काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले नयाँ दिल्लीमा प्रवासी नेपालीसँग भेट गर्दै नेपाल–भारत सम्बन्ध, लगानी र रोजगारीका अवसरबारे छलफल गरेका छन् । प्रवासी नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा भएको कार्यक्रममा उनले आफ्नो भ्रमण राजनीतिक नभई देशको समृद्धि र विकासको ढोका खोल्ने उद्देश्यले भएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहिवार भारतको नयाँ दिल्लीमा प्रवासी नेपाली समुदायसँग भेट गर्दै विभिन्न समसामयिक विषयमा छलफल गरेका छन् । उक्त भेटमा उनले आफू राजनीतिक उद्देश्यले मात्रै भारत नआएको स्पष्ट पार्दै आफ्नो भ्रमण देशको समृद्धिको ढोका खोल्ने प्रयास भएको बताएका छन् ।
कार्यक्रममा उनले नेपाल–भारत सम्बन्ध, आर्थिक अवसर, प्रवासी नेपालीको समस्या र लगानीको सम्भावना जस्ता विषयमा विचार आदानप्रदान गरेको सहभागीहरूले बताएका छन् । प्रवासी नेपालीले रोजगारी, कागजात प्रक्रिया, तथा स्वदेशमा लगानीमैत्री वातावरण निर्माणबारे आफ्ना अनुभव र सुझाव राखेका थिए ।
लामिछानेले प्रवासमा रहेका नेपालीको सीप र पूँजीलाई नेपालको विकासमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने धारणा राखेका थिए । उनले प्रवासी नेपालीलाई देश निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह समेत गरेका छन् ।
छलफलमा नेपालको समृद्धिका लागि दीर्घकालीन नीति, युवा पलायन रोक्ने उपाय र वैदेशिक लगानी आकर्षित गर्ने रणनीतिबारे पनि सामान्य विचारविमर्श भएको बताइएको छ ।
समारोहमा एभरेस्ट चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले सभापति लामिछानेलाई प्रवासी नेपालीका समस्या र सरोकारका विषय समेटिएको ज्ञापनपत्र समेत बुझाएका थिए । दिल्लीको कार्यक्रम सकेर सभापति लामिछाने अयोध्या भ्रमणका लागि गएका छन् ।
