News 24 Television
जुँगाको लडाईँ कि निर्मल निवासको खेल ?

काठमडौं । नेपालमा नयाँ पुराना सबैजसो राजनीतिक दलहरुबीच मिलन विछोड सामान्य जस्तै बनेको छ । खासगरी नेपालका कम्युनिस्ट पार्टीमा विभाजन सामान्य जस्तै मानिए पनि यो रोग अन्य दलहरुमा पनि उस्तै देखिएको छ । 

नयाँ बैकल्पिक भनिएका तत्कालिन विवेकशील, नयाँ शक्ति,  मात्र होइन पछिल्लो समय जनमत पार्टीदेखि नागरिक उन्मुक्ति पार्टीमा समेत विभाजित भएर तहसनहसको अवस्थामा पुगे । परम्परागत आस्था बोकेको राजावादीहरुको पार्टी राप्रपामा पनि एकता र फुट सामान्य जस्तै बनेको छ । 

४६ सालको प्रजातन्त्रको पुनस्र्थापनापछि पूर्वराजावादीहरुले आफ्नो अस्तित्व रक्षाका लागि भन्दै संवैधानिक राजतन्त्रको मुद्दा बोकेर पार्टी स्थापना गर्दै थिए । तर पहिलो पटक पार्टी गठनकै क्रममा नेतृत्वको विवादले गर्दा एउटै विचारका राजावादीहरुले दुई छुट्टाछुट्टै पार्टी गठन गरेका थिए । जसरी कम्युनिस्ट पार्टी स्थापनासँगै विभाजनका रेखाहरु कोरिएका थिए, उही शैलीमा पार्टी गठनकै क्रममा राजावादीहरु विभाजित भएका थिए । 

पूर्वपञ्चहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच नेतृत्व हानाथापकै कारण पार्टी गठनकै क्रममा  एकता हुन सकेन । र, २०४७ जेठमा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) गठन भएका थिए । जसरी कम्युनिस्ट पार्टीहरुबीच कहिले एकता त कहिले फुट भइरहन्छ, त्यसैगरी राजावादीहरुमा पनि एकता र फुटको श्रृंखला जारी छ । 

पछिल्लो समय निर्मल निवासको निकट रहेर पद हत्याउने होडमा राजावादीहरुबीच ध्रुवीकरणको श्रृंखला तीब्र छ । त्यही होडबाजीका कारण अहिले पनि राजावादीहरु फरक फरक कित्तामा छन् ।

२०६२\६३ को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको कालमा पनि सत्तामा रहेर अवसर लिइरहेका कमल थापा निर्मल निवासलाई आक्षेप लगाउँदै राप्रपा महाधिवेशनबाटै अलग भएका थिए । अन्ततः थापा गत वर्ष पुस १६ गते पुनः राजेन्द्र लिङदेन नेतृत्वको पुरानै राप्रपामा समाहित हुन आइपुगे । पार्टी फुटाएपछि सत्ता विमुख भएका थापा पुरानै पार्टीमा समाहित हुन आइपुग्दा अहिले पुनः धवलशम्सेर राणा राप्रपाबाट अलग भएका छन् । जसरी थापाले लिङ्देनमाथि आक्षेप लगाएर विभाजित भएका थिए, त्यसरीले धवलशम्सेरले पनि लिङदेनमाथि धारेहात लगाइरहेका छन् । 

राजावादी धार समात्ने समूह को कता ? 

सबैभन्दा अवसरवादी चरित्र भएका कमल थापाले छुट्टै पार्टी हाँकेर ७० सालमा संसदमा बलियो शक्ति बन्न पुगेका थिए । जतिबेला उनले २५ सिट जितेका थिए । तर उनको आफ्नै धङधङीले गर्दा ठूलो पार्टी बनाइराख्न सकेनन् । 

राप्रपाका हस्ती ठानिने सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द्र, डा.प्रकाशचन्द्र लोहनीबीचको जुँगाको लडाईँले विभिन्न धारमा विभाजित भए पनि ७६ सालमा भने एक ठाउँमा आएका थिए । तर राजावादी ध्रुवीकरण रोकिएन । सूर्यबहादुरकै छोरा सुनिल कांग्रेस प्रवेश गरेका थिए ।
 
नेपालमा राजावादी धार समात्न पूर्व पञ्चहरु मात्र होइन, गणतन्त्रको पक्षधर भनिएका नेता कार्यकर्ता पनि उत्तिकै छन् । राजावादी धार समातेर विभिन्न समूह गठन गरेकाहरुको पटक पटक ध्रुवीकरणको श्रृंखला जारी छ । 

कहिले एमाले र त कहिले माओवादी नजिक भएर लाभ लिएका मेडिकल ब्यवसायी दुर्गा प्रसाई पछिल्लो समय कट्टर राजावादी बनेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारलाई नै साथमा राखेर ‘राष्ट्र राष्ट्रियता र नागरिक बचाउ अभियान’ घोषणा गरेका थिए । 

झण्डै चार दशकदेखि राजावादी धार बोकेका दल तथा नेताहरुलाई वेवास्ता गर्दै पूर्वराजा शाहले प्रसाइँलाई साथ दिएपछि को निर्मल निवास नजिक हुने होडबाजी पनि बेलाबखत चलिरहेकै छ ।

पूर्वराजा शाहकै सक्रियतामा गत वर्ष राजावादीहरुलाई एकै ठाउँमा ल्याउने पहल भएको थियो । ‘राष्ट्रिय पञ्चायत’का पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा संयुक्त आन्दोलन’ घोषणा गरिएको थियो । जसमा केशरबहादुर विष्टदेखि प्रसाईँसम्मलाई समेटिएको थियो । तर त्यो प्रयास पनि सफल हुन सकेन । सुवेदी अहिले निस्क्रिय भएका छन् भने प्रसाई र  विष्टले आ–आफ्नै डम्फु बजाइरहेका छन् । 

गणतन्त्रको खिलापमा आन्दोलन चर्काउन विभिन्न पहल भइरहँदा अहिले धवलशम्सेरको समूह राप्रपाबाट अलग भएको छ । राजावादीहरुको नयाँ धार बनाउने पहल गरेको यो समूहलाई निर्मल निवासले कसरी लिन्छ, पार्टी गठनको प्रक्रिया पर्खिनुपर्नेछ ।


  
 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update