया लगायतका ऐतिहासिक स्थलबारेको चर्चा र कनेक्टीभिटीमार्फत दुई देशको सम्बन्ध बलियो बनाउने जिकिर गरेका छन्। विगतमा दुई देशबीच देखिएका समस्या विर्सिएको र नयाँ शीराबाट शुरुवात गर्न चाहेको समेत उनले उल्लेख गरेका हुन्। यस्तै, रविले पोखरा र लुम्बिनीबाट भारतका शहरहरु दिल्ली, मुम्बई, बेङ्लुरु जस्ता स्थानमा सीधा हवाई उडान गर्नुपर्नेमा समेत जोड दिएका छन्। जुन क्षेत्रमा भारतले चासो नदेखाएको कुरा लुकेको छैन्। 

यस्तै, भारतले नेपाललाई थप हवाई रुट नै दिन आनाकानी गरिरहेको बेला रविले यो विषयलाई महत्वका साथ अघि बढाएर नेपालको चाहना भारतसामू सञ्चारमाध्यममार्फत अघि सारेका छन्। विगत ३० वर्षको राजनीतिलाई भ्रष्टाचार र अस्थिर राजनीतिसंग जोडेका रविले रास्वपा सरकार बनेको दुई महिनामै धेरे कामहरु सम्पन्न हुने बाटोमा गएको दाबी गरेका छन। यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई सम्बोधन गरेको घटना स्मरण गर्दै लामो प्रशंसासमेत गरेका छन् । उनले मिति (सन् २०१४ अगस्ट ३) नै उल्लेख गरेर त्यसले दुई देशबीच गहिरो सम्बन्ध स्थापित गरेको नयाँ उचाइको आधारविन्दु बनेको भनेका छन् । 

भव्य स्वागत

भारत भ्रमणमा रहेका रवि लामिछानेलाई भारतीय जनता पार्टीको कार्यलयमा भव्य स्वागत गरिएको थियो। रविलाई भाजपा अध्यक्ष नितिन नविनले स्वागत गरेका थिए भने उनलाई नाचसहित बाजाले स्वागत गरिएको थियो।

नेपाली नेताहरुलाई बोलाएर भाजपाले ठूलो पोस्टर बनाउदै स्वागत गरेको यो रोचक घटनालाई धेरैले रोचक ढंगले हेरिरहेका छन्। रविले भाजपाको कार्यालयमा पुगेर नेपालकोतर्फबाट उपहार समेत दिएका छन्।

यस्तै भाजपाको कार्यालयसंगै रविले भारतीय विदेशमन्त्री एस जयशंकरलाई समेत भेटेका छन्। जयशंकरले रविसंगको भेटबारे आफ्नो सामाजिक सञ्जालबाट समेत जानकारी दिएका छन्। 

जयशंकरले नेपालको विकासमा सहकार्यदेखि जनता–जनताबीचको सम्बन्धबारे चर्चा गरेका छन्। 

सीमा विवादबारे बोल्यो भारत

नेपाल भारतबारेको सीमा विवादमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले औपचारिक धारणा राखेका छन्। नेपाल भारतको सीमा विवादलाई सम्वादमार्फत हल गरिने दाबी गरेका बारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेश्रो पक्षको भूमिका स्वीकार गर्न नसकिने भनेका छन्।

दुई देशबीचको सीमांकनको कार्य करिव ९८ प्रतिशत सम्पन्न भइसकेको दाबी गरेका प्रवक्ता जयसवालले गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषयहरू सुल्झिन बाँकी रहेका दाबी गरेका छन्। यसका साथै, सीमांकन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र दशगजा (नो म्यान्स ल्याण्ड) अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्शांकन भइरहेको र नेपालर भारतबीचको सीमा मामिला पूर्णतः द्विपक्षिय विषया भएकाले कुनैपनि तेस्रो मुलुकको भुमिका नरहने दाबी गरे। 

तेश्रो पक्ष भन्दै दिएको संकेत कता ?

भारतले तेश्रो पक्षको भूमिका स्वीकार नगर्ने भन्दै रास्वपा सभापति रवि लामिछानेकै भारत भ्रमणको बेला दिएको अभिव्यक्तिबारे भने चर्चा शुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दुई देशको सीमा विवादबारे समाधान खोज्न बेलायतसंग पनि कुराकानी भएको र तत्कालीन इस्ट इन्डिया कम्पनीसंग गरिएको सुगौली सम्झौतापछि नै न्याय खोज्ने बताएका थिए। वालेन्द्रले दिएको यहि अभिव्यक्तिलाई लक्षित गर्दै भारतले तेश्रो पक्षको भूमिका अस्वीकार गर्ने दाबी गरेको देखिन्छ। जुन विषयको विवाद थप पेचिलो समेत बन्न सकिने खतरा रहन्छ।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update