मुगु । मुगु जिल्ला छाँयानाथ रारा नगरपालिकामा रहेको ठूलो ताल रारा नेपालकै एक महत्पूर्ण पर्यटकीय केन्द्र मानिन्छ । यहि राराको आसपासमा ब्यापार ब्यवसाय सञ्चालन गर्दै आएका ब्यापारीहरुले भने सरकारलाई तिर्नु पर्ने अन्तः शुल्क वापतको राजश्व ब्यापक छलि गरेको पाइएको छ ।
मदिरा तथा सुर्तीजन्य बस्तु बिक्री गरे वापत मुगुको रारा ताल आसपासका झण्डै दुई दर्जन होटल तथा अन्य ब्यापारीहरुले अन्तः शुल्क छल्दै आएको खुलासा भएको छ । राराको छेउ छापमा रहेको राल्यरी, टोप्ला, ताल्चा एयरपोर्ट, तलितुममा रहेको २१ वटा होटल, पसलमा सुर्ती तथा मदिराजन्य वस्तु बिक्री बितरण गरि राजश्व छल्ने गरेको अनुगमन टोलीले फेला पारेको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुको बार्षिक कार्यक्रमअनुसार जिल्ला प्रशासन, प्रहरी कार्यालय, जिल्ला उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सहितको टोलीले अनुगमन गर्दा ती पसलहरुले ब्यवसाय सन्चालन गर्दा लिईने पान नम्बर समेत नलिएको भेटाएको छ ।
साथै होटलहरुले मदिरा तथा सूर्तीजन्य वस्तु विक्रीको अनुमति समेत नलिएको तथा खाना तथा बास बस्ने कोठाको दररेट पनि कहिँकतै उल्लेख नगरिएको भेटिएको अनुगमन टोलीले जनाएको छ । टोलीले करछलीको जरिवाना एवम् कानूनी कारबाहीबारे जानकारी गराउँदै तत्काल सम्बन्धित कार्यालयमा गई दर्ता गर्न निर्देशन दिएको छ ।
होटल तथा पसल सञ्चालन गर्दा दर्ता गरी सन्चालन गर्नुपर्ने जानकारी भएकाले दर्ता गरि सञ्चालन गरे पनि मदिरा तथा सुर्तीजन्य वस्तु विक्रीका लागि दर्ता प्रक्रिया थाहा नभएको ब्यापारीहरुले बताएका छन् । त्यसैले तत्कालै सम्बन्धित निकायमा गई दर्ता गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।
पछिल्ला बर्षहरुको रारा घुम्न आउर्ने पर्यटकहरुको संख्या बढ्दै गएको छ । जसले गर्दा होटल पसलहरुको संख्या बढिरहेको छ । केही ब्यापारीहरुलाई मदिरा र सुर्ति जन्य बस्तु बिक्रीको लागी अनुमति लिनुपर्ने जानकारी नभएकाले त्यसका लागि सबै ब्यापारीहरुलाई सचेत गराउने प्रतिवद्धता रारा पर्यटन ब्यावसाय संस्थाले गरेको छ ।
राज्य सन्चालनका लागि सबै भन्दा मुख्य आम्दानीको स्रोत भनेको ब्यवसाय कर हो । त्यसैले राज्यबाट कर उठाउनु भन्दा पहिले ब्यापारीहरुलाई अनुदानको ब्यवस्थादेखि कर प्रणालीका बारेमा जनचेतना जगाउन जरुरी छ ।
