News 24 Television
महिनौंदेखि नगरको फोहर संकलन रोकियो

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको लापरबाहीका कारण नगर क्षेत्र नै फोहोरको थुप्रोमा परिणत भएको छ । एक महिनादेखि फोहोर संकलन ठप्प हुँदा व्यापारिक केन्द्र सुखड बजार दुर्गन्धित बनेको छ भने स्थानीयवासी रोगको त्रासमा बस्न बाध्य भएका छन् । नगरपालिकाले समयमै व्यवस्थापन गर्न नसक्दा सडक, चोक र खाली ठाउँहरू फोहोर फाल्ने डम्पिङ स्थलमा परिणत भएका छन ।

कैलालीको घोडाघोडी नगरपालिकाको बजार क्षेत्र झण्डै एक महिनादेखि प्रदुषित छ । नगरको फोहोर एक महिनादेखि नउठाइँदा प्रदुषित भएको हो । अहिले सडक किनार, चोक, खाली जग्गा र बजार क्षेत्रका विभिन्न स्थानमा जथाभावी फोहर देख्न सकिन्छ । फोहरले नगर दुर्गन्धित बनेपछि स्थानीयलाई हैरानी बनाएको छ । 

नगरपालिकाले फोहोर संकलन तथा व्यवस्थापनका लागि प्रतिघरधुरी वार्षिक २५० रुपैयाँ शुल्क लिने गरेको छ । तर शुल्क उठाइए पनि पनि फोहर ब्यवस्थापन नगरिएको भन्दै स्थानीय आक्रोशित छन् । 

विशेषगरी घोडाघोडी सिमसार क्षेत्र नजिक बागेश्वरी सामुदायिक बनमा फोहोर थुपार्ने कार्यको स्थानीयले विरोध गर्दै आएका थिए । नगरपालिकाले यसअघि सोही सामुदायिक बनमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर फोहोर उठाउने ठेकेदारसँगको सम्झौता अवधि सकिएपछि फोहोर संकलन नै बन्द भएको छ । जसले गर्दा बस्नै नसकिने गरि दुर्गन्ध फैलिएको छ । महिनौदेखि नगरभित्रका फोहर नउडाइएपछि यहाँको स्वास्थ्यमा समेत गम्भीर जोखिम बढाएको छ ।

नगरका फोहर मात्र होइन, सडक किनारमा मरेका गाईवस्तुसमेत उठाएको छैन । फोहोर व्यवस्थापनमा देखिएको नगरपालिकाको कमजोरीप्रति स्थानीयको असन्तुष्टि बढ्दो रहेको छ । नगर दुर्गन्धित हुँदै गएपछि तत्काल फोहोर हटाउन र दीर्घकालीन समाधान खोज्न उद्योग वाणिज्य संघ सुखडका पदाधिकारीहरूले नगरपालिकासँग समन्वय गरिरहेको बताएका छन् ।

फोहोर व्यवस्थापन अहिले जनप्रतिनिधिका लागि पनि टाउको दुखाइको विषय बनेको छ । वातावरणीय असर र स्थानीयको विरोधका कारण घोडाघोडी सिमसार क्षेत्र नजिक रहेको बागेश्वरी सामुदायिक वन क्षेत्रमा फोहोर व्यवस्थापनमा रोक लगाइएपछि फोहर संकलन हुन छाडेको हो । 

स्थायी डम्पिङ साइट निर्माण गर्ने योजना भए पनि उपयुक्त जग्गा अभावका कारण दीर्घकालीन समाधान अझै हुन सकेको छैन । नगरपालिकाले अहिले पनि डम्पिङ साइटका लागि जग्गा खोजी गरिरहेको जनाएको छ । फोहोर संकलन गर्ने ठेकदारसँगको सम्झौता सकिएकाले नयाँ नयाँ व्यवस्थापन प्रक्रियामा अगाडि बढाइएको नगरपालिकाको भनाई छ । 

फोहोर व्यवस्थापन जस्तो आधारभूत जिम्मेवारीसमेत पूरा गर्न नसक्दा नगरपालिकाको कार्यक्षमतामाथि स्थानीयहरुले प्रश्न उठाएका छन् । एक महिनादेखि फोहोरको दुर्गन्ध सहन बाध्य स्थानीय तत्काल समाधानको प्रतीक्षामा छन् । तर नगरपालिकाको ढिलासुस्तीले समस्या जटिल बन्दै गएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  ०९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update