काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरुले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म कुनै काम अघि नबढ्ने जिकिर गरिरहेका छन्। यता, राष्ट्रियसभाले पनि यहि स्पिरिडमा बैठक अवरुद्ध पार्न थालेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रतिक्रिया जनाएको छ। के अबको संसद सहज हघि बढ्ला? चासो देखिन्छ ।
संघीय संसद अवरुद्ध बनिरहेको छ। प्रतिनिधिसभा त आगामी सोमबारसम्मका लागि स्थगित नै भएको छ। प्रतिपक्षी दलहरुले संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल भारत सीमाबारे दिएको अभिव्यक्ति नसच्चिएसम्म कुनै पनि काम अघि नबढ्ने भनिरहेका छन् ।
प्रतिपक्षी दलहरुले संसद चल्न नदिने कारणमा देखाएको विषयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको बचाउ गरेको छ। रास्वपाका सांसद कविन्द्र बुर्लाकोटीले दशगजा क्षेत्रको विषयलाई लिएर बचाउको प्रयास गरेका छन् ।
संसदमा अवरोध गरेका प्रतिपक्षी दलहरुले भने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र माफी नै माग्नुपर्ने भनिरहेका छन्। संसद बैठकबाट बाहिरिएर समेत उनीहरुले यहि विषयमा जोड दिएको देखिन्छ ।
सत्ता र प्रतिपक्षीबीच सीमा विवादबारे लिएका अडानकाबीच के होला भन्ने चासो भने बढिरहेको छ। नेपाल भारत सीमा विवादमा अहिलेसम्म कार्यकारीबाट यसरी अभिव्यक्ति समेत आएको देखिन्न भने आफ्नो देशले पनि अर्काको सीमा मिचेको भन्दै कुटनीतिक अपरिपक्कता देखाउने गरेका दृष्टान्त समेत देखिन्नन्। यस्तोमा सत्ता र प्रतिपक्षीको विषय जस्तो बन्न पुग्दा यसले थप क्षति हुनेतर्फ समेत विज्ञले सुझाउन थालेका छन् ।
