काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक सन्देश दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय शीर्ष नेतृत्वसँगको भेट र भारतले देखाएको चासोले रविलाई नेपालको उदाउँदो शक्ति तथा भविष्यको प्रभावशाली नेतृत्वका रूपमा हेरिएको संकेत गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक संकेत दिएको छ । नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तासहित भारतीय सत्तारुढ दलका शीर्ष नेताहरूसँगको संवादलाई भारतले विशेष महत्व दिएको रुपमा बुझ्न सकिन्छ ।
भ्रमणका क्रममा रविले भारतीय जनता पार्टीका अध्यक्ष तथा प्रभावशाली नेता नितिन नवीन लगायत विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाह लगायतका उच्च तहका राजनीतिक नेतृत्वसँग भेट गरेका छन् ।
भारतीय पक्षले रविसँगको भेटलाई अर्थपूर्ण र सकारात्मक संवाद भन्दै दुई देशबीचको राजनीतिक तथा जनस्तरीय सम्बन्ध अझ सुदृढ बनाउने अवसर भनेको छ ।
मोदि–रवि भेटवर्ता
नयाँ दिल्लीमा बुधबार रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ । भेटपछि मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने रविको चाहनालाई स्वागत गर्दै नेपाल भारतको प्राथमिक साझेदार रहेको बताएका छन् । उनले दुई देशबीचको विशेष सम्बन्धलाई थप उचाइमा पु¥याउन सहकार्य गर्न भारत उत्सुक रहेको उल्लेख गरे । यता लामिछानेले पनि १ घण्टा लामो भेटमा रचनात्मक कुराकानी भएको बताएका छन् ।
उच्च सम्मानको कारण
भदौँ २३ गते अगाडिको दृश्य सम्झिने हो भने रवि रुपन्देहीको ५० डिग्रि तापक्रममा एउटा साँघुरो कोठाभित्र सहकारी ठगीको आरोपीका रुपमा कैदी जीवन विताइरहेका थिए । तर अहिले पासा पल्टिएको छ । झण्डै दुई तिहाईको बहुमतसहित राजनीतिक छलाङ मार्दा अहिले रवि देशकै सबैभन्दा ठूलो राजनीतिक स्टेक होल्डर बनेका छन् ।
यसैलाई अहिले भारतले प्राथमिकता दिइरहेको छ । नेपालमा पछिल्लो राजनीतिक परिवर्तन, नयाँ पुस्ताको उदय र रास्वपाको दबदबाका बीच भारतले रविलाई उदाउँदो शक्तिका रूपमा हेरेको संकेत देखिएको छ । भ्रमणअघि नै भारतीय सञ्चारमाध्यमहरूले रवि मोदी भेटलाई प्रमुख समाचार बनाएका थिए भने भ्रमणका क्रममा उनको गतिविधिलाई उच्च प्राथमिकताका साथ कभरेज गरिरहेका छन् ।
भारतीय चासो
रविको यो भ्रमणले के स्पष्ट गरेको छ भन भारत परम्परागत दलहरूमात्र नभई नेपालका नयाँ राजनीतिक शक्तिसँग पनि सम्बन्ध विस्तार गर्ने रणनीतिमा अघि बढेको छ । रविको भ्रमण त्यसैको उद्धाहरण भएको विश्लेषकहरु बताउँछन् । तर यो भ्रमणमा रविलाई दिएको उच्च प्राथमिकताजस्तै दुई देशबीचमा लामो समयदेखि समस्याका रुपमा रहेको सीमा विवादलाई सुल्झ्याउने बाटोमा भारत भयो भने मात्रै अहिले दिएका महत्व र सम्मानले सार्थकता पाउँछ ।
भारतसँग किन सशकित ?
निर्वाचनबाट निश्चित समयका लागि सत्तामा पुग्ने भारतीय राजनीतिक नेतृत्वभन्दा पनि त्यहाँको ब्यूरोक्रेसी नेपालका लागि सबैभन्दा ठूलो समस्या हो । कमजोर छिमेकी देशसँग भारतीय व्यूरोक्रेसी अहिलेपनि इन्दिरा गान्धी डक्ट्रिन अनुसार चल्छ । छिमेकी मुलुकका मामिलामा क्षेत्रीय प्रभाव कायम राख्ने नीति नै नेपाल भारत सम्बन्धमा सबैभन्दा बिझाउने पाटो हो । यही प्रभावका कायम राख्न भारतले नेपालमा माइक्रो म्यानेजमेन्ट गर्दै आएको आरोप लाग्छ ।
२००७ साल यताकै दृष्टान्तहरुलाई हेर्ने हो भने पनि भारतले नेपालसँग यस्तै व्यवहार गरिरहेको देखिन्छ । भारतले नेपालमा हरेक समय ब्याकअपका रुपमा अर्को समानान्तर शक्ति तयार गर्ने गरेको आरोप लगाइन्छ । यसअघि भारतसँग नजिक देखाउन पुराना दलहरुमा देखिने गरी दौडधुप नै चल्थ्यो ।
आज ती पुराना शक्तिहरु कम्तिमा ५ वर्षका लागि किनाराकृत भएपछि भारतको चंगुलको राडारमा रास्वपा पर्न लागेको त होइन भन्ने आशंकालाई नाजायाज मान्न नसकिने नेपाल भारत सम्बन्धका जानकारहरु बताउँछन् ।
