मकवानपुर । थाहा नगरपालिकाको पालुङ क्षेत्रमा यतिबेला आलु खन्ने चटारो छ । किसान आलु बजार पठाउन व्यस्त छन् । आलुको मूल्य घट्दा केही किसान चिन्तित छन् । तर नयाँनयाँ तरकारी खेती अपनाएकाहरूले राम्रो आम्दानी गरिरहेका छन् ।
मकवानपुरका १० स्थानीय तहमध्ये थाहा नगरपालिका बेमौसमी तरकारी खेतीको प्रमुख केन्द्र हो । यहाँको मुख्य आयस्रोत कृषि हो । पालुङ, बज्रबाराहीलगायत क्षेत्रका किसान यतिबेला आलु खन्ने र बिक्री गर्ने काममा व्यस्त छन् ।
फागुनमा लगाइएको आलु जेठदेखि बजार पठाइन्छ । तर यस वर्ष आलुको मूल्य अपेक्षाभन्दा कम हुँदा किसान निराश बनेका छन् ।
केही वर्षअघिसम्म यस क्षेत्रमा आलु र काउलीको मात्र खेती गरिन्थ्यो । तर बजारको माग र आम्दानीको सम्भावना बढेसँगै कृषकहरू अन्य तरकारी बालीतर्फ आकर्षित भएका छन् ।
आलुको उचित मूल्य नपाउने समस्या दोहोरिरहेपछि उनीहरू विविधीकृत र व्यावसायिक खेतीतर्फ उन्मुख भएका हुन् । थाहाका कृषक निरोज प्रधानले परम्परागत बालीसँगै उच्च मूल्यका नयाँ तरकारी उत्पादन गरिरहेका छन् ।
अन्य आलु १०–१५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेका बेला उनले उत्पादन गरेको कालो आलुले प्रतिकिलो १०० रुपैयाँभन्दा बढी मूल्य पाएको छ । हाल उनको खेतमा उत्पादन भइरहेको रंगीन भिँडेखुर्सानी र फर्सीको बजारमा राम्रो माग र मूल्य रहेको छ ।
प्रधानले आफु मात्र होइन, थाहाका अन्य कृषकहरूलाई पनि परम्परागत बालीको सीमित घेराबाट बाहिर निकालेर नयाँ र उन्नत जातका तरकारी खेतीतर्फ आकर्षित गराउने मुख्य भूमिकामा छन् कृषक प्रधान ।
उनले बिउदेखि बजारसम्मका लागि सहयोग गरि दिएपछि अन्य किसानहरुले पनि फरक जातका तरकारी लगाउन सुरु गरेका छन् । बजारको मागलाई थाहाकै उत्पादनले धान्ने लक्ष्य लिइएको प्रधान बताउँछन् ।
कृषि उत्पादनको पकेट क्षेत्रमा एउटा किसानले अपनाएको नयाँ सोच र फरक प्रजातिका तरकारी खेतीले थाहाका अन्य कृषकलाई पनि आधुनिक तथा बजारमुखी कृषि प्रणालीतर्फ आकर्षित गरेको छ ।
प्रधानको पहल र अनुभव आदानप्रदानका कारण थाहामा नयाँ प्रविधि र नवीन बालीको खेती विस्तार हुँदै गएको देखिन्छ । जसले स्थानीय कृषिलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने आधार तयार गरेको छ ।
